पुत्र मोहले बढ्दै छ गर्भपतन

रासस

रासस

Jun 20, 2017 | 07:27:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्खेत : सामाजिक चेतनास्तरमा वृद्धि भए पनि शिक्षित परिवारका सदस्यहरू नै छोरा मोहबाट मुक्त हुन सकेका छैनन् । सहरभित्रकै अधिकांश परिवारमा छोरा मोहका कारण महिलाहरू बारम्बार गर्भपतन गर्न बाध्य छन् । पटकपटक गर्भपतन गराउँदा महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर देखिएको छ ।

वीरेन्द्रनगर निवासी डिला (नाम परिवर्तन) आठौं पटकसम्म गर्भवती हुनुभयो । धेरै पटक गर्भवती हुने उहाँको रहर भने होइन । परिवारले छोरा नै जन्माउन दबाब दिएपछि उहाँले आठांै पटकसम्म गर्भपतन गराउनुभयो । गर्भमा छोरी नै रहेको र परिवारले छोराको अपेक्षा गरेपछि उहाँ गर्भपतन गर्न बाध्य हुनुभयो । परिवारले दबाब दिए पनि उहाँको गर्भबाट छोरा जन्मन भने सम्भव भएन ।

छोरोछोरी दुवै बराबर हुन् भन्ने डिला र उहाँको परिवारलाई राम्रो ज्ञान छ । चार छोरीलाई जन्म दिइसकेकी डिलाले गर्भपतन गराउन औषधि, बाख्राको पिसाब, कुबिन्डोको तरकारी र गहत खाएको बताउनुभयो । ‘धेरैपटक गर्भपतन गराउँदा शारीरिक र मानसिक तनाव सहनुपर्‍यो', उहाँले भन्नुभयो, ‘तर मैले छोरा जन्माउन सकिनँ, अहिले त अब आफैं शारीरिक रूपमा कमजोर भएको छु ।' गर्भको लिंग पहिचान गरेर गर्भपतन गर्नु कानुनी अपराध हो तर छोराको मोहमा उहाँले आठ पटकसम्म गर्भपतन गर्नुभयो । गर्भपतन गराउन नेपालगन्ज र भारतसम्म गएको उहाँको भनाइ छ । धेरैपटक गर्भपतन गर्दा डिलाको पाठेघर खसेका कारण रिङ राखिएको छ । पाठेघरको समस्याले तत्लो पेट दुख्ने र शरीर नै कम्मजोर भएपछि उहाँ तनावमा हुनुहुन्छ ।

जिल्लाको भेरीगंगा नगरपालिका निवासी माया (नाम परिवर्तन) ले छोराको आसमा पाँच छोरीलाई जन्म दिनुभयो । छैटौंपटक गर्भवती हुनुभएकी मायाले गर्भमा छोरा भए नभएको जान्न नेपालगन्जमा जाँच गर्नुभयो । गर्भमा छोरी नै देखियो । उहाँले भन्नुभयो, ‘गर्भमा छोरी छ भन्ने थाहा पाएपछि गर्भपतन गरेर आएँ ।' छोरा नभएपछि घरपरिवार र समाजले हेलाँ गर्ने गरेको भन्दै उहाँले दुखेसो पोख्नुभयो । उहाँको परिवार पनि शिक्षित नै छ तर छोराको मोहमा उहाँले धेरैटक गर्भपतन गराउनुभयो । उहाँले भन्नुभयो, ‘छोरा र छोरी समान हुन्, मलाई थाहा छ तर घरपरिवारको कुरा नमान्दा हेलाँ गर्छन्, छोराकै आसमा तीनपटक गर्भपतन गराएँ ।'


सुर्खेतमा पछिल्लो सयम गर्भको लिंग पहिचान गरेर गर्भपतन गर्ने क्रम बढ्दो छ । गर्भपतनका कारण अधिकांश महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पुगेको छ । पाठेघर खसेका कारण महिला थप पीडित बनेका छन् ।

सुर्खेतकै रूपकला (नाम परिवर्तन) ले पनि छोराको चाहना पूरा गर्न तीनपटक लिंग पहिचान गरेर गर्भपतन गराउनुभयो । ‘मैले तीन पटकसम्म गर्भपतन गराएँ, छोरा नजन्मेपछि सबैले हेलाँ गर्छन् ।' रूपकला अहिले मानसिक र शारीरिक रूपमा अशक्त हुनुहुन्छ । गर्भपतन गरेका कारण उहाँको पेट दुख्ने समस्या छ । उहाँले भन्नुभयो, ‘छोरा जन्माउन श्रीमान्ले अर्को विवाह गर्छन् कि ? भन्ने डरले गर्भपतन गरेकी हुँ, अहिले आफ्नै स्वास्थ्यमा असर पर्‍यो ।' पछिल्लो समय गर्भमा लिंग पहिचान गरेर गर्भपतन गर्ने क्रम बढ्दो छ । गर्भपतनका कारण जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्यमा गम्भीर असर पुगेको छ । यस्तै उनीहरू शारीरिक तथा मानसिक रूपमा समेत पीडित बनेका छन् ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका निमित्त मेडिकल सुपरिटेन्डेट डाक्टर डम्बर खड्का लिंग पहिचानपछि गरिने गर्भपतन बड्दो रहेको बताउनुहुन्छ । उहाँले औषधि सेवन गरेर गर्भपतन गर्दा महिलामा अझ समस्या हुने गरेको बताउनुभयो । बारम्बार गर्भपतन गर्दा महिलाको पाठेघरमा गम्भीर असर पुग्ने उहाँको भनाइ छ । यस्तै सुर्खेतका प्रमुख महिला विकास अधिकृत जमुना पौडेलले गर्भको लिंग पहिचान गरेर छोरी भएकै कारणले गर्भपतन गर्नुले महिलाको जन्मने मानवअधिकार नै हनन् भएको बताउनुभयो ।

‘विपन्नभन्दा हुनेखाने र अलि सम्पत्ति भएकाहरूले नै छोराको चाहाना राख्दछन्', उहाँले भन्नुभयो, ‘महिला घरपरिवार र समाजबाट त सुरक्षित हुन सकेका छैनन् नै, आमाको कोखमा समेत असुरक्षित छन् ।' सिविन नेपालका जिल्ला बाल संरक्षण अधिकृत संगीता वलीले छोराको चाहाना बढी हुँदा यो समस्या आएको बताउनुभयो । कानुन कार्यान्वयन नहुँदा यो समस्या बढेको उहाँको भनाइ छ । आजको अन्नपूर्णमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved