सात महिनादेखि अस्पतालले दिन सकेन सुत्केरी भत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 02:17:04 PM मा प्रकाशित

laxmi  sunrise bank

टीकापुर अस्पतालमा सुत्केरी भएका सुत्केरीले भत्ता पाउन सकेका छैनन् । अस्पतालमा आमा सुरक्षा कार्यक्रमका लागि आवश्यक बजेट नआउदा ५६६ जना सुत्केरी भत्ताबाट वञ्चित भएका हुन् । 

अस्पतालले चालू आर्थिक वर्षको साउनदेखि सुत्केरी भत्ता उपलब्ध गराउन सकेको छैन । अस्पतालले सुत्केरीलाई यातायात खर्चवापत एक हजार र नियमित गर्भजाँच गरेवापत ८०० उपलब्ध गराउँदै आएको थियो । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई प्रोत्साहनस्वरुप तथा र मातृ मृत्युदर घटाउन २०६५ सालदेखि आमा सुरक्षा कार्यक्रम लागू गरेको हो । 

अस्पतालमा साउनदेखि माघ २० गतेसम्म एक हजार १३७ जना सुत्केरी भएका छन् । ५  सय ७१ सुत्केरीलाई टीकापुर नगरपालिकाले उपलब्ध गराएको १२ लाख रुपैया वितरण गरिएको अस्पतालका प्राविधिक मुखिया मोहनसिंह साउदले बताए । उनले भने, “प्रदेश सरकारले बजेट उपलब्ध गराउने आश्वासन दिएको थियो, बजेट नआएपछि नगरपालिकालाई गुहार्यो । नगरपालिकाले दिएको १२ लाख १० दिनमै सकियो ।” साउनमा सुत्केरी भएकालाई अझै भत्ता दिन बाँकी रहेको साउदले बताए । 

टीकापुर अस्पतालले आमा सुरक्षाका लागि आवश्यक पर्ने बजेटका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारलाई गुहार्दै आएको छ । “साउनमा सुत्केरी भएकालाई ६ महीनापछि पाएको रकमले के काम ?” सिनियर स्टाफ नर्स कल्पना खड्काले भनिन् । 

तीन पटकसम्म भत्ता लिन अस्पताल गए पनि पाउन नसकेको साउनमा सुत्केरी भएकी जानकी गाउँपालिकाकी कल्पना देवकोटाले बताईन् । उनि भन्छिन्, “मसँगै सुत्केरी भएका अन्यले पनि भत्ता पाएका छैनन्”। साउनदेखि सुत्केरीले भत्ता पाउन नसकेपछि टीकापुर नगरपालिकाको स्वास्थ्य शाखाले नगरकार्यपालिकासँग रु २५ लाख बजेट माग गरेको छ । 

स्वास्थ्य शाखाका संयोजक बलबहादुर रावलले कार्यपालिकामा माग पेश गरेको बताए । “कार्यपालिका बैठकले बजेट छुट्याउने आश्वासन पाएका छौँ”, उनले भने । प्रदेश सरकारको लापरवाहीका कारण अस्पतालमा सुत्केरी भएकाले भत्ता पाउन नसकेको उनको आरोप छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved