
हिमालयन रिइन्स्योरेन्सको साधारणसभा सम्पन्न भएको छ। आज कम्पनीका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ. व. २०७९ / ०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ। त्यस्तै आ. व. २०७९/०८० को लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरेको छ। लेखापरीक्षण समितिको सिफारिश बमोजिम आ. व. २०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
साधारणसभाले संचालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम रहेको चुक्ता पूँजी रु. १० अर्वको ०.२१ (निकटतम २ अंक) प्रतिशतका दरले हुन आउने रु. २,१०,५२,६३१ / ५८ बराबरको नगद लाभांश (बोनस शेयरको कर प्रयोजनकालागि) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। सभाले संस्थापक शेयरधनीको समुहबाट रोहित गुप्ता र सर्वसाधारण शेयरधनीको तर्फबाट राजीव मोर र शुभेच्छा खरेललाई संचालक चयन गरेको छ।
त्यस्तै विशेष प्रस्ताव अन्तर्गत सभाले संचालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम रहेको चुक्ता पूँजी रु. १० अर्वको ४ (चार) प्रतिशतका दरले हुन आउने रु. ४०,००,००,०००/०० बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने ।साधारणसभाले बोनस शेयर वितरण गरे पश्चात कायम हुने चुक्ता पूँजी रु. १० अर्व ४० करोडको १०:८ अर्थात १० शेयर बराबर ८ शेयरको अनुपातमा रु.८ अर्व ३२ करोड बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरेको छ। त्यस्तै कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सोही बमोजिम प्रवन्धपत्रको सम्बन्धित दफाहरु संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्ने ।
प्रवन्धपत्र तथा नियमावलीमा संशोधन तथा थप गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
साधारणसभाले कम्पनीबाट आर्थिक वर्ष २०७९ / ०८० मा सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको चन्दा तथा विभिन्न खर्च रकमको अनुमोदन गरेको छ। साथै प्रवन्धपत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन वा सुधारको लागि निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्ने गराउने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।