पाक्षिक नाफा २० करोड रुपैयाँ नाघे पनि निगमले इन्धनको मूल्य नघटाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 18, 2017 | 09:06:29 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि आयल निगमको पाक्षिक नाफा २० करोड रुपैयाँ नाघेको छ । भारतीय आयल निगम (आईओसी) ले मे १ मा पठाएको मूल्यसूचीअनुसार पाक्षिक नाफा ७ करोड ३४ लाख रुपैयाँ थियो । मे १६ को नयाँ मूल्यसूचीअनुसार भने पाक्षिक नाफा २० करोड रुपैयाँभन्दा बढी हुने देखिन्छ । जसअनुसार एक महिनामै नाफा २७ करोड ३४ लाख रुपैयाँभन्दा बढी देखिन्छ । निगमको मासिक नाफा बढे पनि इन्धनको मूल्य भने घटाएको छैन । उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् । सरकारले २०७१ असोजदेखि पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनमा स्वचालित मूल्य लागू गरेको थियो । स्वचालित मूल्यअनुसार अन्तर्राष्ट्रिय बजारअनुसार इन्धनको मूल्य घटबढ गर्नुपर्छ । 
आईओसीले पनि प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । स्वचालित मूल्य प्रणालीअनुसार नेपालमा पनि मूल्य समायोजन गर्नुपर्छ । तर, यसको प्रभावकारी कार्यान्वयन पनि हुन सकेको छैन । यसको पुष्टि निगमले नै गरेको छ । ‘पुस महिनामा पेट्रोल र डिजेलको मूल्य समायोजन भएको थियो,’ निगमका बिक्री वितरण विभाग निर्देशक तथा प्रवक्ता सीताराम पोखरेलले भने, ‘त्यसयता विभिन्न कारणले भएको छैन ।’ 
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि मंगलबार भारतमा पनि मूल्य समायोजन भएको थियो । भारतमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ १६ पैसा भारु र डिजेलमा प्रतिलिटर २ रुपैयाँ १० पैसा भारु घटाएको थियो । तर, नेपालमा मूल्य नघट्ने निगमका अधिकारीहरू बताउँछन् । ‘निर्वाचन भएकाले निगम मूल्य समायोजन गर्ने योजना छैन,’ प्रवक्ता पोखरेलले भने । उनका अनुसार हाल एलपी ग्यासको नयाँ मूल्य आएको छैन । ‘१ तारिखमा सबै इन्धनको नयाँ मूल्य आउँछ,’ उनले भने, ‘सोहीअनुसार व्यवस्थापनले निर्याण गर्नेछ ।’ हाल सर्वसाधारणले प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल ७७ रुपैयाँ ५० पैसा, मटितेल ७७ रुपैयाँ ५० पैसा, हवाई इन्धन आन्तरिकतर्फ ८६ रुपैयाँमा खरिद गर्दै आएका छन् । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँमा बिक्री हुन्छ । 
इन्धनको मूल्य नघटाउने निगमको निर्णयको उपभोक्ताकर्मीले भने विरोध जनाएका छन् । चुनावको बहाना बनाएर उपभोक्ता ठगी गर्न खाजेको उनीहरूको भनाइ छ । ‘अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल इन्धनको मूल्य ४८.६६ डलर छ । 
मूल्य थप घट्ने क्रममा छ,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘मासिक नाफा ४० करोड नाघे पनि मूल्य समायोजन नहुनु भनेको उपभोक्ता लुट्नु हो ।’ सम्बन्धित जिम्मेवार निकायले निगमलाई मागी खाने भाँडो बनाएकाले पनि बजारमा समस्या भएको उनले बताए । ‘निगमबाट आशा गरेका हुन्छन्,’ उनले भने, ‘त्यसैले विरोध गर्दैनन् ।’ निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको भाउ २ रुपैयाँ १० पैसा र डिजेलमा २ रुपैयाँ ०७ पैसा घटेको छ । निमिक्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले नेपाल भारतको सीमाबीच भएको मूल्य फरकका कारण यहाँ समायोजन नगरेको बताए । ‘भारतभन्दा नेपालमा प्रतिलिटर पेट्रोल ९ रुपैयाँ २४ पैसा र डिजेल १७ रुपैयाँ ६१ पैसा सस्तो छ । सीमा/नाकामा सस्तो हुँदा आयातित इन्धन पुन: भारत जाने क्रम बढेको छ,’ उनले भने, ‘मूल्य फरक नहोस् भनेर समायोजन गरेका छैनौं ।’ 
निगमका अनुसार रक्सौलमा प्रतिलिटर पेट्रोलको मूल्य १०९ रुपैयाँ २४ र वीरगन्जमा १ सय रुपैयाँ पर्छ । रक्सौलमा डिजेलको मूल्य ९३ रुपैयाँ ६१ रुपैयाँ पर्छ । वीरगन्जमा ७६ रुपैयाँ पर्ने निगमको तथ्यांकमा छ । भारत सरकारले उपभोक्ताबाट करिब ६ प्रकारको कर लगाउने हुँदा इन्धनको मूल्य महँगो पर्छ । तर, आईओसीबाट इन्धन आयात हुँदा त्यहाँका कम्पनीले तिर्ने कुनै पनि कर नेपालले तिर्नु पर्दैन । जसले गर्दा भारतको भन्दा यहाँ केही सस्तो पर्छ । इन्धनबाट भएको नाफा निगमको पूर्वाधारका लागि खर्च गरिने शाहले बताए । ‘सरकारको योजनाअनुसार ९० दिन इन्धन भण्डारणमा प्रयोग गरिन्छ,’ उनले भने । 
निगमको तथ्यांकअनुसार खाना पकाउने एलपी ग्यासबाहेक अरू सबैमा नाफा छ । प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ६६ पैसा, मटितेलमा १६ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा नाफा छ । हवाई इन्धन आन्तरिकतर्फ ९ रुपैयाँ ८ पैसा, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ १६ रुपैयाँ ७० पैसा नाफा रहेको निगमले जनाएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ९३ रुपैयाँ ६३ पैसा घाटा छ । कान्तिपुर दैनिकमा खबर छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved