आईपिओ निष्काशन गर्न सिमेन्ट कम्पनी लालायीत, कुन कुनले जारी गर्दैछन् शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 03:40:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सिमेन्ट उद्योगहरु साधारण सेयर जारी गर्न तम्सिएका छन् । नेपाल धितोपत्र बोर्डले बुक विल्डिङमार्फत पनि आईपीओ जारी गर्ने व्यवस्था गरेपछि सिमेन्ट उत्पादन गर्ने कम्पनीहरु पूँजिबजारमा प्रवेश गर्ने होडमा लागेका हुन् । आईपिओ निष्काशनको लागि विभिन्न सिमेन्टहरुले तयारी थालिसकेका छन् ।

शिवमले देखाएको बाटो

पूँजिबजारमा प्रवेश गरेको पहिलो सिमेन्ट कम्पनी हो, शिवम् सिमेन्ट । कतिपयले भने २०५१ सालमै हिमाल सिमेन्टले साधारणसेयर जारी गरेको बताउने गरेका छन् । तर, नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनी शिवम् मात्रै छ ।

शिवम् सिमेन्टले प्रिमियममा आईपीओ जारी गरेको थियो । प्रभावित क्षेत्रका स्थानीयका लागि २ सय रुपैयाँ र सर्वसाधारणका लागि ३ सय रुपैयाँमा आईपीओ जारी गरेको शिवमले सिमेन्ट कम्पनीहरुलाई पूँजिबजारमा प्रवेश गर्ने बाटो देखाएको उद्योगीहरु स्वीकार गर्छन् । शिवम् सिमेन्टको सेयर मूल्य आज बुधबार प्रतिकित्ता १ हजार ६ सय ३८ रुपैयाँ छ । उच्च मूल्य देखेर अरु कम्पनीहरु आईपिओ निष्काशन गर्न हौसिएका हुन् ।

साथै कम्पनीलाई आवश्यक पर्ने पूँजि बढाउने सहज बाटो पनि यही भएकाले सेयर बजारमा प्रवेश गर्न चाहेको हुन सक्ने सिमेन्ट उत्पादक संघका पदाधिकारी नै बताउँछन् । शिवम सिमेन्टको सेयर मूल्य देखेरै सिमेन्ट कम्पनीहरुले बुक विल्डिङ विधिबाट साधारण सेयर जारी गर्न लालायीत देखिएको हुन सक्ने सौर्य सिमेन्टका एक सञ्चालकको भनाई छ ।

कुन कुन सिमेन्टले जारी गर्दैछन् आईपीओ ?

अहिले बुक विल्डिङमार्फत आईपीओ जारी गर्ने तयारीमा रहेका सिमेन्ट उद्योगहरु ४ वटा छन् । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टले साधारण सेयर निष्कासनको तयारी थालेका छन् । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने तयारी थालेको छ । कम्पनीको माघ २२ गते बस्ने साधारणसभाले विशेष प्रस्तावको रुपमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ । आईपीओ जारी गर्न कम्पनीले नियमावलीमा नै संशोधन गर्ने जनाएको छ ।

त्यस्तै सर्वोत्तम सिमेन्टले आज मंगलरबार साधारणसभा मार्फत आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ। ४ अर्ब रुपैयाँ चूक्ता पूँजि भएको यो कम्पनीले चूक्ता पूँजिको १० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको आइपिओ जारी गर्ने जनाएको छ ।

घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टले पनि आईपीओ जारी गर्ने तयारीमा लागेका छन् ।

अहिले पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको हिस्सा धेरै रहेको अवस्थामा सिमेन्ट जस्तो वास्तविक क्षेत्र पुँजीबजारमा प्रवेश गर्दा यसले समग्र बजार नै सुदृढ बनाउने जानकारु बताउछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved