कांग्रेस–माओवादी तालमेल कस्तो ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 05, 2017 | 07:32:00 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्ता गठबन्धनका प्रमुख शक्ति कांग्रेस र माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गरेका छन् ।

 दुई ठूला पार्टीहरू स्थानीय निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न महानगरपालिकाहरूमा चुनावी तालमेल गर्न सहमत भएका हुन् । यसअघि काठमाडौं महानगरपालिकामा प्रमुख विपक्षी दल एमाले तथा सरकारबाट भर्खरै मात्र बाहिरिएको राप्रपाबीच चुनावी तालमेल भएको थियो ।

 कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबीच महानगरपालिकामा चुनावी तालमेल गर्ने सहमति भएको जानकारी दिए । निर्वाचन आयोगले बिहीबार उम्मेदवारी फिर्ता लिन दिएको पाँच बजेसम्मको समयभित्र माओवादी केन्द्र र कांग्रेसले दुई स्थानमा उम्मेदवारी फिर्ता लिएका छन् ।

 कांग्रेस र माओवादी केन्द्रबीच पोखराको मेयर कांग्रेसलाई र भरतपुरमा माओवादी केन्द्रलाई सघाउने सहमति भएको जानकारी माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हरि अधिकारीले दिए । केन्द्रको सहमतिअनुसार माओवादी केन्द्रले पोखराको मेयरमा उम्मेदवारी दिएका विश्वप्रकाश लामिछानेलाई मनोनयन फिर्ता लिन लगाएको छ भने भरतपुरमा मेयरमा उम्मेदवारी दिएका दिनेश कोइरालालाई फिर्ता लिन निर्देशन दिएको थियो । कोइरालाले मनोनयन फिर्ता लिन आनाकानी गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको लेटरप्याडमा जिल्ला निर्वाचन अधिकृत चितवनलाई पत्राचार गरी भरतपुर महानगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई समर्थन गर्ने जानकारी गराएका थिए ।

 देउवाले पत्रमा उपप्रमुखमा कांग्रेसकी पार्वती शाहलाई माओवादी केन्द्रले समर्थन गर्ने निर्णय भएको जनाएका छन् । सभापति देउवाले हस्ताक्षर गरेको पत्रको बोधार्थ निर्वाचन आयोग बहादुरभवनलाई पनि दिइएको छ । कांग्रेस नेता कृष्ण सिटौलाले आफ्ना उम्मेदवारलाई मनोनयन फिर्ता लिन दिएको निर्देशनप्रति असहमति जनाएका छन् । यता चितवन कांग्रेसले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने पार्टी निर्णयको विरोधमा बिहीबार नै चितवन बन्द गरेको छ । केन्द्रको सहमतिलगत्तै कांग्रेस कार्यकर्ताले चितवनमा प्रदर्शन गरेका थिए । उनीहरूले पार्टी अध्यक्ष शेरबहादुर देउवाविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

 स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गर्न कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र रामशरण महत तथा माओवादी केन्द्रका कृष्णबहादुर महरा र वर्षमान पुनको कार्यदल बनेको थियो । सोही कार्यदलको सिफारिसमा चारवटा महानगरमध्ये तीनवटा काठमाडौं, ललितपुर र पोखरामा कांग्रेस र चितवनमा माओवादी केन्द्रसँग तालमेलको आन्तरिक सहमति भएको अन्नपूर्ण पोस्टमा खबर छ।

 कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले भने, ’कांग्रेस र माओवादी केन्द्रबीचको सहमतिअनुसार चितवन र पोखरा–लेखनाथ महानगरपालिकामा सहमति भएको छ । अन्यमा त्यस्तो सहमति भएको छैन ।’ प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले कांग्रेस–माओवादी केन्द्रबीच काठमाडौं र ललितपुरमा तालमेलको प्रयास भइरहेको जानकारी दिए ।’ माओवादी केन्द्र काठमाडौं छाड्न तयार छ तर कांग्रेसले ललितपुर छाड्नुपर्छ’, महराले भने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved