नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्जको लाईसेन्सबारे आज निर्णय गर्ने तयारी गरेको छ । बोर्ड अध्यक्ष रमेश हमालले आज अपरान्ह ४:३० बजेको लागि बैठक डाकेका छन् ।
बोर्डका एक संचालक समिति सदस्यले आजको बैठकमा कमोडिटी लाइसेन्सबारेको एजेण्डा रहेको पुष्टि गरेका छन् । धितोपत्र बोर्डमा कमोडिटी एक्सचेन्जको लागि ४ वटा कम्पनीले आवेदन दिएका छन् । कमोडिटी एक्सचेन्जको लागि मल्टी डेरीभेटिभ एक्सचेन्ज लिमिटेड, मल्टी एसेट्स एण्ड डेरीभेटिभ एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडिटी एण्ड डेरीभेटिभ एक्सचेन्ज , र नेपाल मल्टी कमोडिटिज एक्सचेन्ज लिमिटेडले आवेदन दिएका छन् ।
यी मध्ये २ वटा कम्पनीले लाईसेन्स पाउने छ । बोर्डले प्राप्त आवेदनलाई मुल्यांकनको लागि मुल्यांकन समिति गठन गरेको थियो। मुल्यांकन समितिको संयोजकमा बोर्डमा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने फडिन्द्र गौतम रहेका थिए। उनको बढुवा भएपछि हाल उनी बोर्डमा संचालक छैनन् । त्यस्तै मुल्यांकन समितिमा संचालकहरु रितेश शाक्य र मुकुन्द कुमार क्षेत्री पनि थिए। रितेश श्रेष्ठ अर्थ मन्त्रालयबाट बोर्डमा संचालक छन् भने मुकुन्द श्रेष्ठ राष्ट्र बैंकबाट बोर्डमा संचालक हुन् । त्यस्तै मुल्यांकन समितिमा बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उप कार्यकारी निर्देशक दीपा दाहाल रहेका थिए।
स्रोतका अनुसार सो मुल्यांकन समितिले हिमालयन कमोडिटी एण्ड डेरीभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जलाई बढी अंक दिएको छ । सोहि अनुसार यी दुई कम्पनीले कमोडिटीको लाईसेन्स पाउने आँकलन गरिएको छ। हिमालयन कमोडिटी एण्ड डेरीभेटिभ एक्सचेन्जमा दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतको लगानी रहेको छ । मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जमा बिक्रम पाण्डे, दिकेश मल्होत्रा लगायतको लगानी रहेको छ।