नेवारी खानाको परम्परालाई विश्व सम्पदा सूचीमा समावेश गर्न लागिपरेका विनोद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2023 | 02:39:21 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त राष्ट्र सङ्घको एउटा अङ्ग युनेस्कोले बहुमूल्य सम्पदाका रूपमा सूचीकृत विश्वका स्मारक र स्थानहरूलाई युनेस्को विश्व सम्पदा क्षेत्र भनेर घोषणा गर्छ। यूनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्त्व राख्ने (जस्तै वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर) धरोहरहरूलाई आफ्नो सूचिमा सूचीबद्ध गर्छ। यो विश्व सम्पदा समितिले चयन गर्ने गर्छ र यसै समितिले घोषित सम्पदा क्षेत्रलाई रेखदेख गर्ने काम युनेस्कोको तत्त्वावधान गरिन्छ। काठमाडौँ उपत्यकामा सात वटा र नेपालभरिमा दश वटा युनेस्को विश्व सम्पदा क्षेत्र छन्। यी सबै सम्पदा भौतिक हुन।

तर युनेस्कोले अमूर्त कुराहरूलाई पनि विश्व सम्पदाका रूपमा घोषणा गर्छ। त्यसमा खानालाई पनि विश्व सम्पदा घोषणा गरिएको छ। जस्तो फ्रान्सेलीहरूले गएको १०० वर्षदेखि खादै आएको ब्यागेट भन्ने पाउरोटी, अफ्रिकाको खुसखुस, कोरियाको किम्ची, इटालीको नियोपोलेटियन पिजा, हेरिसा सस, चिनिया चिया र अरेबिक कफी।

बेलायतमा बसेर खानासम्बन्धी गम्भीर अनुसन्धानमा लाग्नु भएका आर एण्डी डी सेफ विनोद बरालले आफ्ना केही अमूल्य वर्ष नेवारी खानालाई युनेस्कोको अमूर्त विश्व सम्पदा सूचिमा समावेश गर्नका लागि दौडधुपमा बिताए।   तर नेपालीहरू "अति राजनीति" र सम्बद्ध निकायको बेवास्ताका कारण उनको प्रयास सफल हुन सकेन।

अस्ट्रियाको इभेन्ट म्यानेजमेन्टसम्बन्धी मल्टिनेशनल कम्पनी गोर्मेट इन्टरटेन्टमेन्ट ग्रुप (डोएण्डको इन्टनेशनल) को रिसर्च एन्ड डेभेलपमेन्ट तथा इनोभेसन किचेन डिपार्टमेन्टको प्रमुखका रूपमा कार्यरत विनोद बराल अब फेरि नेपालीहरूको समूह नै बनाएर यो कामलाई अगाडि बढाउने प्रयासमा छन् ।

पोखरामा जन्मिएर धादिङको मलेखु तथा काठमाडौँमा हुर्किएका विनोदको भनाइमा, " नेवारी खानाको परम्परा आफैमा अत्यन्त धनी परम्परा हो। एउटा राँगोको उदाहरण नै दिने हो भने पनि सिङ खुर र मल बाहेक सबै अङ्गप्रत्यङ्गको आ-आफ्नै खालका परिकार बन्न सक्छ। नेवारी खाद्य परम्परा युनेस्कोको अमूर्त विश्व सम्पदा सूचिमा समावेश हुनका लागि अत्यन्त उपयुक्त परम्परा हो।"  

अहिले बेलायतमा बस्ने विनोद डोएण्डको इन्टनेशनलका कामका कारण संसार घुमिरहनु पर्छ।  संसारको जुनसुकै कुनामा गए पनि सबैभन्दा पहिला विनोदले खोज्ने भनेको नेपाली रेस्टुरेन्ट नै हो। आफ्नो नियमित कामबाट फुर्सद निकाल्ने वा बरु नसुत्ने तर ती नेपाली रेस्टुरेन्टमा जाने र कसरी काम गरिरहेका छन् र केके बेचिरहेका छन् भनेर हेर्ने हुटहुटी हुन्छ विनोदलाई। त्यो पनि आफ्नै खर्चमा  त्यहाँ किन त?  विनोद भन्छन्, "मलाई नेपाली खानाको समग्रमा ब्यान्डिङ गर्न छ। नेवारी खानाको परम्परालाई युनेस्कोको अमूर्त विश्व सम्पदा सूचिमा समावेश गर्न सकियो र नेपाली खानालाई ब्यान्डिङ गरियो भने नेपालीहरू कामको खोजीमा विदेशमा भौँतारिन पर्दैन। हाम्रो देश प्राकृतिक रूपमा सुन्दर त छदै छ। खानाको हाम्रो धनी परम्पराका बारेमा पर्यटकले थाहा पाए भने पर्यटकको ओइरो लाग्छ र हाम्रा लागि कामै काम हुन्छ।"  

"तर त्यसका लागि हाम्रो खानाको नेपालीपनचाहिँ हामीले जोगाएर राख्न पर्छ,"  विनोद भन्छन्, " वास्तविक नेपाली स्वाद त हाम्रा हजुरआमाहरूले पकाएको खानाको पो हो। हाम्रो पहिचान पनि त्यही नै हो। हाम्रा बजैहरूको वास्तविक स्वादमा हामीचाहिँ नक्कली स्वाद थोपरिदिन्छौ। अनि कसरी नेपालीपन जोगिन्छ?"

सामाजिक सञ्जालमा "ममका राजा" को उपाधि पाउनु भएका विनोद भन्छन्, " मम भनेको सानो मुखमा अट्ने खालको हुनुपर्छ। बफाएको मम सिङ्गै मुखमा हालेर किचिक्क पार्दा आउने रसको स्वाद पो हो त ममको वास्तविक स्वाद। अहिले बजार प्रतिस्पर्धाका नाममा मुखमा नअट्ने मम बनाइन्छ अनि टुक्राएर खादा त ममको स्टफीङको भन्दा पनि बाहिरको अचारको स्वाद आउँछ। अचारको स्वाद लिएर ठुलो मम खाने हो भने त दापाउ खाए भई हाल्यो नि। किन ममचा खान पर्‍यो?"

विनोदका अनुसार नेपाली खानाको सबैभन्दा ठुलो चुनौती भनेको नेपालीपनलाई जोगाउनु नै हो। विनोद उदाहरण दिँदै भन्छन्, "भारतका कतिपय स्थानमा हाम्रो ममले पकौडाको रूप लिँदै गएको छ। ममलाई तारेर मेयो वा मायनिज सससँग खाइन्छ। त्यो कतैबाट पनि नेपाली होइन।"

विनोद बराल भन्छन्,"कुरा ममको मात्रै होइन सबै नेपाली खानाको हालत त्यस्तै छ। वास्तविक नेपाली स्वाद त हाम्रा हजुरआमाहरूले पकाएको खानाको पो हो। हाम्रो पहिचान पनि त्यही नै हो।"

विनोद खानाको क्षेत्रकै औपचारिक शिक्षा लिएर यो पेसामा लाग्ने र अन्तर्राष्ट्रिय रूपमा नै माथिल्लो तहमा पुग्ने थोरै नेपालीमध्येमा पर्नुहुन्छ। विनोद बराल भन्छन्, "हाम्रो कमजोरीचाहिँ अभिलेखीकरण हो। हाम्रा बजूहरूले कसरी खानालाई आवश्यक सामाग्री खोज्नु हुन्छ? कसरी काटकुटलगायतको तयारी गर्नुहुन्छ? कस्तो मसला चाहिन्छ? आगोको राप कति चाहिन्छ? कति बेर पकाउनु पर्छ? कसरी पस्कनु पर्छ? सबैको अभिलेख राख्न पर्‍यो। तब न कसैले यो तेरो खाना कसरी भयो भन्यो भने यी यी कारणले हो भन्न सक्नु पर्छ।"

विनोदका अनुसार "हाम्रो खाद्य परम्परालाई जोगाउने चुनौती हाम्रो भाषामा आएको सङ्कट हो। सबै जना आआफ्ना भाषा छोडेर अङ्ग्रेजी तिर कुद्‌न थाले पछि हाम्रा कतिपय खानेकुरा नै लोप हुने डर छ। हाम्रो वन जङ्गल तथा खेतबारीमा पाइने हाम्रा खानाका सबै वनस्पति तथा जीवजन्तुको नाम अङ्ग्रेजीमा हुनै पर्छ भन्ने छैन। अहिले मातृभाषामा थाहा भएको कुरा भाषाको लोपसँगै त्यसको प्रयोग पनि लोप हुँदै जान्छ।"

विनोद भन्छन्"अहिले काभ्राको अचार हामीले सुनेका छौ। तर कतिले खाएका छौ? कोक्याउने कर्कलोको बारेमा तपाईँलाई थाहा होला तर दुधे कर्कलो थाहा छ त ? त्यसको अचार कसरी बनाउने थाहा छ त? सिप्लिकानको तरकारी त के शब्द नै सुनेका छैनौ होला। शब्द नै हराएपछि के को सिप्लिकान? के को तरकारी? नेपाली ममको किमामा छ्यापी अनिवार्य थियो। अहिले मम त सबैलाई थाहा छ तर छ्यापी के हो धेरैलाई थाहा छैन।"

पाककलाको क्षेत्रमा २० वर्षभन्दा बढी काम गर्दा विनोदले नेपाली परिकारलाई विश्व मानचित्रमा स्थापित गर्ने अनेक काम गर्नुभएको छ। त्यसमध्ये एउटा विनोदले लन्डनमा खोलेको रेस्टुरेन्ट मःमः एन्ड रोटी पनि हो। त्यसमार्फत नेपाली खाना भारतीय खानाभन्दा धेरै फरक हो भनेर अभियान नै चलाए विनोदले।

डोएण्डको इन्टनेशनलमा विनोदको काम खानासम्बन्धी अनुसन्धान गर्ने, मेनु तयार गर्ने र विशिष्ट तथा अति विशिष्ट पाहुनाहरूलाई खाना क्याटरिङ गर्ने हो। डोएण्डकोले संसारभरिका ७६ वटा एयरलाइन्स तथा तिनका एक्ज्युकेटिभ लाउन्जमा क्याटरिङको काम गर्दै आएको छ। यसबाहेक गत वर्ष सम्पन्न फुटबलको विश्वकप, फर्मुला वनका कार रेसहरूमा खाना व्यवस्थापनको काम गर्छ विनोद कार्यरत कम्पनीले। ती एयरलाइन्स तथा तिनका एक्ज्युकेटिभ लाउन्ज, मेघा इभेन्टहरूमा अति विशिष्ट पाहुनाहरूको खानाको व्यवस्थापनको मुख्य जिम्मेवारी नै विनोदको हुन्छ।

नेपाल भारतदेखि अरबसम्मका खाना र त्यसका मरमसलामा रहेको ज्ञानका कारण विनोदलाई अन्तर्राष्ट्रिय परिकारको दुनियाँमा "मसला पण्डित" भनेर पनि चिनिन्छ। अनि खानपान बाहेकका क्षेत्रमा गरेका विभिन्न योगदानका कारण सेफभन्दा धेरै माथिको काम गर्ने मानिसका रूपमा पनि विनोदको परिचय बनेको छ।

विनोदको भनाइमा जुनसुकै जातजाति वा परम्परा वा समुदायको भए पनि नेपालभित्र पकाइने सबै खाना नेपाली खाना हो। ती नेपाली खाना हाम्रो समग्र पहिचानको विम्ब हो। त्यसैले सानातिना राजनीतिक वा अन्य स्वार्थमा भन्दा माथि उठेर समग्र नेपालीको हितमा लाग्ने भनेर नेपाली खानाहरूको प्रवर्द्धन गरिनु पर्छ। स्वदेश र विदेशमा ब्रान्डिङ गरिनुपर्छ। आवश्यक पर्छ भने ट्रेडमार्क समेत लिनुपर्छ।

आरएण्डी सेफ विनोद बरालको भन्छन्, "नेपाल र नेपालीलाई संवृद्ध बनाउने भनेको प्राकृतिक सौन्दर्ययतामा आधारित पर्यटन हो र त्यसलाई अझ दिगो बनाउने हो भने यो समग्र प्रक्रियामा हाम्रा मौलिक खानालाई जोड्न पर्छ।"


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved