माओवादीलाई मधेसबाट आश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 15, 2017 | 09:30:15 AM मा प्रकाशित

laxmi  sunrise bank

 माओवादी केन्द्रले प्रदेश २ को स्थानीय निर्वाचनका लागि केन्द्रीय तहबाटै ‘अभियानात्मक तयारी’ गर्ने भएको छ । २ साउनदेखि सुरु हुने केन्द्रीय सचिवालयको विस्तारित बैठकलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्षनेताले मधेसमै झरेर निर्वाचन तयारी गर्न लाग्नुभएको हो ।


मधेसमा कांग्रेस-एमालेभन्दा ठूलो शक्ति बन्न माओवादीले विशेष कार्ययोजना अगाडि बढाउने जनाएको छ । विशिष्टीकृत योजना नबनाउँदा पार्टी यसअगाडिका निर्वाचनमा पराजित भएकाले यसपटक सबै शीर्ष नेता मधेसमै परिचालित हुनेगरी योजना बनाउन लागेको प्रदेश नम्बर २ का इन्चार्ज मात्रिका यादवले बताउनुभयो । ‘अब शीर्ष नेता पनि मधेसको निर्वाचनमा पूरै खटिनुहुन्छ,’ यादवले भन्नुभयो, ‘जित्ने सम्भावना भएका स्थानीय तह पहिचान गरी अध्यक्षदेखि सबै शीर्ष नेतालाई फिल्डमै उतार्दै छौं ।’

हेडक्वार्टरकै केही नेता भने मधेसमा खटिइसकेका छन् । पर्सामा उर्मिला अर्याल, रौतहट-बारामा प्रभु साह, महोत्तरी र सर्लाहीमा गिरिराजमणि पोखरेल, धनुषामा मात्रिका यादव तथा सिरहा र सप्तरीमा विश्वनाथ साह जिम्मेवारीसहित खटिनुभएको हो । 

मधेसका ८ जिल्लाका १२७ स्थानीय तहमा २ असोजमा निर्वाचन हुँदै छ । यसअघि निर्वाचन भएका ६ प्रदेशका ६१७ स्थानीय तहमध्ये माओवादीले ८४ वटा प्रमुख पद जितेको थियो ।

सीमित मात्र नगरपालिकामा जिते पनि अहिलेसम्म उपमहानगर र महानगरपालिकामा भने उसले जित हात पारेको छैन । भरतपुर महानगरमा प्रतिस्पर्धामा रहे पनि पार्टी कार्यकर्ताबाटै मतपत्र च्यातिएपछि त्यहाँको नतिजा अन्योलमा छ । प्रदेश नम्बर २ मा एक महानगरपालिका र तीन उपमहानगरपालिका छन् । तीनवटा उपमहानगरमध्ये कम्तीमा एउटामा जित हासिल गर्ने लक्ष्य माओवादीले राखेको छ । 

केन्द्रीय सचिवालयको बैठक सकेको कम्तीमा साता-दस दिनभित्र अध्यक्ष दाहाललाई नै मधेसका जिल्लामा लैजाने माओवादीको योजना छ । ‘अध्यक्षलाई आठवटै जिल्लाका कार्ययोजनामा प्रत्यक्ष सहभागी गराई चुनावी योजना बनाउँदै छौं,’ प्रदेश २ कै नेता युवराज भट्टराईले भन्नुभयो, ‘सचिवालयको विस्तारित बैठक सकेलगत्तै अध्यक्ष मधेस झर्नुहुन्छ ।’ अन्नपूर्ण पोस्ट दैनिकमा रामकृष्ण अधिकारीले खबर लेखेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved