
एनआईसी एसिया क्यापिटल NIC Asia Capital ले मङ्सिर १२ गतेदेखि आफ्नो पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको छ। क्यापिटलले ‘एनआइसी एसिया डाईनामिक डेप्ट फण्ड’ को २ करोड इकाई निष्काशन गर्न लागेको हो ।
क्यापिटलले कोषको आकार ५० करोडको भए पनि प्रारम्भिक आकार २० करोड कायम गरिएको र प्रति इकाई मूल्य १० रुपैयाँको दरले २ करोड इकाई निष्काशन गर्न लागेको हो । यद्यपि क्यापिटलले ५ करोड इकाईसम्मको आकार साकारिने जनाएको छ ।
यस इकाईमा छिटोमा मङ्सिर १६ गतेसम्म र त्यस समयसम्म पर्याप्त आवेदन नपरेमा मङ्सिर २६ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा प्रति इकाई १० रुपैयाँको दरले न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईसम्मको लागि आवेदन दिन सकिने छ ।
यस योजनाले बैंक तथा वित्तीय संस्थामा निक्षेप निक्षेपमा १५ प्रतिशत, बण्ड डिबेन्चर, मुद्रा बजार उपकरण माग तथा अल्प सुचनामा प्राप्त हुने रकममा ६५ प्रतिशत र प्रतामिक तथा दोस्रो बजारमा २० प्रतिशत लगानी गर्ने जनाएको छ ।
खुलामुखी योजना भएकोले यसको इकाईको कारोबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हुदैन । तर योजना ब्यबस्थापक र कोष प्रबद्र्धक आफै वा अन्य आधिकारिक संस्थाहरुलाई वितरकको रुपमा तोकी खरिद बिक्री हुने ब्यबस्था मिलाइने क्यापिटलले जनाएको छ ।
योजनाले इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक सामूहिक लागनी कोष नियमावलीले तोकेको लगानीका क्षेत्रहरु जस्तै धितोपत्र तथा मुद्रा बजारमा लगानी गरी योजनाका लगानीकर्ताहरुलाई उचित प्रतिफल दिने जनाएको छ । साथै खुलामुखी योजनाका सम्बन्धमा सर्वसाधारणहरुमा जनचेतना अभिबृद्धि गरि सर्वसाधारणहरुमा छरिएर बसेको स–सानो रकम समेत संकलन गरि संकलित रकमको माध्यमबाट धितोपत्र तथा मुद्रा बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सहयोग पु¥याई इकाईमा लागनी गर्ने लगानीकर्ताहरुलाई अधिकतम प्रतिफल प्रदान गर्ने उद्देश्य रहेको क्यापिटलले उल्लेख गरेको छ।
योजनाले नेपाल धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्कासन भएको धितोपत्र, धितोपत्र बिनिमय बजारमा सूचीकृत संगठित संस्थाहरुको धितोपत्र, नेपाल सरकारलेजारी गरेको वा नेपाल सरकारको जमानत वा पुर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेकोकुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरु, बैंक तथा वित्तीय संस्थामा निक्षेप, मुद्रा बजार उपकरण र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी गर्ने जनाएको छ।
हाल एनआइसी एशिया क्यापिटलले दुईवटा बन्दमुखी योजना “एन आई सी एशिया ग्रोथ फण्ड” र “एनआईसी एशिया ब्यालेन्सड् फण्ड” संचालन गरिरहेको छ । ग्रोथ फण्डले गत वर्षको मुनाफाबाट १२ प्रतिशत र ब्यालेन्सड् फण्डले गत वर्षको मुनाफाबाट ८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको "एनआइसी एसिया सेलेक्ट ३०" नामको नयाँ योजनाको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।