
सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययन/परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो ।
सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययन/परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो।
नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पन्तका अनुसार ५० ब्रान्डका जारको पानीको नमुना परीक्षण गरिएको थियो। त्यसक्रममा कोलिफर्मसँगै इकोलाई पनि फेला परेको हो। ‘कलेज, स्कुल, होटल, सार्वजनिक स्थानमा राखिएका ५० ब्रान्डका पानी परीक्षण गरेका थियौं,’ पन्तले भने, ‘सिल भएका ब्रान्डबाट परीक्षण गर्दा अधिकांशमा जीवाणु फेला पर्यो।’
राष्ट्रिय खानेपानी मापदण्डअनुसार खानेपानीमा इकोलाई र कोलिफर्म शून्य हुनुपर्छ। नाष्टका अनुसार इकोलाईले हैजा हुन्छ। केही कोलिफर्म हानिकारक नभए पनि मापदण्डमा शून्य हुनुपर्ने भएकाले त्यसको प्रमाणीकरण गर्नतिर नलागिएको उनले जानकारी दिए।
‘परीक्षणका क्रममा कोलिफर्म ९२ प्रतिशत देखिएको छ। सबै हानिकारक नभए पनि छुट्याउन जरुरी पनि छैन,’ उनले भने, ‘मापदण्डअनुसार कोलिफर्मको मात्रा शून्य हुनुपर्ने भनिएको छ।’ हानि गर्ने कोलिफर्मले आउँ, पखालालगायत हुन्छ। मापदण्डअनुसार भौतिक, रासायनिक, बाइलोजिकलगायत २२ वटा प्यारामिटर छन्। यसमा पीएच, धमिलोपन, आइरन, आरसेनिक, क्याडमियम, मरकरी, कोलिफर्म, इकोलाईलगायत पर्छन्। परीक्षणका क्रममा १२ प्रतिशतमा पीएच (अमिलोपना) एसिड फेला परेको जनाएको छ। मापदण्डअनुसार पीएच ६.५ देखि ८.५ बीचको हुनुपर्छ। तर, १२ प्रतिशतमा जारमा ६.५ भन्दा कम भएको पन्तले बताए। ‘पीएच कम हुँदा पानीको स्वाद हुँदैन। हात चिलाउने समस्या हुन्छ,’ उनले भने।
दुई प्रतिशत जारमा आइरन बढी देखिएको छ। मापदण्डअनुसार एक लिटरमा ०.३ मिलिग्रामभन्दा बढी आइरन हुनुहुँदैन। ४८ जारको पानीमा अमोनिया फेला परेको छ। अमोनियाले श्वासप्रश्वासमा समस्या हुन्छ। पानीमा तिखो गन्ध हुन्छ। लामो समयसम्म प्रयोग गरे मुटुसम्बन्धी समस्या हुने नाष्टले जनाएको छ। मापदण्डअनुसार पानीमा फ्लोराइडको मात्रा ०.५ देखि १.५ हुनुपर्छ। तर, १८ प्रतिशतमा जारको पानीमा उच्च मात्रामा फ्लोराइड फेला परेको छ। २० प्रतिशतमा कम मात्रामा पाइएको नाष्टले जनाएको छ।
पन्तका अनुसार कम मात्रामा फ्लोराइड हुँदा हड्डी कमजोर हुने, हड्डी लुलो हुने समस्या हुन्छ। बढी हुँदा हड्डी खिइने, दाँत प्वाल पर्नेलगायत समस्या उत्पन्न हुने नाष्टले जनाएको छ। नाष्टले अनुसन्धान मात्रै गर्छ। थप कारबाही प्रक्रियाका लागि परीक्षण प्रतिवेदन नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पठाएको नाष्टले जनाएको छ।'नियमन र कारबाही गर्ने निकाय खाद्य प्रविधि हो। जारको ब्रान्डसहित प्रतिवेदन पठाएका छौं,’ पन्तले भने, ‘थप कारबाही प्रक्रिया खाद्यले गर्छ।’ कान्तिपुर दैनिकमा खबर छ ।