लाखौँ डलरसहित ६ चिनियाँ पक्राउ : भिक्षुदेखि पाइलटसम्म तस्करीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 11, 2017 | 08:21:05 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरी/प्रशासन चुनावी तयारीमा व्यस्त रहेको मौका छोपी ठूलो मात्रामा डलर तस्करी गर्न खोज्ने चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले चार करोड ७५ लाख रुपैयाँबराबरको अमेरिकी डलर र विभिन्न देशका अवैध मुद्रासहित ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूले लामो समयदेखि नेपालबाट डलर तस्करी गर्दै आएको प्रहरीले जनाएको छ ।

सुराकीका आधारमा समातिए २५ तस्कर

महाशाखाको टोलीले सुराकीका आधारमा नागढुंगा चेकपोस्टबाट बुधबार बिहान २५ जना चिनियाँलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमध्ये ६ जनाको साथबाट अवैध विदेशी मुद्रा बरामद भएको महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताए । पक्राउ पर्नेमा याओ जिनवान, ताङ, युछिङ, झेङ सुयान, झाओ जिनछेन, सी झियुन, लियू छियोमोई छन् ।

उनीहरू झोला, जुत्ता तथा थर्मसभित्र विदेशी मुद्रा लुकाएर केरुङ नाका हुँदै तस्करी गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ । बिहीबारदेखि केरुङ नाका बन्द हुने भएकाले बुधबार नै उनीहरू चीन जान लागेका थिए । उनीहरूबाट तीन लाख ४९ हजार तीन सय अमेरिकन डलर, ६ हजार आठ सय ५० युरो, १७ हजार सात सय ८१ चिनियाँ युआन, २९ लाख ५० हजार जापानिज एन, दुई हजार दुई सय, स्विस फ्रेंक, एक हजार चार सय अस्ट्रेलियन डलर, एक हजार एक सय पाउन्ड स्टर्लिङ तथा २४ हजार नेपाली बरामद भएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

उनीहरूले ठमेल क्षेत्रबाट उक्त अवैध डलर संकलन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार ठमेलका मनि ट्रान्सफर तथा होटेलहरूकै मिलेमतोमा उनीहरूले अवैध तरिकाले डलर साटेका हुन् । चिनियाँहरूले वास्तविक रेटभन्दा प्रतिडलर पाँच रुपैयाँ बढी तिर्ने भएकाले उनीहरूले चिनियाँलाई अवैध रूपमा बेच्ने गर्दछन् । नेपाल राष्ट्र बैंकले डलर सटही गर्ने अधिकार लिएका मनि चेन्जर तथा होटेलहरूमा कडा निगरानी नगर्ने भएकाले डलर तस्करी बढेको हो । जसकारण नेपाली बजारमा डलरको अभाव छ ।

किन जान्छ डलर चीनमा ?

विगत तीन वर्षयता नेपालमा पटक–पटक डलर तस्करीमा संलग्न चिनियाँहरू पक्राउ पर्दै आएका छन् । गत पुसको अन्तिम साता महाशाखाले नै ४ करोड ४० लाख रुपैयाँ बराबरको डलरसहित तीन चिनियाँलाई पक्राउ गरेको थियो । उनीहरू नेपालमा विजनेस भिसामा बसेर डलरको अवैध कारोबारमा संलग्न थिए । रसुवामा पनि पटक–पटक चिनियाँ पक्राउ पर्दै आएका छन् ।

गत वर्ष केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अवैध विदेशी मुद्रासहित बुधबार ठमेलबाट चारजनालाई पक्राउ गरेको थियो । ठहिटी बस्ने स्योजुन, बाबो बी लु, पो र चुनकुन ल्यु पक्राउ परेका थिए । ठहिटीको एक घरमा उनीहरू भाडा तिरेर बस्दै आएका थिए । सोही घरबाट अवैध विदेशी मुद्राको कारोबार गर्दै आएको थिए । उनीहरूका साथबाट १७ हजार ३ सय ३ चाइनिज युआन, ४ सय ७० यएइ दिनार, ६२ अमेरिकी डलर र ७१ लाख ८९ हजार ५ सय ५० नेपाली रुपैयाँ प्रहरीले बरामद भएको थियो ।

चीनमा डलरको उच्च माग भएकाले उनीहरूले नेपालबाट महँगो दररेटमा किनेर अवैध रूपमा डलर ओसार्ने गरेका छन् । त्यसका लागि सुन तस्करीको पैसा पनि यसरी तस्करीको डलरबाट भुक्तानी हुने गरेको प्रहरी अनुमान छ ।

भिक्षुदेखि पाइलटसम्म गर्छन् तस्करी

त्रिभुवन विमानस्थलबाट समेत ठूलो मात्रामा डलर तस्करी हुने गरेको छ । तस्करीमा प्रहरीदेखि पालइलटसम्म संलग्न रहेको खुलिसकेको छ ।

गत २८ चैतमा एयरपोर्ट प्रहरीले नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट सुवर्ण अवाले ९३ हजार ६ सय अवैध डलरसहित पक्राउ परेका थिए । उनी धरौटीमा छुटिसकेका छन् । त्यस्तै, गत १० चैतमा चारजना थाइ बौद्ध भिक्षुणी २ लाख ८६ हजार अवैध अमेरिकन डलरसहित पक्राउ परेका थिए । सुटकेसमा लुकाएर गत फागुनमा पनि ४८ हजार अमेरिकन डलरसहित हङकङकी एक महिला पक्राउ परेकी थिइन् । विमानस्थलकै प्रहरीहरूसमेत डलर तस्करीको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved