घरजग्गा किन्दै हुनुहुन्छ ? यी १० सुझाव हेर्नुहोस्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2023 | 01:19:54 PM मा प्रकाशित

laxmi  sunrise bank

घरजग्गा खरिद गर्दा मानिसहरु ठगिएका घटनाहरु आइरहन्छन् । विशेषगरी कम्पनीबाट नभई व्यक्तिगत रुपमा घरजग्गा कारोबार गर्दा ठगिने गरेका घटनाहरु आउने गरेका छन् । यसैलाई नियन्त्रण गर्न दर्तावाला कम्पनीबाट मात्रै घरजग्गा कारोबार गर्ने नियम बनाउने तयारी पनि सुरु भइसकेको छ । 

भूमी व्यवस्थापन तथा अभिलेख विभागले फेसबुक पेज तथा अन्य माध्यमबाट विज्ञापन गरेर असंगित कारोबारीहरुले ठगी गर्ने गरेको जनाएको छ । यसकारण विभागले घरजग्गा किन्नु अगाडी सजग र सचेत हुन पनि अनुरोध गरेको छ । 

घरजग्गा खरिद गर्दा खरिद प्रकृयाका विषयमा कम्तीमा सामान्य जानकारी भयो मात्रै भनेपनि ठगिनबाट जोगिन सकिन्छ भनेर विभागले १० आधारभूत जानकारी राखेर मात्रै कारोबार गर्न सुझाएको छ । 

हेर्नुहोस् १० सुझावः

१) आफूले खरिद गर्न लागेको जग्गाको नक्सा, फिल्ड, बुक र नक्सामा भनिएको क्षेत्रफल अनुसारको जग्गा फिल्डमा भए नभएको यकिन गर्ने ।

२) मोठ, श्रेस्ता कायम छ कि छैन भनेर यकिन गर्ने । उक्त जग्गा धितो राखेर कसैले ऋण लिएको छ कि वा जग्गा कुनै कारणले रोक्का छ कि भनेर बुझ्नुपर्छ । जग्गा धनिले कहाँबाट कहिले, कोसँग खरिद गरेको हो, सरकारी एवम् सार्वजनिक र अरु मानिसको जग्गा पो घुसेको छ कि भनेर यो नभएको पक्का गर्ने । घर तथा जग्गा धनी यकिन गर्ने र अधिकृत वारेसनामाबाट लिखत पारित गर्ने भए सोको आधिकारिकता यकिन गर्ने ।

३) अंशियार वा हकवाला छन् छैनन् जानकारी लिने र यदि रहेछन् भने तिनलाई पनि साक्षी राख्‍ने ।

४) यदि जग्गा किन्दा त्यहाँ बनेको घर वा टहराको समेत स्वामित्व हस्तान्तरण हुने हो भने सोको व्यहोरा लिखतमा नै स्पष्‍ट खुलाउने ।

५) प्लटिङ गरिएको जग्गा भए डेभलपरले स्वीकृति लिए नलिएको यकिन गर्ने, तोकिएको मापदण्ड अनुसार छ कि छैन प्रष्ट हुने 

६) लिखतमा वास्तविक कारोबार मूल्य नै खुलाएर लेख्‍ने ।

७) लिखतमा लेखिएको व्यहोरा दोहोर्याएर राम्रोसँग अध्ययन गरेर मात्रै सम्बन्धित कार्यालयको कर्मचारीको रोहवरमा मात्र सही छाप गर्ने ।

८) रजिष्‍ट्रेशन दस्तुर, सेवा शुल्क, पुँजीगत लाभकर लगायतका दस्तुर बैंक वा सम्बन्धित कर्मचारीलाई बुझाई रसिद अनिवार्य रुपमा लिने र त्यस्तो रसिद सुरक्षित साथ राख्‍ने ।

९) सम्बन्धित सबै आर्थिक कारोबार बैंकमार्फत गर्ने ।

१०) लिखत लेख्दा र पारित भएपछि पुर्जा लिँदा जग्गाधनी पूर्जामा आफ्नो नाम, थर, वतन र घरजग्गाको विवरण ठिक छ वा छैन हेर्ने, यदि गल्ती भेटिए तुरुन्त सच्याउन निवेदन दिने 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved