
आज जेठ १२ गते बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर कारोबार बन्द रहने भएको छ । आज बुद्द जयन्तिको सार्वजनिक विदा परेकोले शेयर कारोबार नहुने भएको हो ।
यस संगै यो साता ४ दिन मात्र शेयर कारोबार हुने छ । राष्ट्र बैंकले गरेको नयाँ ब्यबस्थाले शेयर बजार कता जाला भन्ने आम चासो रहको भए पनि आज सार्वजनिक विदाको कारण कारोबार नहुने भएको हो । मंगलबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न कडाई गरेको छ भने लघुवित्त शेयर खरिदमा रोक लगाएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्ने लगानीमा कडाई गरेको छ। राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई एकिकृत निर्देशन जारि गर्दै शेयर लगानी सम्बन्धमा थप ब्यबस्था गरेको हो ।
जस अनुसार बैंक तथा वित्तीय संस्थाले एक वर्षभन्दा कम अवधिको लागि शेयरमा लगानी गर्न पाउने छैनन्। त्यस्तै बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।
राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ 'सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।'
त्यस्तै बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाइने छ। तर, यसअघि (मिति २०७८।०२।१० सम्म) लगानी गरेका शेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न भने पाइने छ।
साथै विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक बैंक तथा वित्तीय संस्थाले ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन । यसअघि (मिति २०७८।०२।१० सम्म) त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री÷विनिवेश गरिसक्नुपर्नेछ ।
राष्ट्र बैंकको यो निर्देशनले शेयर बजारमा कस्तो प्रभाव पर्ला भन्ने आम चासो छ ।