नेपालमा सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र कृषि हो । नेपालमा भईरहेको कुल रोजगारीको ६४.४० प्रतिशत रोजगारी कृषि क्षेत्रले प्रदान गरेको छ । रोजगारी मात्रै नभई २७.६५ प्रतिशतको योगदान पनि कृषि क्षेत्रकै छ ।
पछिल्लो समय थोरै लगानीबाट राम्रो आम्दानी लिन सकिने र स्वरोजगार मात्रै नभई केहीलाई रोजगारी पनि दिन सकिने भएकाले युवा पुस्ताको कृषिमा आकर्षण बढ्दो छ । आफ्नो भान्छामा दैनिक पाक्ने तरकारी पनि विदेशबाट ल्याएर खानुपर्ने बाध्यता देखेपछि अहिलेका सचेत युवाहरु कृषिमा पनि तरकारी खेतीमा बढी आकर्षित छन् ।
कोभिड–१९ को प्रभावसँगै भईरहेको रोजगारीसमेत गुमाउन पुगेपछि युवाहरु कृषिमा आकार्षित हुने क्रम बढेको छ । कतिपय युवाहरु विदेशको कमाई छोडेर स्वदेशमै तरकारी खेती गर्ने योजना बनाएर पनि फर्किएका छन् । र फर्किए लगत्तै काम पनि सुरु गरेका छन् ।
यस्तै धोको बोकेर विदेशबा फर्किएर तरकारी खेतीमा लागेका युवा हुन् सुगम कुमार पाख्रीन । दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेका स्थायी बासिन्दा सुगम कुमार पाख्रीनलाई साथ दिए पत्रकार राङदोल लामाले । नातेदारसमेत रहेका यी युवा अहिले ‘ताजा तरकारी कृषि फार्म’ चलाएर कृषि कर्ममा लाग्न युवाहरुलाई प्रेरित गरिरहेका छन् ।
लगानी कति ?
यी दुई युवाले काठमाडौँको मूलपानी चौरमा सञ्चालन भईरहेको फार्म खरिद गरेर तरकारी खेती सुरु गरेका हुन् । करिब साढे १२ रोपनी जग्गामा तरकारी खेती सुरु गर्न सुरुमा २० लाख रुपैयाँ लगानी गरेको फार्मका व्यवस्थापक तथा सञ्चालक सुगम कुमार पाख्रीन बताउँछन् ।
यो फार्म लकडाउन सुरु हुनुभन्दा केही समय अगाडीबाट मात्रै यी दुई युवाले खरिद गरेका हुन् । हिउँदमा खन्ने, पानी लगाउने, मल हाल्ने लगायतका काममा आफैँ खटिएपनि जब उत्पादन हुने सिजन सुरु भयो तब उनीहरुले ७ जनालाई रोजगारी दिए । अहिले लामा र पाख्रीनसहित ९ जना फार्ममा खटिरहेका छन् ।
आम्दानी कति ?
फार्मका अध्यक्षसमेत रहेका लामा एक सिजनमै २० देखि ३० लाख रुपैयाँको गोलभेडा बेच्न सकिने बताउँछन् । गोलभेडा, तितेकरेला, काँक्रा, सिमी, बोडी, घिरौंला, लौका, धनियाँ, फर्सी, काउलीलगायत विभिन्न सागसब्जीहरु पनि फार्ममा फलेका छन् ।
मासिक २ लाख ५० हजार रुपैयाँ सम्मको आम्दानी भईरहेको उनीहरुको सुरुवाती अनुभव छ । यसले कृषि उत्पादनमा लाग्न अझ प्रेरित गरिरहेको उनीहरु बताउँछन् ।
‘विदेशमा बस्दा दिनरात खट्दा पनि यति आम्दानी हुँदैनन्थ्यो’ कृषि कर्मबाट प्राप्त सन्तुष्टि मिसिएको हँसिलो मुद्रामा पाख्रीन सुनाउँछन्, ‘आफ्नै देशमा दश नङ्ग्रा खियाउँदा सुन फल्ने रहेछ, हामी आफ्नै माटो चिन्न नसकेर पो विदेश जाँदा रहेछौँ ।’
कति सन्तुष्ट ?
पाख्रीन दुबईको मासिक डेढ लाख रुपैयाँ आम्दानी हुने काम छोडेर लकडाउन हुनु केही समय अघि मात्रै नेपाल फर्किएका हुन् । यहाँ परिवारसँगै बसेर आफ्नै हातले उब्जाएका ताजा खानेकुरा खाँदै आफ्नै माटोमा पसिना पोख्नुको अनुभव पाख्रीनलाई जस्तै लामालाई पनि छ । लामो समय सञ्चार कर्ममा रहेको लामा पनि वैदेशिक रोजगारीमा लामो समय विदेशमा बिताएर फर्किएका थिए । अहिले यी दुई भाई कृषिमा जमेका छन् ।
‘अहिले फार्ममै आएर उपभोक्ताले रोजेरै काँक्रो लैजाँदा मनमा छुट्टै खालको आनन्द मिल्दो रहेछ, यो चाहिँ काउली टिपिदिनुस् भनेर मानिसहरुले औलाले देखाएकै काउली टिपेर बेच्दा ५२ डिग्रीको अरबको तापक्रममा किन पुगिएछ जस्तो लाग्छ’ विगतको स्मरण गर्दै लामा सुनाउँछन्, ‘कृषि कर्ममा पहिल्यै लाग्नुपर्ने रहेछ जस्तो पनि लाग्छ, तर हर कामको समय आउनुपर्दो रहेछ, हाम्रो समय अहिले आयो ।’
बिचौलियाले कृषक र उपभोक्ता मारमा
आफूहरुले उत्पादन गरेको तरकारी उपभोक्ताको भान्छामा पुग्दा तेब्बर बढी महँगो हुने गरेको खबरले भने उनीहरुलाई चिन्ता लाग्ने गरेको छ । बजारमा तरकारीको भाउ उच्च हुँदा पनि वास्तविक किसान भने लगानी उठाउनै सकसको अवस्थामा रहेको उनीहरुको बुझाई छ ।
कुनै समय कृषिमा बिचौलियाको कारण कृषक र उपभोक्ता मारमा पर्दै आएको समाचार आफैँले लेख्ने राङदोल लामा अहिले आफैँ पनि प्रत्यक्ष तथा परोक्ष रुपमा बिचौलियाको सिकार भईरहेको छु जस्तो सोच्छन् । यसका लागि कृषकले सोझै आफ्ना उत्पादन बिक्रि गर्न सक्ने संयन्त्र बन्नुपर्ने वा सरकारी तहबाटै तरकारी संकलन केन्द्र र बजारको विकास हुनुपर्ने उनको भनाई छ ।
‘वास्तविक किसान साँच्चै पीडित रहेछन्’
विदेशमा बस्दै सुगम कुमार पाख्रीन नेपाल सरकारले किसानका लागि अनुदान, सहुलितमा ऋण जस्ता कार्यक्रम ल्याएकोमा खुशी थिए । नेपालमा पुगेर आफूले पनि सहुलियतमा ऋण लिएर कृषि कर्म गर्ने योजना उनको उतैबाट बनेको थियो ।
तर, जब नेपाल आएर उनले तरकारी खेती सुरु गरे, तब उनलाई थाहा भयो कि सरकारी कार्यक्रमहरु वास्तविक किसानका लागि होइन रहेछन् । आजसम्म पनि उनीहरुले सहुलियतमा ऋण पाएका छैनन्, अनुदानको त झन आशा नै छैन ।
कृषि क्षेत्रमै पनि रिर्पोटिङ गर्ने राङदोल लामालाई कृषि कर्जा पाइन्छ कि भन्ने झिनो आशा थियो । तर, उनको आशा पनि अब बाँकी छैन ।
‘अनुदान भनेको साँच्चै कृषि पेशामा लागेकाहरुलाई होईन रहेछ, अहिले आफैँ कृषिमा लागेपछि थाहा भयो, यो त कागजी प्रकृया मिलाएर खाने मेलो रहेछ’ लामा भन्छन्, ‘सस्तो ब्याजको लोनसमेत नपाएका हामीले अनुदानको त झन के आशा गर्नु ?’