कोरियामा भन्दा खोरियामा रमाएका नरेश

नारायण प्रसाद कोइराला

नारायण प्रसाद कोइराला

Jan 11, 2024 | 04:28:36 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्लाको सदरमुकाम भन्दा पनि महत्वपूर्ण व्यापारिक केन्द्रमा व्यवसाय गरिरहेको व्यक्तिलाई आत्मसन्तुष्टि के ले दिन्छ ? वित्तीय क्षेत्रमा आफ्नो महत्वपूर्ण उपस्थिति बनाइसकेको संस्थाको सञ्चालकलाई सबैभन्दा बढी मन पर्ने व्यवसाय कुन होला ? एउटा प्रतिष्ठित विद्यालयको संस्थापक एवं शिक्षकलाई के कुराले खुशी बनाउला ?

हामी सबैलाई लाग्न सक्छ व्यवसाय गरिरहेको व्यक्तिलाई अपेक्षित व्यवसायिक सफलताले  आत्मसन्तुष्टि दिन्छ । वित्तीय क्षेत्रको एउटा संस्थाको संस्थापक अध्यक्ष रहेको व्यक्तिलाई सबैभन्दा बढी मनपर्ने व्यवसाय आफ्नै वित्तिय संस्था वा वित्तीय गतिविधि हुनुपर्छ । एउटा शिक्षकलाई सबैभन्दा खुशी बनाउने कुरा उसको शैक्षिक उन्नयन हुनुपर्छ ।

तर, केही यस्ता फरक पात्र पनि भेटिन्छन्, स्याङ्जाका नरेश के.सी. जस्ता । जो यी ३ वटै क्षेत्रको अनुभव हासिल गरिसकेर पनि देशको पर्यायसँग जोडिएको कृषि पेशामा आवद्ध भएर भरपूर आनन्दको अनुभूति गरिरहेका छन् ।

२०५४ सालमा आफ्नै अगुवाइमा जिल्लामै पहिलोपटक ‘प्लस टु’ सञ्चालनमा ल्याए । वालिङमा स्थापना गरिएको नेपाल आदर्श नमुना स्कुल अहिले पनि जिल्लाकै प्रतिष्ठित विद्यालय हो । अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले पोखरा, मुस्ताङ, काठमाडौँमा हासिल गरेको शैक्षिक अनुभवलाई वालिङमा प्रयोग गरे र, सफल पनि भए । उनी आफू संस्थापक अध्यक्ष भएर स्थापना गरेको आँधिखोला लघुवित्त अहिले सिवाइसी लघुवित्तको नाममा वित्तीय क्षेत्रमा बलियो उपस्थिति बनाइरहेको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र वालिङमा उनको आफ्नै फेन्सी पसल पनि छ ।

तर  यी  तीनवटै क्षेत्रको राम्रो अनुभव बटुलेका के.सी.लाई सर्वाधिक सन्तुष्टि भने कृषि पेशाले दिएको छ । सुन्तलाको राजधानी स्याङ्जाको भीरकोट नगरपालिका वडा नं २ का स्थायी बासिन्दा नरेशले आफू हुर्के खेलेको पाखो बारीमा करिब ३० रोपनी जग्गामा विगत ३ दशकदेखि सुन्तला खेती गरिरहेका छन् । सुरूमा रहरमा गरिएको सुन्तला खेतीले उनलाई वार्षिक १३ देखि १५ लाखसम्म आम्दानी मात्रै दिएको छैन, आनन्द पनि दिलाएको छ । वार्षिक करिब १ लाख लगानीमा वार्षिक १५ लाखसम्म आम्दानी आफ्नै पाखोबारीमा हुन थालेपछि उनले सुन्तला खेती विस्तारलाई प्राथमिकता दिएका छ्न् ।

जिन्दगीको ५० औं वसन्तको अनुभव लिइसकेका नरेशसँग वैदेशिक रोजगारीको अनुभव पनि छ । विदेश रहँदाका तिता र मिठा अनुभव सँगालेर गाउँकै पाखा पखेरामा कृषि कर्मका खातिर आफूमा हरेक दिन निखारता ल्याइरहेका नरेश पाखोबारीमा करिब ७ सय सुन्तलाका बोटविरूवासँग आफ्नो दैनिक साक्षात्कार गरिरहेका भेटिन्छन् । ५ वर्षको कोरिया बसाइपछि २०६९ सालमा स्वदेश फर्किएका उनले दोस्रो पटक विदेश जाने चाहना नै राखेनन् । २०७० सालमा वालिङमा “सेन्सर फेन्सी कलेक्सन“  नामको फेन्सी पसल खोले, सँगसँगै बुबाले गर्दै आएको परम्परागत सन्तुला खेतीलाई व्यवसायिक बनाउने तर्फ ध्यान दिए । 

उनले आफ्नो फलफूल बगैंचामा कागती र अलैंची पनि रोपेका छन् । पाखोबारीमा चाँडो हुर्कने साज र चाँप जातका बोटविरूवामा पनि लगाएका छन् । 

सुन्तलाले रोपेको ४ देखि ५ वर्षमा उत्पादन दिन सुरू गर्ने भएकाले उनको मन कोरियामा भन्दा पनि गाउँघरकै खोरियामा रमाएको छ । केही सिमित समयको मलजल र गोडमेल गरे सुन्तलाले सुन सरह प्रतिफल दिने नरेशको अनुभव छ । सुन्तला खेतीलाई प्राथमिकता दिएर स्याङ्जाली युवा युवती कोरिया, अमेरिका, अष्ट्रेलियामा जाने सपना छोडेर आफ्नै माटोमा सुन फलाउन लाग्नुपर्ने उनको धारणा छ । उनको गाउँ भारथानमा मात्रै वार्षिक करिब ८० लाख बराबरको सुन्तला उत्पादन हुने गरेको छ । 

तर, बाँदर आंतकले सुन्तला जोगाउन गाह्रो भएकाले किसानहरूले मंसिरमै कम मूल्यमा सुन्तला बेच्ने गरेको के.सी. को दुखेसो पनि छ । स्याङ्जामा सुन्तला सुपरजोन कार्यक्रम लागू भए पनि उनले उक्त कार्यक्रमबाट कुनै लाभ वा अनुदान प्राप्त गरेका छैनन् । सरकारी अनुदान टाठाबाठा र राजनीतिक पहुँचवालाले मात्रै प्राप्त गर्ने गरेको यथार्थ सबैलाई थाहा भएको उनले बताए । साथै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन कार्यालय लागायतका निकायहरूले चाहिएको बेर्ना, निलोतुथो, प्रविधी दिन नसकेको नरेशको अनुभव छ ।

तर पनि जीवनमा अपनाएका अरू पेशा भन्दा कृषिले नै सन्तुष्टि दिएकाले उनले अब फार्म हाउस स्थापना गरी कृषि गतिविधिलाई विस्तार गर्ने योजना बनाएका छन् । उनका बुबा रत्नबहादुर भारतीय सेनाबाट सेवा निवृत्त हेनरी क्याप्टेन हुन् । ८८ वर्षीय बुबाले अझै पनि सुन्तला खेतीको मलजल र गोडमेलमा अनुगमन, सल्लाह दिइरहेका छन् । माटोलाई चिन्न र व्यवसायिक खेती गर्न सके वैदेशिक रोजगारीले भन्दा बढी खुशी र आत्मसन्तुष्टि कृषिले दिने नरेशको बुझाई, अनुभव र अनुभूति छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved