सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगबारे रामचन्द्र पौडेलको यस्तो खुलासा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 04, 2017 | 07:19:46 AM मा प्रकाशित

laxmi  sunrise bank

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा आफू नभएको उल्लेख गर्दै सुरक्षित व्यवस्थापनको बाटो लिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।


त्यस्तो बाटो महाअभियोग प्रस्ताव फिर्ता या अरू केही विकल्प हुन सक्ने भन्दै पौडेलले तत्काल निर्णय लिन सभापति देउवालाई ध्यानाकर्षण गराएको स्रोतले बतायो । चुनावको मुखमा महाअभियोग प्रस्ताव दर्ता गरेर पार्टीलाई क्षति पुर्‍याउने काम भएको भन्दै पौडेलले त्यसलाई नसच्याए पार्टीलाई अप्ठ्यारो पार्ने बताए ।


महाअभियोग प्रस्ताव दर्ताको अघिल्लो दिन आफूसंँग सामन्य परामर्श भए पनि दर्ता गर्ने बेलामा झुक्काइएको पौडेलले आफूनिकट नेतालाई बताउने गरेका छन् ।


‘शनिबार प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता गर्नुपर्ने परिस्थिति आयो भनेर पार्टी सभापतिले मसँग सामान्य कुरा गर्नुभएको हो, मैले लोकले के भन्छ ? पार्टीलाई कति नोक्सानी पुग्छ ? त्यसलाई समेत ख्याल गरेर निर्णय लिनु होला भनेको हुँ,’ पौडेललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसो भन्नुको अर्थ मैले समर्थन गरेको कदापि होइन । चुनावका बेला परेर मात्रै चुप बसेको हुँ ।’


महाअभियोगको प्रस्तावमा कांग्रेस एकढिक्का रहेको भन्ने भनाइप्रति पनि पौडेलले असहमति जनाए । ‘सभापतिजीसंँग सामान्य परामर्श भएको केहीछिनमै उहाँ (देउवा) ले टेलिफोन गरेर महाअभियोग प्रस्ताव नल्याइने भयो भनेर खबर गर्नुभयो, तर भोलिपल्ट एकाएक दर्ता गरियो,’ पौडेलको भनाइ थियो, ‘पार्टीभित्र पनि छलफल गरिएन । मसँग पनि नल्याइने भयो भनेर भन्ने अनि एकाएक दर्ता गर्ने ? यो कस्तो परिपार्टी हो ?’


कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा पार्टी एकढिक्का रहेको सन्देश सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी दिन खोजिएको थियो । पत्रकार सम्मेलनमा पौडेललाई समेत बोलाइएको भए पनि उनी गएनन् । उनको साटो महामन्त्री शशांक कोइरालालाई पत्रकार सम्मेलनमा राखिएको थियो । महामन्त्री कोइरालाले महाअभियोग प्रस्ताव ‘नेता गणले’ ल्याएको भनेर अनभिज्ञता जनाउँदै घुमाउरो शैलीमा समर्थन गरेका थिए । कान्तिपुरमा खबर छ ।


यसबारे पौडेलले पार्टीभित्रको आन्तरिक कुराकानी भन्दै औपचारिक रूपमा बोल्न अस्वीकार गरे । ‘पार्टीभित्रको आन्तरिक छलफलमा मैले आफ्ना धारणा राखिसकेको छु,’ उनले भने, ‘सार्वजनिक रूपमा अहिल्यै ती विषयलाई बाहिर ल्याउन उचित ठानेको छैन ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved