गाउँमै पैसा पाएपछि गाम्नाङटारवासी हर्षित (फोटो फिचर)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2017 | 08:49:00 PM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्प गएको करिब २१ महिनापछी गाउँमै पैसा पाएपछि गाम्नाङटार र टारकेराबारी हर्षित भएका छन। सरकारले दिएको पहिलो किस्ता अनुदान   ७ सय घरपरिवारलाई करिब ३ करोड ५० लाख रुपैयाँ गाउँमै लगेर वितरण गरिएको हो। 
 
पहिलो किस्ताबापत प्रतिपरिवारले ५० हजार रुपैयाँ पाएका छन् । सांसदहरू रामहरि खतिवडा, यज्ञराज सुनवार र हर्कवोल राईले ग्रामोदय युगकवि सिद्धिचरण उच्चमावि गाम्नाङटारमा शनिबार आयोजित कार्यक्रममा पहिलो किस्ताबापतको अनुदान रकम प्रदान गरेका थिए ।
 
सदरमुकामदेखि सो स्थल करिब दुई दिनको पैदल दूरीमा पर्छ । स्थानीय प्रशासनले नागरिकता, जग्गापास, राहदानी, कृषि, स्वास्थ्य शिविर, अपांगता तथा ज्येष्ठ नागरिक परिचयपत्रलगायतका एकीकृत घुम्ती शिविर सेवा सञ्चालन गरेको छ ।
 
यस्तै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले नागरिकता प्रदान गरेर प्रशासनिक सेवाको सुरुवात गरे ।“अहिलेसम्म टहरामै ऋण काँढेर कष्टले बसेका छौं, अब पहिलो किस्ता पाएपछि घर निर्माणको काम अघि बढाउँछौं,” टारकेराबारीका ६२ वर्षीय यज्ञबहादुर अछामीले भने ।

जिल्लाका ५० मध्ये पोकली र रंगनी गाविसमा अझै अनुदानको पहिलो किस्ता वितरण हुन सकेको छैन । “दुर्गम बस्तीका भूकम्प प्रभावित परिवारलाई आवास निर्माणका लागि पहिलो किस्ता र सरकारले दिने धेरै किसिमका सेवा गाउँबस्तीमा उपलब्ध गराउनु उदाहरणीय काम हो,” सांसद खतिवडाले भने ।

सांसद खतिवडाले आफ्नो पहलमा हेलिकोप्टरबाट सो स्थलमा आवत–जावतको प्रबन्ध मिलाएका थिए । सांसद यज्ञराज सुनवारले सरकारले ढिलो भए पनि अनुदान रकम उपलब्ध गराउनु सराहनीय काम भएको बताएका छन।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख युवराज खरेलले १८ हजार ८ सय प्रभावित परिवारमध्ये अधिकांशसँग अनुदान सम्झौता भए पनि जम्मा ७ सय ६७ घर मात्र निर्माण हुँदै गरेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले अनुदान रकमसँगै स्थानीय प्रशासनले दिने कृषि, स्वास्थ्य, नागरिकता, राहदानी, ज्येष्ठ नागरिक परिचयपत्र सहितको सेवा एकैचोटी गाउँघरमै उपलब्ध गराइएकोले दुर्गम बस्तीका नागरिकले यसबाट लाभ लिन पाएको उनले बताए  । 

स्थानीय विकास अधिकारी यज्ञबहादुर खत्रीले दोस्रो किस्ताको रकम पनि छिटो उपलब्ध गराएर सरकारी र सार्वजनिक भौतिक पूर्वाधार निर्माणको कामलाई तिव्रता दिन पुनर्निर्माण प्राधिकरणले तदारुकता देखाउनुपर्ने बताए ।

तस्विर: सांसद रामहरि खतिवडाको फेसबुक

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved