खाडी संकटले नेपालका बैंकहरुलाई पनि असर पर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 14, 2017 | 08:19:00 AM मा प्रकाशित

laxmi  sunrise bank

खाडी मलुकहरुबीच बढेको तितक्ता लम्बिए त्यसको असर नेपालको बैंकिङ प्रणालीमा पनि पर्ने देखिएको छ ।बैंकिङ माध्यम भएर आउने रेमिट्यान्स प्रभावित हुन सक्ने भएकाले बैंकिङहरुलाई असर पर्न सक्ने भएको हो ।

कतराको समस्याले समग्र देशको  अर्थतन्त्रलाई असर गर्ने बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा नेपाल बंगालादेश बैंकका प्रमुख कार्यकारी अधिृकत ज्ञानेन्द्र ढुंगाना बताउँछन् ।

४ लाखभन्दा धेरै नेपालीले पठाउने रेमिट्यान्समा समस्या आएको खण्डमा समग्र अर्थतन्त्र नै प्रभावित हुने भएकाले बैंकिङ क्षेत्रमात्र चोखो नरहने ढुंगानाको भनाइ छ । तत्कालका लागि ३–४ महिनामात्रै कतारमा समस्या आउने अनुमानका साथ ढुंगाना भन्छन्, “दीर्घकालीन रूपमा समस्या भएको खण्डमा असर ठूलो पर्न सक्छ ।”

बैंक वित्तीय संस्थाका लागि निक्षेपको प्रमुख स्रोत रेमिट्यान्स हो । त्यसमा पनि कतारबाट आउने रेमिट्यान्स अन्य देशको तुलनामा धेरैजसो औपचारिक च्यानलबाट भित्रिन्छ । पछिल्लो समय वित्तीय प्रणालीमा कर्जा लगानीयोग्य रकम अभाव बढेको छ ।

यस्तो अवस्थामा कतारको समस्याले रेमिट्यान्समा कमी आएको खण्डमा बैंकहरूमा बढेको निक्षेपको समस्या झनै बढ्ने निश्चित छ । नेपाल भित्रिने रेमिट्यान्सका आधारमा कतार दोस्रो मुलुक हो । कतारले सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्ने भएकाले पनि कतार जाने नेपाली कामदारको संख्या बढेको छ । 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना कतार र अन्य खाडी मुलुकबीच देखिएको कूटनीतिक विवाद लम्बिएको खण्डमा रेमिट्यान्स आप्रवाहलाई असर गर्ने बताउँछन् । “कतारबाट आउने रेमिट्यान्समध्ये धेरै बैंकमार्फत आउँछ । यसले बैंकहरूको निक्षेपमा समेत असर गर्ने देखिन्छ,” उनले भने ।

अहिले वाणिज्य बैंकहरू कर्जा प्रवाहलाई नै नियन्त्रण गरेर निक्षेपको दौडमा छन् । बैंकहरूको निक्षेप तान्ने प्रतिस्पर्धाले व्याजदर १५ प्रतिशतको हाराहारीमा पुगिसकेको छ । बैंकहरूलाई कर्जा प्रवाह गर्न सहज होस् भनेर राष्ट्र बैंकले पनि पुँजी, कर्जा र निक्षेपको अनुपात गणना गर्ने विधिमा केही सहजीकरण गरिदिएको छ । 

गत वर्षको तथ्यांकअनुसार रोजगारीका लागि विदेश गएका नेपालीहरूबाट कुल ६ अर्ब अमेरिकी डलर रेमिट्यान्स आएको थियो । त्यसमा एक अर्ब ३० लाख डलर कतारबाट मात्र आएको थियो ।

कतारबाट आएको यो रकम कुल भित्रिएको रेमिट्यान्सको करिब २० प्रतिशत हो । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको मलेसियामा समस्या आएपछि कतार जाने नेपालीको संख्या बढेको थियो । हाल कतारमा ४ लाख १४ हजारभन्दा धेरै नेपाली छन् । 

कतारको विवाद बढ्दै गएको खण्डमा कतार पुग्ने नेपालीको संख्या कम हुने तथा फर्कनेको संख्या बढ्न जाँदा रेमिट्यान्स आप्रवाहमा प्रत्यक्ष असर गर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक ढुंगाना बताउँछन् । रेमिट्यान्स प्रभावित हँुदा बैंक तथा वित्तीय संस्थाको निक्षेप घट्नेमात्र नभई समग्र अर्थतन्त्रमा नै असर गर्ने उनले बताए । 

प्रत्यक्ष गणना नहुने भएपनि अप्रत्यक्ष रूपमा रेमिट्यान्स नै नेपाली अर्थतन्त्रको प्रमुख आधार हो । राष्ट्र बैंकका निर्देशक प्रदीपराज पौड्याल भन्छन्, “विवाद बढेको खण्डमा रेमिट्यान्स आप्रवाहमा असर गर्छ । त्यसको असर देखिन भने केही समय लाग्छ ।” कतारको कुल जनसंख्या २७ लाख छ । त्यसमध्ये कतारी नागरिकको संख्या करिब साढे ४ लाखमात्र छ । बाँकी करिब साढे २२ लाख मानिस रोजगारीका लागि विभिन्न मुलुकबाट कतार पुगेका हुन् । 

अघिल्लो साता कतारले आतंककारीलाई सहयोग गरेको भन्दै बहराइन, यूएई, लिबिया, यमन र इजिप्टले कतारसँग कूटनीतिक सम्बन्ध समाप्त भएको घोषणा गरेका थिए । छिमेकी मुलुकले सम्बन्ध समाप्तिको घोषणाले कतारमा नाकाबन्दीको अवस्था सिर्जना भएको छ ।कारोवारमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved