मध्यरातमा बाढीले खुसी खोस्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 17, 2017 | 08:49:46 AM मा प्रकाशित

laxmi  sunrise bank

 लिखु गाउँपालिका वडा नम्बर-६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा हुनुहुन्छ । श्रीमान् र छोरीलाई सम्झँदै कृष्णा छिन-छिनमै रुनुहुन्छ, छोराछोरीको लालनपालनको चिन्ता गर्नुहुन्छ ।दिउँसो परिवारसँगै बिताएका कृष्णाका श्रीमान् अशोक भनिने विमान तामाङलाई शनिबार राति छोरीसँगै बाढीले बगाएर बेपत्ता बनाएको छ ।

विमानले पुरानो जस्ताले छाएको टहरामा पानी चुहिने भएपछि दिउँसो प्लास्टिक थप्नुभएको थियो । उहाँको परिवारले दुई लाख रुपैयाँमा एक रोपनी खेत बन्धकी कमाउँदै आएको छ । विमानले खेतबाट मकैसमेत भाँचेर ल्याउनुभएको थियो । साँझ खाना खाएपछि भने उहाँ छट्पटाइरहनुभएको थियो । राति करिब ९ बजेदेखि नै पानी दर्किएको थियो । उहाँ भने आफूलाई धेरै गर्मी भएको भन्दै भित्र-बाहिर गर्दै हुनुहुन्थ्यो । छिमेकीले ‘सधैं पर्ने पानी हो, डराउनुपर्दैन अब सुत्दा हुन्छ’ भने पनि उहाँ मान्नुभएको थिएन ।

राति १ बजेतिर घरमाथि रहेको कुलोमा भेल बढेपछि घरभित्र पनि पस्यो । उहाँले श्रीमतीलाई ‘कुलो ठूलो आएजस्तो छ, पानी मार्न खोलामा जानुपर्‍यो’ भन्नुभयो । कृष्णाले भने केही नगर्ने भन्दै सुत्न भन्नुभयो । तर, उहाँले बाहिर सुतिरहेकी १३ वर्षीया छोरी मनिलालाई आफूसँग जान जिद्धि गर्नुभयो ।

उहाँले खोलामा गएको केही समयपछि छोरालाई फोन गरेर ठूलो बाढी आएको सुनाउँदै आमालाई सुरक्षित स्थानमा सार्न भन्नुभयो । उहाँले आफूहरू बाँसघारीमा आइपुगेको जानकारी गराउनुभयो । ‘हामी उठेर छिमेकीको घरमा गयौं तर श्रीमान् र छोरी लामो समय फर्कनुभएन, हामी आत्तियौं’, कृष्णाले गहभरि आँसु पार्दै भन्नुभयो, ‘छिमेकीहरू त्यसतर्फ जानुभयो तर बाँसघारी नै बगाइसकेको रै’छ । हामीलाई सुरक्षित स्थानमा सर्न लगाउनुभयो तर उहाँ र छोरीलाई बाढीले बगायो ।’

एक छोरा र चार छोरीसहितको तामाङ परिवार गाउँमा जग्गाजमिन नभएपछि फर्पुबाट १८ वर्षअघि खिम्ती बजारमा झरेको थियो । टाउको र पेटको बिरामी कृष्णालाई अर्को साता उपचारका लागि राजधानी लैजाने तयारी थियो । ‘घर बनाएको पैसा अर्को साता आउँछ, त्यसपछि काठमाडांैमा उपचारका लागि लैजाउँला, अहिलेलाई जसोतसो बसौं’, श्रीमान्ले भनेको सम्झना गर्दै कृष्णाले भन्नुभयो, ‘अब मलाई कसले उपचार गराउला ? बरु छोरीको साटो म आफैं जानुपर्ने रै’छ । म त बिरामी छु, थलिएर मरौंला तर यो बालबच्चाको पालपोषण कसले गर्छ भन्ने चिन्ताले धेरै सताएको छ ।’

उहाँहरूकी जेठी छोरी सुनमतीको विवाह भइसकेको रहेछ । एक छोरा र दुई छोरी साथमा छन् । छोरा विकास कक्षा १२, छोरीहरू सुनिता र मनमाई कक्षा २ मा पढ्छन् । बन्धकीमा कमाउँदै आएको खेतसमेत बाढीले बगाएको छ । साथमा केही मकैबाहेक अन्य नभएको कृष्णाको भनाइ छ । दाजु र छोरीको शव दिनभर खोजी गर्दा पनि नभेटिएको भाइ शम्भु तामाङले जानकारी दिनुभयो ।

सोही वडाको लहरेनीमा माछापालन गर्दै आउनुभएका ५८ वर्षीया देवीकुमारी केसीको घर पनि बाढीले बगाएको छ । बाढीले देवीकुमारीसँगै गेलु घर भएका ५६ वर्षीय वासुदेव कार्कीलाई बगाएको छ ।

वासुदेवको शव फेला परेको रामेछापका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिनुभयो । श्रीमान्ले कान्छी भित्र्याएपछि देवीकुमारी छुट्टिएर खोला किनारामा घर बनाएर बस्दै आउनुभएको थियो । उहाँको घरको निशानासमेत छैन । देवीकुमारी सात वर्षअघि सो स्थानमा घर बनाएर बस्न थालेको श्रीमान् इन्द्रले जानकारी दिनुभयो । बाढीले ६ रोपनी खेतसमेत बगाएको उहाँले बताउनुभयो । वासुदेव चार दिनअघि गेलुबाट रोपाइँका लागि सो ठाउँमा झर्नुभएको थियो ।

सोही वडाको गोकुलगंगा र लिखुको सिमानामा रहेको छतिउने गाउँमा बाढी पस्दा एक जनाको ज्यान गएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा ७२ वर्षीया बालकुमारी खत्री रहेको स्थानीय टंक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार घरनजिकै रहेको छतिउनी खोला पुलमा थुनिएर बस्तीमा बाढी पस्दा चार घरमा क्षति पुर्‍याउनुका साथै एक घर बगाएको छ । बालकुमारीको शव घरनजिकै भेटिएको हो । दुई छोराकी आमा बालकुमारी बुहारीसँगै बस्दै आउनुभएको थियो ।

उहाँका बुहारी कुमारी र नातिनीहरू भगवती, सुन्तली, लक्ष्मी र प्रमिसा घाइते हुनुहुन्छ । कुमारीसहित दुई जनालाई बिहान ६ बजेतिर पुरिएको अवस्थामा खनेर उद्धार गरिएको स्थानीय भरत खत्रीले जानकारी दिनुभयो । शनिबार राति धेरै ठूलो पानी परेकाले माथिल्लो गाउँबाट पहिरोसहितको बाढी आएपछि पुलमा रूखले खोला थुनेपछि बाढी बस्तीतिर मोडिएको देखिन्छ । बाढीले करिब ७० रोपनी खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा सुवास योञ्जनले खबर लेखेका छन् ।


‘भूकम्प आएजसरी जमिन थर्कियो’-चन्द्रबहादुर सुनुवार, प्रत्यक्षदर्शी

पानी परिरहेको थियो । दिनभर सडकको काम गरेर थकाइ लागेकाले होला हामी खाना खानेबित्तिकै निदायौं । हामी २० जना पुलनजिकै बस्दै आएका थियौं । राति ११ बजेतिर भूकम्प आएजसरी जमिन थर्कियो । हामी सबै तर्सियौं, बाहिर निस्केर हेर्दा पहाड नै थर्काएर बाढी आएकाले हामी केही ओढ्ने लुुगा लिई आत्तिँदैै सबैलाई उठाएर सुरक्षित स्थान खोज्दै भागेर बाच्यौं ।

केही समय मात्र त्यहाँ बसेको भए सबैलाई बगाउने रै’छ । हामी भाग्दासमेत पुल राम्रै थियो, केही साथीहरुले पुलमा बसौं भने तर हामीले मानेनौं । वारिको बस्तीमा हामी गयौं, बस्तीमा गएको केही समयभित्रै बाढीले पुल बगायो । बस्तीमा बाढी पस्यो, साथमै रहेको साथी विशाललाई बाढीले बगायो । हामी धेरै आत्तिएर बस्तीभन्दा माथिको पाखोमा पानीमा भिजेरै बस्यौं । बस्तीमा धेरै मान्छे चिच्याइरहेका थिए । हामी त्यहाँ जान सक्ने अवस्था थिएन । राति १ बजेतिर केही मात्रामा बाढी कम भएपछि हामी साथीलाई खोज्न लाग्यौं । घाइते अवस्थामा उद्धार गर्‍यौं । खोला फेरि बढेको आभास भयो । हामी पाखोमा गयौं । घाइते साथीलाई उपचारका लागि अस्पताल लैजान सक्ने अवस्थामै थिएनौं ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved