एचआईडिसीएलको बिक्रि नभएको शेयरको लागि २ विकल्पमा छलफल जारी, बाँकिको सूचिकरण कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2021 | 03:40:12 PM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) को अवितरित संस्थापक शेयर के गर्ने भन्ने विषयमा कम्पनीले २ विकल्पमा छलफल थालेको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । लिलामी गर्दा पनि ति संस्थापक शेयरको लागि आवेदन नपरेको हो ।

कम्पनीको नियमावलीमा संस्थापक शेयरधनी बन्नको लागि कम्तिमा १ करोड कित्ता शेयर हुनु पर्ने ब्यबस्था रहेकोले कम्पनीले सोहि अनुसार न्युनतम १ करोड कित्ताको लागि आवेदन दिनु पर्ने गरि लिलामीको सूचना निकालेको थियो । त्यसमा कुनै पनि आवेदन नपरे पछि कम्पनीले ति ३ करोड ३० लाख कित्ता के गर्ने भन्ने विषयमा २ विकल्पमा छलफल थालेको हो । 

पहिलो विकल्पको रुपमा कम्पनीको नियमावली संशोधन गर्ने र संस्थापक शेयरधनी बन्नको लागि आवश्यक पर्ने न्युनतम शेयर संख्या घटाउने रहेको छ। यसको लागि संचालक समितिले आवश्यक निर्णय गर्ने र साधारणसभामा प्रस्ताव लैजाने रहेको छ । साधारणसभाले यस विषयमा थप निर्णय गर्ने कम्पनीको भनाई छ । साधारणसभाले प्रस्ताव पारित गरेपछि सोहि अनुसार संस्थापक शेयर लिलामीको प्रक्रिया अगाडी बढ्ने कम्पनीको भनाई छ । 

दोस्रो विकल्प भने प्रक्रिया नै रोक्ने रहेको छ । अर्थात हालसम्म जति पुंजी जुटेको छ, त्यतिलाई नै पुंजी कायम गर्ने रहेको छ । कम्पनीले दुवै विषयमा छलफल भईरहेको र साधारणसभाले नै यो विषयको टुंगो लगाउने जनाएको छ । हाल कम्पनीका अध्यक्ष जलवायु सम्मेलनमा भाग लिनको लागि विदेशमा छन् । उनी फर्किएपछि थप छलफल हुने र साधारणसभामा प्रस्ताव लैजाने कम्पनीको तयारी छ । 

कम्पनीले ढिलोमा मङ्सिर अन्तिमसम्ममा साधारणसभा सम्पन्न गर्ने लक्ष्य राखेको छ । सोहि अनुसार कम्पनीले मङ्सिरको पहिलो साता साधारणसभाको सूचना निकाल्ने गरि काम भईरहेको जनाएको छ । 

कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।

सर्बसाधारणले खरिद नगरेको शेयरको भने लिलामी प्रक्रिया टुंगो लागिसकेको छ ।  लिलामी सकिएसंगै शेयर सूचिकरणको लागि प्रक्रिया सुरु भईसकेको कम्पनीले जनाएको छ । सिडीएस र र्नेप्सेमा नै शेयर सूचिकरणको लागि निवेदन दिईसकेकोले छिट्टै नै शेयर सुचिकृत हुने कम्पनीले जनाएको छ । 

कम्पनीले आर्थिक बर्ष २०७७-०७८ मा सेयरधनीहरुलाई  ८ प्रतिशत बोनस सेयर र  ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved