मौद्रिक नीति समिक्षा शुक्रबार सार्वजानिक गर्ने तयारी, एकसातादेखि गर्भनरसँग ड्राफ्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2023 | 12:00:57 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाको मस्यौदा गर्भनरको कार्यालयमा आइसकेको एकसाता बितिसक्दा पनि सार्वजानिक हुन सकेको छैन । मौद्रिक नीति तर्जुमा कार्यविधि २०७३ (प्रथम संशोधन २०७९) अनुसार त्रैमास सकिएको ३० दिनभित्र समिक्षा सार्वजानिक गर्नुपर्ने व्यवस्था छ ।

कार्यविधि अनुसार त्रैमासिक समिक्षा कात्तिक मसान्त सम्म हुनु पर्ने थियो तर त्रैमास सकिएको डेढ महिना पश्चात राष्ट्र बैंकले समिक्षा सार्वजानिकको कार्य अन्तिम चरणमा पुर्याएको जानकारी दिएको छ । राष्ट्र बैंकका अधिकारीहरुका अनुसार सम्भवत समिक्षा शुक्रबार अर्थात भोलि सार्वजानिक हुनेछ । 

तिहार अघि नै प्रारम्भिक चरणको छलफल र तथ्यांकहरु संकलन गरी राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रतिवेदनको मस्यौदा व्यवस्थापन समितिलाई बुझाइ सकेको थियो भने तिहारपछि पनि थप विश्लेषण सहितको प्रतिवेदन बुझाएको थियो । 

विभागीय स्तरमा छलफल भएपश्चात एक सातायता समिक्षाको मस्यौदा गर्भनर महाप्रसाद अधिकारीको कार्यालयमा रहेको राष्ट्र बैंकका अधिकारी बताउँछन । उनका अनुसार अघिल्लो साता नै समिक्षा सार्वजानिक गर्ने तयारीमा राष्ट्र बैंक थियो । त्यसबीचमा विकसित विभिन्न घटनाक्रमले समिक्षाको कार्य थप लम्बिएको हो । 

यसबीचमा मेडिकल व्यवसायी दुर्गा पर्साइंले २० लाखभन्दा कम रकमको कर्जा मिनाहा लगायतका माग राख्दै सडक आन्दोलन नै गर्दै आएका छन भने मनिराम ज्ञवालीको संयोजकत्वमा लघुवित्त संघर्ष समितिले विभिन्न ९ बुँदे माग सहितका संघर्षका कार्यक्रम घोषणा गरेका छन् । त्यस्तै एक साता अगाडि प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारका लागि भन्दै आयोजना गरेको गोलमेच सम्मेलनमा पनि मौद्रिक निकायमार्फत निकास निकाल्न सकिने आशा व्यक्त भएको थियो ।

अर्थतन्त्र शिथिल अवस्थामा रहेकोमा आम लगानीकर्ता, उद्योगी व्यापारी मात्रै नभई सरकारले समेत मौद्रिक नीतिमार्फत निकास निस्कने अपेक्षा गरि रहेका छन् । यससन्दर्भमा समिक्षाबाट अर्थतन्त्रमा देखिएको गाँठो फुकाउन गर्भनर छलफलमा रहेकाले समिक्षा सार्वजानिकमा ढिलाई भएको हो ।

गर्भनरको कार्यालयमा रहेको मस्यौदालाई अन्तिम रुप दिएपछि व्यवस्थापन समितमा छलफल हुने र त्यसपश्चात सञ्चालक समितिमा छलफल भई स्वीकृती भएपछि संभवत भोलि मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजानिक हुनेछ । 

के परिवर्तन हुँदैछ

अहिले अर्थतन्त्र शिथिल अवस्थामा छ । बैंक तथा तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएको छ । बैंकहरुमा ब्याजदर घट्दो अवस्थामा रहेपनि उद्योगी, व्यवसायी लगानीकर्ताहरुको मनोबल उकासिन नसक्दा नयाँ कर्जाको माग नभएको बैंकहरुको भनाई छ । अर्थतन्त्रका बाह्य सुचक सकारात्मक रहेको र आन्तारिक रुपमा समस्या रहेको भन्दै त्यसको निकासको दबाब  मौद्रिक निकाय राष्ट्र बैंकमाथि छ । यस्तो अवस्थामा सबैको ध्यान केन्द्रिय बैंकले सार्वजानिक गर्न लागेको मौद्रिक नीतिको समिक्षामा रहेको छ । यसअघि नै विभिन्न सर्कुलमार्फत मौद्रिक कार्यान्वयनमा केही लचिलो गरी प्रस्तुत भइसकेको केन्द्रिय बैंकले अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी छ ।

राष्ट्र बैंकका अधिकारीका अनुसार बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको दर बढ्दै गएको अवस्थामा त्यसलाई थप बढ्न नदिने साथै कर्जा तिर्न नसकेका ऋणीहरुलाई नीतिगत रुपमा सहजीकरण गरिने बताइएको छ । त्यस्तै बैंक दर, नीतिगत दर र निक्षेप संकलन दरका सम्बन्धमा समीक्षा गर्नेगरी छलफल भएको बताइन्छ ।

त्यस्तै चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत समावेश गरिएको अन्तरबैंक ब्याजदरलाई ब्याजदर करिडोरभित्र राख्ने व्यवस्थाका सम्बन्धमा परिमार्जन गर्ने विषय पनि छलफलमा रहेको छ । 

यता, विगतका वर्षदेखि नै शेयर लगानीकर्ताहरुले उठाउँदै आएको शेयर धितो कर्जाको सीमा पनि परिमार्जन गर्ने र जोखिम भारका सम्बन्धमा केही न केही सम्बोधन गर्ने गरी समिक्षा सार्वजानिक हुने बताइएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved