आमाको रेसिपीबाट जन्मिएको ‘जिम्बु थकाली’

सीता बुढाथोकी

सीता बुढाथोकी

Sep 08, 2023 | 10:24:55 AM मा प्रकाशित

laxmi  sunrise bank

मानिसहरु अमेरिका भनेपछि हुरुक्कै हुन्छन् । अमेरिकाको भूमि टेक्नकै लागि मात्र लाखौ खर्च गर्न तयार हुन्छन् , जोखिमपूर्ण बाटो समाउन पनि पछि पर्दैनन् । तर विवेक शेरचन यस्ता पात्र हुन्, जो अमेरिका पुगे पनि उनलाई त्यहाँको रहनसहनले मन मानेन । अन्तत: उनी अमेरिका छोडेर आफ्नै मातृभूमि फर्की आए । र बने एक सफल व्यवसायी । उनी सफल उद्यमी मात्र बनेनन्, अहिले उनको रेष्टुरेन्ट सरकारलाई सर्वाधिक कर तिर्ने करदाता पनि हो ।

उनलाई सफल बनाएको ब्राण्ड हो 'जिम्बु थकाली रेष्टुरेन्ट' । आफ्नो देशको खानालाई देश विदेशसम्म चिनाउने उद्देश्यले विवेक शेरचनले करिब ७ वर्षअगाडी यो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । 

काठमाडौँको नक्साल स्थित टङ्गालमा मुख्य आउटलेट रहेको उनको रेष्टुरेन्ट हाल झम्सिखेल र बानेश्वरमा पनि विस्तार भईसकेको छ । अर्को एउटा छिट्टै थपिँदै छ ।   “तीन ओटा आउटलेट खोलिसकेका छु, त्यससँगसँगै कालिमाटीमा पनि अब छिटै सञ्चालन गर्दैछु । काठमाडौँका अन्य ठाउँमा पनि खोल्ने योजना बनाउदै छु,” उनले भने । 

 जिम्बु थकाली बिहान १०ः३० देखि बेलुका १०ः३० सम्म खुल्ने गरेको छ । तीन वटा रेष्टुरेन्टमा १४० जना कर्मचारी छन्, अब अर्को ब्रान्च सुरु भएपछि १५० जना बनाउने जिम्बुका प्रमुख कार्यकारी अधिकृत प्रभु शरण थापा बताउछन्। 

कसरी सुरु भयो जिम्बु थकाली रेष्टुरेन्ट ? 

विवेक १९ वर्षको उमेरमा अमेरिका गएका थिए । परिवारले नेपाल बोलाए पछि १५ बर्ष अमेरिका बसेर सन् २०१० सालको अन्तिममा उनी नेपाल फर्किए । १५ बर्षसम्म अमेरिकामा रेष्टुरेन्टमा काम गरेका थिए । नेपाल आउने वित्तिकै के गर्ने भनेर सोँच्दा उनलाई अमेरिकन खानाको मात्र ज्ञान थियो । सुरुमा उनले भाटभटेनीको चौथो तलामा क्यापिटल ग्रिल नामक रेष्टुरेन्ट खोलेका थिए । 

त्यो रेष्टुरेन्ट एकदम राम्रो चलेको थियो, तर २०७२ वैशाख १२ गतेको भूकम्पले अन्य हजारौ जस्तै उनलाई पनि नराम्रोसँग प्रभावित पार्यो । तीन महिनासम्म रेष्टुरेन्ट बन्द गरे। परकम्पहरु जाने क्रम रोकिएको थिएँन, भाटभटेनी जस्तो अग्लो भवनको चौथो तलामा गएर व्यवसाय गर्न सहज थिएँन । उनले साहस  जुटाएर ३ महिनापछि रेष्टुरेन्टलाई फेरि सञ्चालन गर्न लागे । भूकम्प अघि उनको रेष्टुरेन्टको स्वादले यति धेरै ग्राहकको मन जितेको थियो कि छिट्टै उनले भूकम्पको अगाडी झैँ व्यापार गर्न थाले । 

“तीन महिना पछि रेष्टुरेन्ट खोलियो, मलाइ डर लागेको थियो, राम्रो चल्दैन होला भन्ने थियो,  तर ५ वर्षको अवधि भित्र मैले धेरैको मन जितेको रहेछु, मलाई व्यवसायलाई पहिले कै अवस्थामा पुर्याउन गाह्रो भएन,” उनी भन्छन् ।  

त्यसपछि विवेकले विदेशको खाना भन्दा पनि नेपाली खानालाई बढी प्राथमिकता दिने निणय गरे । “त्यति बेला थकाली भनेर खासै रेष्टुरेन्टहरु थिएनन् । जिम्बु थकाली खोल्नुमा सबैभन्दा ठूलो हाल उनकी आमा प्रभा शेरचनको थियो । उनकी आमाले पहिलादेखि नै धेरै स्वादिष्ट थकाली खानाहरु बनाउने गरेकी थिईन् । उनले आमालाई आफुले थकाली रेष्टुरेन्ट खोल्ने कुरा बताए आमा पनि धेरै खुसी भइन् । उनले आमाको रेसिपी (पकाउने तरिका) बाट क्यापिटल सँगसँगै जिम्बु थकाली पनि सञ्चालन गरे । 

विवेकले जिम्बु थकाली सञ्चालन गर्दा २ करोड लगानी गरेका थिए र अहिलेसम्म ५० करोड लगानी गरिसकेका छन् । जिम्बु थकाली सञ्चालन भएको ७ वर्ष भैसकेको छ । यसले थोरै समयमा नै ग्राहकको मन जित्न सफल भएको विवेक बताउछन् । “हामीले ५ स्टारको जस्तै सेवा दिन्छौ । खानामा पनि आज जस्तो स्वाद छ, अर्को वर्ष आउँदा पनि खानाको स्वादमा फरक हुँदैन, त्यसैले पनि जिम्बु थकालीले थोरै समयमा नै ग्राहकको मन जित्न सफल भएको छ,” उनले भने, “ जुनसुकै आउटलेटमा गए पनि हाम्रो खानको स्वाद एकै हुन्छ, हामीले पकाएको खानाको स्वादमा एकरुपता दिनको लागी मात्र २ जना सेफ राखेका छौँ,उहाँहरु हरेक दिन सबै आउटलेटमा पुगेर स्वादमा एकरुपता दिनको लागि आवश्यक काम गर्नुहुन्छ । ३० प्रतिशत ग्राहकहरु दोहोर्याएर आउनु भएको छ, त्यो नै हामीप्रतिको विश्वास हो ।”

जिम्बु थकालीमा आएर खाना खाएपछि मनमा लागेका कुराहरु मेनुमा भएको क्युआर स्क्यान गरेर ग्राहकले आफ्ना प्रतिक्रिया दिने गरेका छन् । “ ग्राहकले खाना खाइसके पछि आफ्नो मनमा लागेका कुराहरु क्युआर मार्फत लेख्नु हुन्छ । सबैले गर्नुहुन्न, तर  मासिक ३० हजार जतिले खाना खाएपछि आफुलाई लागेका कुराहरु लेख्नु भएको छ । त्यसमा पनि धेरै राम्रा प्रतिक्रियाहरु आउने गरेका छन्,” विवेकले खुसी हुँदै भने । 

ग्राहकलाई जतिसक्तो राम्रो सेवा दिनको लागि जिम्बु थकालीले कर्मचारीलाई दुई वर्षको तालिम दिने विवेकले बताए । उनले भने “ ग्राहक सबै एकै किसिमका हुँदैनन् । कोहि कस्तो मुडमा आएका हन्छन् । ९९ प्रतिशत राम्रो काम छ भने त्यसको खासै तारिफ हुँदैन तर, १ प्रतिशत मात्र गल्ति भयो भने सहर नै फैलिन्छ,” उनले भने, “त्यसैले जति सक्तो गल्ति नहोस् भनेर कर्मचारीहरुलाई २ वर्षको तालिम दिने गरेका छौँ ।”   

जिम्बु थकालीको एउटा आउटलेटले एक दिनमा करिब ५ सय जना ग्राहकलाई खाना खुवाउदै आएको छ । हाल नेपालमा रेष्टुरेन्ट व्यवसाय गर्ने मध्येकै सबैभन्दा बढी कर जिम्बु थकालीले तिर्ने गरेको छ। 

जिम्बुमा ग्राहकले धेरै रुचाएको खाना

जिम्बु थकालीमा ग्राहकले 'चेलीज्वाई सेट'लाई सबैभन्दा धेरै रुचाएका छन् । सामान्य घरमा चेलीज्वाई आउदा कस्तो सत्कार गरिन्छ चेलीज्वाई  सेट पनि त्यस्तै गरेर तयार गरिएको शेरचन बताउछन् । त्यसमा फिस, चिकेन र मटन गरेर तीन किसीमको मासु हुन्छ साथै च्याउ पनि हुन्छ । अन्य तरकारीहरु लालमन र दही पनि राखिन्छ । यो थालीको स्वाद लिदा ससुराली गए जस्तै अनुभव हुने सिइओ प्रभुले बताए ।  त्यसको मुल्य भने अलि अरु थाली भन्दा केहि बढी छ । जिम्बुमा पाइने सम्पुर्ण थाली सेटको मुल्य बारे जिम्बु थकालीको पेजमा गएर हेर्न सकिने व्यवस्था गरिएको उनले बताए। 

ग्राहकको मन जित्न जिम्बु थकालीले अरु ठाउँमा पाइने थकाली सेट भन्दा धेरै प्रकारका खानेकुराहरु थपेको छ । जस्तै सामान्य भेज थकाली खानामा च्याउ, साग, गुन्द्रक र अचारहरु पाउन सकिन्छ भने पनिर पनि पाउन सकिन्छ । 

काठमाडौँमा रेष्टुरेन्टका अबसर र प्रतिस्पर्धी 

अहिलेको समयमा हप्ताको एक दिन बाहिर रेष्टरेन्टमा गएर खाना खाने चलन धेरै बढिरहेको विवेकले बताए । यसलाई मध्यनजर गर्दिया  ग्राहकले रुचाए अनुसारका खानाहरु बनाउन सक्यो भने अवसरहरु धेरै रहेको उनी बताउछन् । 

तर, रेष्टुरेन्ट खोलेर यो अवस्था सम्म पुर्याउनलाई सजिलो नभएको र यो ठाउँसम्म ल्याउन धेरै संघर्ष गर्नुपर्ने विवेकले बताए । धेरै रेष्टुरेन्टहरु सञ्चालन भएको केहि बर्षमा बन्द हुने र यो स्थान सम्म ३÷४ ओटा मात्र पुगेको पनि उनले बताए । “जस्तो चुनौती आएपनि चुनौती सँग लड्न सिक्नपर्छ । १५ वर्षसम्म एकदम सुविधा सम्पन्न ठाउँबाट नेपाल एउटा सिस्टम नै नभएको ठाउँमा आएर यो ठाउमा पुग्दा धेरै बाधाहरु आएका थिए,” उनले भने । 

नेपालका सबै रेष्टुरेन्टहरु जिम्बु थकाली जस्तो हुनुपर्ने उनी बताउछन् । नेपालमा मात्र नभएर अष्ट्रेलियामा पनि थालीको नाम जिम्बु थकाली थाली राखेको पनि उनले बताए । 

जिम्बु थकाली काठमाडौँको ब्राण्ड हो । काठमाडौँ बाहेक नेपालका बाहिरी जिल्लाहरुमा आफ्ना आउटलेट खोल्नेबारे नसोचेको तर, बाहिरी देशमा भने खोल्ने योजना बनाइरहेको विवेकले जनाए । 

विवेकले सम्बन्धित निकायलाई “क”, “ख” र “ग” वर्गका रेष्टुरेन्ट भनेर छुट्याउनको लागि अनुरोध गरेक छन् ।“हामीले ५ स्टार होटल जस्तै गरेर चलिरहेका छौँ । सम्बन्धित निकायले रेष्टुरेन्टको वर्ग छुट्याइदिए हामी त्यहि हिसाबले चल्ने थियौँ,” उनले भने,“एउटा ठेलामा मःम बेच्नेकोमा र हाम्रोमा एउटै कुराहरु खोजेर हुँदैन ।”


यो पनि  : दुई साथीको 'देसना' अचारले १५ गृहिणीलाई बनायो उद्यमी, दुई लाखलाई जोड्ने योजना

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved