बहसमा आईफा अवार्ड, ‘नाकाबन्दीले चिढिएका नेपालीको मन पग्लिएन’

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 30, 2019 | 09:47:51 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा) नेपालमा हुने भएको छ । मन्त्रीपरिषद्ले काठमाडौँमा यो अवार्ड कार्यक्रमको आयोजना गर्न स्वीकृत दिएपछि नेपालको जनमत बाडिएको छ । कोही अवार्ड कार्यक्रम नेपालमा हुनु गौरव र क्षमता प्रदर्शनको सुनौलो अवसर भन्छन् भने कोही अवार्डको नाममा सरकारले पैसा सक्ने काम गर्न लागेको बताउँछन् । 

आयोजक को ? 

यो अवार्डको नेतृत्व नेपाल पर्यटन बोर्डले गर्नेछ । काठमाडौं महानगरपालिका सहआयोजक रहनेछ । यसैका निम्ती सरकारले ८ असारमा एउटा समिति पनि गठन गरेको थियो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार बिहिबार उक्त समितिको बैठक बसेको थियो । समितिले ५ दिनभित्र कार्यक्रमको विस्तृत कार्ययोजना बनाउने भएको छ । 

अवार्ड आयोजनाका लागि १ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अवार्डमा ८० देखि सय जना बलिउड कलाकार सहभागी हुनेछन् । उनीहरुका सहयोगी, सुरक्षाकर्मी, भारतीय सञ्चारकर्मीसहित अवार्ड समारोहमा ७ सयको हाराहारीमा विदेशी सहभागी हुने सरकारको अपेक्षा छ । 

उच्चस्तरीय समितिका सदस्य चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईका अनुसार अवार्ड कार्यक्रम गर्ने सम्बन्धमा चार महिनादेखि गृहकार्य भईरहेको छ । अवार्ड कार्यक्रममा नेपाली कलाकार र नेपाली सञ्चारमाध्यमको पहुँचलाई सहज बनाउन नेपाली पक्षले अडान राख्ने छ । बलिउड कलाकार र भारतीय सञ्चारमाध्यमका सामु नेपाली कलाकार र नेपाली मिडियाको पनि समान हैसियतका सम्बन्धमा समिति सचेत रहेको भट्टराईले बताए । 

पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले आईफा अवार्ड आयोजनामा हुने खर्च नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका र निजी क्षेत्रले जुटाउनेछन् । केन्द्र सरकार र पर्यटन मन्त्रालयले आर्थिक सहायता नगर्ने उनको भनाई छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा सरकारले आयोजकसँगको वार्ता टोलिको संयोजक छन् । कमिटिमा पर्यटन, अर्थ, सूचना तथा सञ्चार प्रविधि र भौतिक मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिरकणका महानिर्देशक, काठमाडौं महानगरपालिकाका मेयर, नेपाल पर्यटन बोर्डका कार्यकारी अध्यक्ष, नेपाल भ्रमण वर्ष २०२० का संयोजक, नेपाल पर्यटन बोर्डका सीइओ सहभागी छन् ।

अवार्ड स्थान कहाँ ? 

आईफा अवार्डको आयोजना सैनिक मूख्यालय अगाडिको फूटबल चौरमा हुने मोटामोटी टुंगो लागेको छ । आईफाको टोलीले नेपालमा कार्यक्रम आयोजनाका लागि हेरेको स्थानमध्ये सैनिक मुख्यालयभित्रको चौरलाई मन पराएको बुझिएको छ । 

आईफा अवार्ड भारत बाहिर विभिन्न देशमा हुने गरेको छ । पहिलोपटक सन् २००० मा बेलायतमा आयोजना भएको थियो । त्यसपछि क्रमशः दक्षिण अफ्रिका, मलेसिया, दक्षिण अफ्रिका, सिंगापुर, नेदरल्याण्ड्स, यूएई, बेलायत, थाइल्याण्ड, मकाउ, श्रीलंका, क्यानडा, सिंगापुर, मकाउ, अमेरिका, मलेसिया, स्पेन र थाइल्याण्डमा आयोजना भयो । 

सन् २०१९ अगस्टमा २० औं संस्करण नेपालमा हुँदैछ । 

के भन्छन् पर्यटन व्यवसायी ?

पर्यटन सम्बद्ध निकाय र व्यवसायीले भने पर्यटनको सम्भावना भएको नेपालका लागि यस्ता अन्तराष्ट्रिय कार्यक्रमले महत्व राख्ने भन्दै कार्यक्रम सफल बनाउन लाग्ने बताएका छन् । नाम उल्लेख नगर्ने सर्तमा एक जना पर्यटन व्यवसायीले नाकाबन्दीको रिसका कारण भारतीय कार्यक्रम नेपालमा हुनै हुँदैन भन्नु गलत भएको बताएका छन् । अहिले पनि नेपालमा आउने पर्यटकको धेरै हिस्सा भारतीय पर्यटकले ओागटेको भन्दै यो अवार्ड नेपालमा आयोजना हुँदा यसले पर्यटनमा मात्र नभई नेपालका धेरै सम्भावित क्षेत्रमा लगानीको बाताबरण समेत बन्ने विश्वास व्यक्त गरे । 

एक प्रतिष्ठित होटलका मालिकले पनि अवार्ड आयोजना हुनु राम्रो पक्ष भएको बताएका छन् । होटलको अकुपेन्सी घट्दै गएको र पर्यटनको सिजन केही कम भएको अवस्थामा यस्ता अन्तराष्ट्रिय महत्वका कार्यक्रमले होटल व्यवसायलाई सघाउ पुग्ने उनको विश्वास छ । भारतले ३ वर्षअघि लगाएको नाकाबन्दीका कारण नेपालीहरुको भारतप्रति हेर्ने दृष्टिकोण नै फेरिएको भन्दै उनले व्यवसायमा सत्रुताको व्यवहार गर्न नहुने बताए । उनले भारत र चीन जस्ता शक्तिशाली मूलुकबाट नेपालले फाइदा लिन सक्ने र यसका लागि नजर व्यवसायीक हुनुपर्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved