ललितपुरको भैंसेपाटिस्थित माइली खत्रीको डेरा छ । उनको डेराबाट नजिकै श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको व्यवसायीक तथा सिप विकास तालिम परियोजनाको कार्यलय पनि छ । उनी त्यही कार्यलयमा करारमा जागीर गर्छिन । तर सरकारले केन्द्रमा कार्यरत करार र अस्थाई कर्मचारीलाई हटाउने निर्णय गरेपछि अहिले उनको भोक र निन्द्राले साथ छोडेको छ ।
काखमा छोराछोरी च्यापेर सरकारी चर्पी सफा गर्दै जीवनको उर्जार्शील समय खर्चिन उनले । दैनिक २२ वटासम्म चर्पी सफा गरिन । भूकम्पले केन्द्रको भवन भत्काएपछि भने चर्पीको संख्या घटेको छ । उनी भन्छिन्, ‘विहान वेलुका २ समय चर्पी सफा गर्नुपर्नेमा हाल भने एक पटक मात्र सफा गरे पुग्छ’ उनले थपिन, ‘कोरिया जानेहरुलाई तालिम दिदा चाँही साह्रै गाह्रो हुन्छ, दिनमा १२–१५ सय जनाले प्रयोग गरेको चर्पी सफा गर्नुपर्छ ।’
समयसंगै छोराछोरी हुर्किए । कोही पढ्दैछन्, कोही विभिन्न बाटोमा लागिसके । उनी भने त्यहि जागीरमा अल्झिरहिन । रहरले होईन बाध्यताले । उनले काम गरेको २१ बर्ष वितिसक्यो । तर उनको पारिश्रमिकले भने अति सुस्त गतिमा मात्रै पाइलो चालिरह्यो । मासिक ४ सय रुपैयाँमा जागीर सुरु गरेको हिजो जस्तो लाग्छ उनलाई ।
२१ वर्षदेखि सरकारी चर्पी सफा गर्दै आएकी माईलीको मासिक पारिश्रमिक भने बल्ल तल्ल ६ हजार ९ ससय रुपैयाँ पुगेको छ । ‘केहि महिना अगाडी सरसफाई गर्न भनेरै आएकोको १५–१६ हजार तलब छ, २१ वर्षदेखि काम गरीरहेको मलाई भने ६ हजार ९ सय रुपैयाँ दिन्छ ।’ उनी आफ्नो गुणासो सुनाउँछिन्, ‘बोल्न नसक्ने भएपछि सरकारले पनि हेप्ने रहेछ, हाकिमको कोठाभित्र छिर्ने अनुमति छैन, तलब थोरै भयो भन्यो भने यति भन्दा कति दिनु त भनेर चुप गराउँछन्, हाकिमहरु कुरै सुन्दैनन् ।’
सरकारले कटौति गर्न लागेको कर्मचारी कोटाले आफ्नो जागीर जाने डर छ उनलाई । जीवनको उर्जाशिल समय यही काम गरेर खर्चेपनि सेवा सुविधाको सट्टामा सरकारले रोजीरोटी खोस्न लागेपछि बुढेसकाल नै अन्धकार लाग्न थालेको छ । उनी भन्छिन् ,‘बल जति यहाँको चर्पी सफा गर्दै सकियो, अब काहाँ गएर काम गर्ने ? सरकारले बिचल्ली बनायो ।’