कार्तिकमा घरजग्गा कारोबार घट्यो, कहाँ कति भयो लिखत पारित ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2023 | 03:21:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कार्तिकमा घरजग्गा कारोबार घटेको छ । दशैं तिहार जस्ता चाडपर्व एउटै महिनामा परेकाले बिदा धेरै हुँदा घरजग्गाको कारोबार खुम्चिएको हो । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कार्तिकमा २६ हजार ४६ लिखत पारित भएको छ । गत वर्षको कार्तिकमा २७ हजार ९३९ लिखत पारित भएको थियो । 

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ३९ हजार २६३ लिखत पारित हुँदा भदौमा ३५ हजार ६८६ लिखत पारित भएको थियो । असोजमा ३९ हजार ८८१ लिखत पारित भएकोमा कार्तिकमा भने घटेर २६ हजार ४६ मा सिमित भएको हो ।

घरजग्गाको कारोबार घटेसँगै राजस्व संकलनमा पनि घटेको छ । कार्तिक महिनामा घरजग्गा कारोबारको सेवा दस्तुर, रजिष्ट्रेशन दस्तुर र पूँजीगत लाभकर समेत गरी २ अर्ब १६ करोड ३१ लाख ६१ हजार राजस्व संकलन भएको छ । योमध्ये सेवा शुल्क २० करोड १५ लाख ३५ हजार, रजिष्ट्रेशन दस्तुर १ अर्ब ३७ करोड ८ लाख ४४ हजार, पूँजीगत लाभकरबापत ७७ करोड ९ लाख १६ हजार संकलन भएको छ । 

असोजमा ४ अर्ब ८ करोड ६६ लाख २९ हजार राजस्व संकलन भएको थियो । भदौमा ३ अर्ब ४ करोड ५९ लाख ४७ हजार र साउनमा २ अर्ब ९१ करोड ४ लाख २७ हजार राजस्व संकलन भएको थियो ।

कहाँ कति कारोबार ?

कार्तिकमा तराईका जिल्लामा घरजग्गा कारोबार बढी देखिएको छ । सुनसरीको इनरुवा मालपोत कार्यालयमा सबैभन्दा धेरै १ हजार १८२ लिखत पारित भएको छ । दोस्रो स्थानमा रहेको मालपोत कार्यालय धनुषामा १ हजार १०७ वटा लिखत पारित भएको छ ।

झापाको भद्रपुर मालपोतबाट १ हजार ११, सप्तरीको राजविराज मालपोतबाट ८९५, मोरङको बेलवारी मालपोतमा ७५५, सर्लाहीको मलंगवा मालपोतमा ६५२ र सिराह मालपोतमा ६३८ लिखत पारित भएको छ । 

कैलालीको धनगढी मालपोतमा ६३१, महात्तरीको जलेशवर मालपोतमा ६२८, पर्साको वीरगञ्ज मालपोतमा ६०८ र सिरहाको लहान मालपोतमा ५७४ लिखत पारित भएको छ ।

कारोबारमा तराईका जिल्ला अगाडी भएपनि राजस्व संकलनमा भने काठमाडौँ उपत्यकाको ललितपूरस्थित लगनखेल मालपोत कार्यालय अगाडी छ । लगनखेल मालपोतबाट १८ करोड ९४ लाख १५ हजार राजस्व संकलन भएको छ । त्यस्तै, काठमाडौँको डिल्लीबजार मालपोतबाट १८ करोड १५ लाख ९४ हजार र भक्तपुर मालपोतबाट १४ करोड २६ लाख राजस्व संकलन भएको हो ।

कलंकी मालपोतबाट १३ करोड १८ लाख २० हजार र चावहिल मालपोतबाट १२ करोड ४४ लाख ८३ हजार राजस्व संकलन भएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved