विमानस्थलमा दिनहुँ समातिन्छ अवैध सुन, ११ महिनामा ५७ किलो बरामद

रासस

रासस

Jun 17, 2017 | 07:16:18 AM मा प्रकाशित

laxmi  sunrise bank

घटना एक

केही साताअघि कपिलवस्तुका रामभोजन चौधरी कतार एयरलाइन्स हुँदै त्रिभुवन विमानस्थल ओर्लिए । साथमा उनले ५० ग्राम सुनको बाला लगाएर आएका थिए । विमानस्थल भन्सार कार्यालयका कर्मचारीलगायत अन्य सुरक्षा जाँचमा उनले कुनै अप्ठ्यारो व्यहोर्नुपरेन । तर, पार्किङमा आइपुगेपछि उनले आफूसँगै आएका अन्य तीन जनाबाट सुन संकलन गरे । ती तीन जनाले पनि ५० ग्रामभन्दा कम तौल भएको सुनको बाला लगाएर आएका थिए।

प्रहरीको दृष्टि रामभोजनमाथि पर्‍यो । उनी समातिए । रामभोजनले संकलन गरेको सुन लिन पुगेका चितवनका राजकुमार भुसाल पनि पक्राउ परे । रामभोजन र उनीसँगै आएका अन्य तीनजना वैदेशिक रोजगारीबाट छुट्टी मनाउन स्वदेश फर्किएका थिए । उनीहरूलाई कतारबाट कसैले सुन बोकाएर नेपाल पठाएको थियो । केही दिनअघि कतारमा केही वर्ष वैदेशिक रोजगारीका रूपमा काम गरेर फर्किएका दीपक खत्री पनि पक्राउ परे । उनी पनि विमानस्थल पार्किङमा ६ जनाबाट संकलन गरेको सुनसहित पक्राउ परेका थिए ।

घटना दुई
एक्स-रे मेसिनमा जाँच गर्दा हिटरभित्र शंकास्पद वस्तु देखिएपछि भन्सारका कर्मचारीले खोलेर हेरे । हिटर भताभुंग भयो । तर, हिटरभित्र रहने त्यसकै पार्ट्सभित्र सुन बेरेर ल्याएको फेला पर्‍यो । त्यहाँ दुई सय ५० ग्राम काँचो सुन लुकाइएको थियो । एक्स-रे मेसिनमा फलाम र सुन दुवै कालो देखिने हुँदा त्यसलाई शंकास्पद मानिन्छ । तर, धेरै सन्दर्भमा कालो देखेर सामान खोल्दा सामानकै कुनै अंग भेटिने गरेकाले भन्सार कर्मचारी र आगन्तुकबीच विवाद पनि हुने गरेको छ । यस्तै, अर्को एक प्रसंगमा कार्गोमा आएको सामान जाँच गर्दा पार्किङमा प्रयोग हुने लाइटभित्र ६ सय ४० ग्राम सुन भेटिएको थियो । लाइटको ब्याट्री भागमा भित्र काँचो सुनका ६ वटा टुक्रा फेला परेका थिए । लाइट खोल्नेबित्तिकै कर्मचारीले ब्याट्रीको भागमा सुन देखेका थिए ।

घटना तीन
गुल्मीका ढालबहादुर थापा कतारमा काम गर्थे । बहिनीको बिहे हुने भएपछि त्यसका लागि ६० ग्राम काँचो सुन किनेर स्वदेश फर्किए । तर, विमानस्थलमा भएको खानतलासीमा उनी पक्राउ परे । युरोप, अमेरिकाबाट फर्किएका नेपाली पनि अन्जानमा फसादमा पर्ने गरेका छन् । यसमा विदेशीको सूची पनि लामो छ । आयरल्यान्डकी एक बुद्धिस्ट धर्मावलम्बी डिलाटुर डिएभेन्ज एक किलो काँचो सुन स्वयम्भूमा चढाउन भन्दै नेपाल आएका थिए । तर, विमानस्थलमा पक्राउ परे । एक्स-रे मेसिनमा शंकास्पद देखिएपछि भन्सार कर्मचारीले सोध्दा आफूले स्वयम्भूमा सुन चढाउन ल्याएको बताएका थिए ।

त्रिभुवन विमानस्थलमा पक्राउ पर्ने अवैध सुनका विभिन्न प्रकृतिका यी प्रतिनिधि घटना हुन् । त्रिभुवन विमानस्थलमा दैनिकजसो अवैध सुन बरामद भइरहन्छ । विमानस्थल प्रहरी, भन्सार कर्मचारी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समातेको अवैध सुनको तथ्यांक हेर्ने हो भने पछिल्लो ११ महिनामा मात्र करिब ५७ केजी सुन बरामद भएको छ । साउनयता विमानस्थल प्रहरी र भन्सार कर्मचारीले २३ किलो पाँच सय ८७ ग्राम अवैध सुन बरामद गरेका छन् ।

सीआईबीले पुसमा ३३ किलो सुन विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद गरेको थियो । विमानस्थल भन्सार कार्यालयका अनुसार सीआईबीले समातेको बाहेक पछिल्लो ११ महिनामा एकपटकमा २० ग्रामदेखि डेढ किलोसम्म सुन बरामद भएको छ । तस्करी भएको सूचनाका आधारमा भन्सार र प्रहरीले ५० ग्रामभन्दा कम तौलको सुनका निर्माण सामग्री पनि बरामद गर्ने गरेको छ ।

विदेशबाट आउँदा बढीमा ५० ग्रामसम्म सुनको निर्माण सामग्री लिएर आए त्यसलाई वैध मानिन्छ । काँचो सुन ल्याउन भने प्रतिबन्ध छ । ५० ग्रामभन्दा बढी सुन बरामद भए बिगो जफत र बिगोबराबरको जरिवाना हुन्छ । कैद भने परिमाणको मूल्यअनुसार हुने गर्छ । १० लाख रुपैयाँसम्म मूल्यबराबरको सुन बरामद भएमा कैद सजाय हुँदैन । १० देखि २५ लाख रुपैयाँसम्म मूल्यबराबरको सुन फेला परेमा एक महिनासम्म कैद सजाय हुने व्यवस्था छ ।

२५ देखि ५० लाख रुपैयाँसम्म मूल्यबराबरको सुन बरामद भए बढीमा तीन महिनासम्म कैद हुन्छ । ५० लाखदेखि एक करोड रुपैयाँसम्म मूल्यबराबरको सुन बरामद भए एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यसैगरी, एक करोडदेखि तीन करोड रुपैयाँसम्म मूल्यबराबरको सुन बरामद भए दुई वर्षसम्म कैद र तीन करोड रुपैयाँभन्दा बढीको सुन बरामद भए पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । एक करोड रुपैयाँभन्दा कम मूल्यबराबरको सुन बरामद भए विमानस्थल भन्सार कार्यालय आफैंले मुद्दा चलाउँछ र त्यसभन्दा माथिको परिमाणको हकमा मात्र जिल्ला अदालतमा पेस गर्नुपर्छ ।

वैदेशिक रोजगारीमा जानेलाई भरिया

तस्करले वैदेशिक रोजगारीका क्रममा खाडीमा रहेका नेपालीलाई भरिया बनाउने गरेको पाइएको छ । पक्राउ परेकाको बयानमा यो कुरा खुले पनि अनुसन्धान भने फितलो देखिन्छ । केही समयअघि पक्राउ परेका रामभोजनले बयानमा आफू काम गर्ने कम्पनीमा आएर एक व्यक्तिले सुन दिएको र नेपालको विमानस्थलमा ओर्लिएपछि पार्किङमा सुन लिन आउने बताएको खुलासा गरेका थिए ।'मसँगै आएका अन्य तीनजना पनि मेरै कम्पनीमा काम गर्थे । तर, उनीहरूलाई म चिन्दिनथेँ । उनीहरूलाई पनि सुन दिइएको रहेछ । मलाई सुन दिनेले उनीहरूलाई सुन नेपाल पुर्‍याएबापत प्रतिव्यक्ति दुई सय रियाल दिएको थियो', रामभोजनको बयान उद्धृत गर्दै भन्सारका अनुसन्धान अधिकारीले भने ।

पक्राउ परेका केहीले भने आफूलाई उड्ने बेलामा कालो चस्मा र सुट लगाएको व्यक्तिले सुन र सुनको बिल भिराउने गरेको बताउने गरेका छन् । यसरी समातिएका अधिकांश नेपाली धरौटीमा छुट्ने गरेका छन् । धरौटीबापतको रकमबारे पनि खासै अनुसन्धान हुँदैन । पक्राउ परेकाले एकातर्फ आफूलाई भरिया बनाएर पठाउनेबारे अनभिज्ञता प्रकट गर्ने र अर्कोतर्फ धरौटी रकम भुक्तान भइहाल्ने हुँदा यो विषय रहस्यमय देखिए पनि खास अनुसन्धान भएको देखिँदैन । अझ रमाइलो के छ भने पक्राउ परेकामध्ये धेरैले ल्याएको सुनको निर्माण सामग्री काँचो सुनलाई सामान्य रूपमा बेरेर बाला, मालालगायत बनाएको पाइन्छ ।

भन्सार कार्यालयको ध्येय बिगो जफत र जरिवाना गर्नु मात्रै होइन ।'५० ग्रामभन्दा बढी सुनको निर्माण सामग्री र जति नै परिणामको काँचो सुन बरामद भए पनि त्यो कानुनविपरीत हो । पक्राउ परेकाले भनेका कुरा पत्यारिलो भए-नभए पनि उनीहरू कानुनतः कारबाहीको दायरामा हुन्छन्', भन्सारका कर्मचारी भन्छन् ।

अन्जानले फन्दामा

विदेशबाट लिएर आउने सुनको परिमाणबारे जानकारी नहुँदा वैदेशिक रोजगारीका लागि खाडीलगायत देशमा पुगेकाहरू फन्दामा पर्ने गरेका छन् ।'गुल्मीका ढालबहादुर थापाले व्यक्तिगत प्रयोजनका लागि सुन ल्याएको देखिन्छ । तर कानुनतः उक्त सुन अवैध हो', अनुसन्धान अधिकारी भन्छन् । ढालबहादुर धेरैका प्रतिनिधि पात्र हुन् । पक्राउ परेकी आयरल्यान्डकी बुद्धिस्ट धर्मावलम्बी डिलाटुर डिएभेन्जले भन्सार कर्मचारीले सोध्दा सोझै आफूले स्वयम्भूमा सुन चढाउन ल्याएको बताएकी थिइन् ।

डेढ केजी सुनको निर्माण सामग्री लगाएर दुबईबाट नेपाल आएका एक भारतीय नागरिक पुर्पक्षमा थुनामा छन् । जरिवाना बुझाउन नसकेर केहीले जेलसमेत बस्नुपरेको छ ।'पक्राउ परेका केही नेपाली र विदेशीले नियमबारे थाहा नपाएको पनि देखिन्छ । तर, कुनै पनि देशमा छिर्दा त्यो देशको नियम जानेको छैन भनेर छुट दिन मिल्दैन', भन्सार प्रमुख नारायण सापकोटा भन्नुहुन्छ । ०७३ को असारसम्म नेपालीको हकमा विदेशबाट आउँदा बढीमा चार सय ग्राम सुन लिएर आउन पाइन्थ्यो, जसमा ५० ग्रामभन्दा माथि भने कर तिर्नुपथ्र्यो । उक्त नियम त्यसपछि परिवर्तन भएको थियो ।

परिवर्तन हुँदै छ शैली

विमानस्थलका कर्मचारी, सुरक्षाकर्मी र भन्सार कर्मचारीको सुन तस्करीमा संलग्नता रहने गरेको देखिएपछि तस्करले विमानस्थलका प्राविधिक त्रुटिलाई उपयोग गर्न थालेका छन् । गत साता विमानस्थल कार्गोबाट पास भएको गाडीमा प्रयोग हुने मास्टर सिलिन्डरभित्र सुन लुकाएर ल्याइएको भेटिएको थियो । कार्गोमा आउने सामानको स्क्रिनिङ नहुने भएकाले त्यस्ता सामानमा फिट गरेर सुन तस्करी हुन थालेको छ । इमर्जेन्सी लाइट, आइरन, फ्यानको ब्याट्रीलगायतमा सुन फिट गर्ने गरिएको यसअघि पक्राउ परेका घटनामा देखिन्छ ।'विदेशमै यसरी सुन फिट गर्ने र गर्न लगाउने समूह सक्रिय देखिन्छ । पक्राउ परेका धेरै भरिया मात्र छन्', सापकोटाले भन्नुभयो । आजको अन्नपूर्ण दैनिकमा खबर छ । 

०७३ साउनदेखि ०७४ जेठसम्म विमानस्थल प्रहरी र भन्सार कर्मचारीले समातेको अवैध सुन (प्रतिमहिना) । यसमा सीआईबीले समातेको ३३ केजी सुन भने समावेश छैन ।

कुन महिनामा कति समातियाो ?

साउन - ५२९.१९ ग्राम
भदौ- १३ ३३ ग्राम
असोज - १३७४ ग्राम
कात्तिक- २४६४ ग्राम
मंसिर - २५२६.५ ग्राम
पुस- ७७९.९८४ ग्राम
माघ- ३०४८.४२ ग्राम
फागुन- ३५१४.७ ग्राम
चैत - ९९२.३२ ग्राम
वैशाख - ४२२९.६५ ग्राम
जेठ - २८०३.९३ ग्राम

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved