५० अर्ब चुक्ता पुँजीको हाउजिङ कम्पनी खोल्दै घरजग्गा व्यवसायी, १५ अर्बको आईपीओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2023 | 10:48:59 AM मा प्रकाशित

laxmi  sunrise bank

घरजग्गा व्यवसायीहरुले ५० अर्ब रुपैयाँ चुक्ता पूँजीको पब्लिक कम्पनी खडा गर्ने भएका छन् । देशभरीका व्यवसायीबाट संस्थापक पूँजी जुटाएर नेपाल जग्गा तथा आवास विकास महासंघले हालसम्मकै ठूलो हाउजिङ कम्पनी बनाउन लागेको हो ।

महासंघका अध्यक्ष भेषराज लोहनीका अनुसार कम्पनी दर्ता प्रक्रिया सुरु भएको छ । मेगा सिटी, स्मार्ट सिटी र हाइटेक सिटीहरुको अवधारणा सुरु भएकाले त्यस्ता शहर बनाउन पूँजीको अभाव हुन नदिन महासंघको अगुवाईमा मेगा कम्पनी बनाउन लागिएको अध्यक्ष लोहनीले बिजपाटीलाई जानकारी दिए ।

उनका अनुसार कम्पनी दर्ता गर्दा नै पब्लिक कम्पनी (लिमिटेड)मा दर्ता हुनेछ । सेयर संरचना र संस्थापक लगानी संकलनको मोडालिटीबारे अहिले छलफल भइरहेको छ । प्रारम्भिक छलफल अनुसार देशैभरीका जग्गा हाउजिङ डेभलपर्सबाट संस्थापक पूँजी संकलन गरिनेछ । संस्थापक लगानीकर्ता बन्न एक जनाले न्यूनतम् ५० लाख लगानी गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ ।

संस्थापक लगानीकर्ता बन्ने देशैभरीका व्यवसायीबाट संकलन गरेर कुल पूँजीको ६० देखि ७० प्रतिशत रकम जम्मा गर्ने र बाँकी रकम सर्वसाधारणमा प्राथमिक सेयर जारी गरेर संकलन गरिने योजना बनाइएको छ । अहिलेसम्मको छलफल अनुसार ६० प्रतिशत संस्थापक लगानीकर्ताबाट र बाँकी ४० प्रतिशत आईपीओ निष्काशनमार्फत संकलन गर्ने गरी सेयर संरचनाको मोडाललिटीमा मोटामोटी सहमति भइसकेको छ । 

‘यो सबै स्वदेशी पूँजीको कम्पनी हुनेछ, शहर बसाल्ने घोषणा हुने तर लगानी जुटाउन समस्या हुने भएपछि हामीले देशैभरका व्यवसायीको लगानी रहने गरी हालसम्मकै ठूलो मेगा कम्पनी बनाउन लागेका हौँ’ अध्यक्ष लोहनीले थपे, ‘काठमाडौँ उपत्यकाभित्रै ४ वटा टाउन सिटीको कुरा छ, बाहिर पनि त्यत्तिकै घोषणा भएका छन्, तर त्यसका लागि पूँजी अभाव हुने गरेको छ । अब त्यस्ता शहर बसाल्न पूँजी अभाव नहोस् भन्नका लागि महासंघको अगुवाईमा व्यवसायी र सर्वसाधारणको समेत सेयर रहने गरी मेगा कम्पनी बनाउन लागेका हौँ ।’

पहिलो चरणमा ‘सेभेन प्रोभिन्स, सेभेन प्रोजेक्ट’

कम्पनी स्थापना भएपछि उक्त कम्पनीमार्फत ७ वटै प्रदेशमा एक एक वटा प्रोजेक्ट सुरु गर्ने लक्ष्य राखिएको छ । ती ७ वटै प्रोजेक्ट मसिना हाउजिङ प्रोजेक्ट नभई शहर बसाल्ने बृहत् आयोजना हुनेछन् ।

पहिलो चरणमा सबै प्रदेशमा एक एक वटा प्रोजेक्ट सफल गरेपछि देशैभरी त्यहीँ मोडलमा आवाससहित शहर निर्माणको अभियान सुरु गरिने लक्ष्यसहित कम्पनी दर्ता सुरु गरिएको महासंघले जनाएको छ ।

‘यसबारे डिजेल चाहिँ महासंघको पहिलो साधारणसभाबाट सार्वजनिक गर्ने छौँ, त्यतिबेलासम्म सबै प्रक्रिया पनि करिब करिब सकिन्छ भन्नेमा छौँ’ अध्यक्ष लोहनीले भने, ‘अहिले प्रारम्भिक चरणको छलफलमा छौँ, अब डिटेल चाहिँ एजीएमकै अवसरमा सार्वजनिक गर्छौँ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved