वैदेशिक रोजगारीको कमाइ देखाएर नेपालका बैंकबाट ऋण पाइन्छ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 07, 2021 | 01:10:04 PM मा प्रकाशित

laxmi  sunrise bank

घर कर्जा, सवारी कर्जा जस्ता शीर्षकमा बैंकबाट ऋण पाउने प्रक्रिया दिनानोदिन सहज बन्दै गएको छ । यसका लागि ऋण लिने व्यक्तिको मासिक आम्दानीलाई आधारका रुपमा बैंकहरुले ग्रहण गर्छन् । मासिक रुपमा ऋणीले कमाउने पैसाले ऋण तिर्न सक्छ वा सक्दैन भन्ने यकिन गर्न बैंकहरुले मासिक आम्दानीलाई ऋण लगानीको आधार बनाउँदै आएका छन् । 

विदेशको कमाइ देखाएर ऋण पाइन्छ ?

वैदेशिक रोजगारीमा गएका नेपालीहरुको संख्या अधिक छ । कतिपय नेपालीहरु भने विदेशको श्रम बजारमा खट्दा हुने आम्दानी देखाएर नेपालका बैंकहरुबाट ऋण लिन चाहान्छन् । विदेशमा बसेर काम गर्ने र नेपालको बैंकबाट लिएको ऋण तिर्ने इच्छा हुँदाहुँदै पनि नेपालका बैंकहरुले विदेशमा बस्दा हुने आम्दानी हेरेर ऋण दिन्छन् वा दिँदैनन् भन्ने धेरैलाई थाहा छैन । 

नेपालका बैंकहरुले विदेशमा हुने कमाइको आधारमा ऋण दिन थालेका छन् । नेपालबाट वैदेशिक रोजगारीका लागि गएका वा विदेशमै गैह्रआवासीय नेपालीको कानुनी मान्यता पाईसकेकाहरुले नेपालका बैंक तथा वित्तीय संस्थाहरुबाट घर कर्जा पाउन सक्छन् । 

के छ प्रक्रिया ?

सामान्यतया ऋण लिने प्रक्रिया एउटै हुन्छ । तर, कुन क्षेत्रका लागि के आधार देखाएर ऋण लिन खोजिएको हो, त्यो भने पूरा गर्नुपर्ने हुन्छ । वैदिशिक रोजगारीमा हुने वा भईरहेको आम्दानी पुष्टि हुने कागजात जुटाउन सकेमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्छन् । 

गैह्रआवासीय नेपालीको मान्यता पाईसकेको व्यक्तिले ऋण लिँदा व्यक्ति स्वयम् बैंकमा  उपस्थित हुनुपर्छ । आफू बस्ने देश, उक्त देशमा आफूले गर्ने काम, काम गरेवापत हुने मासिक आम्दानी र भिसाको बाँकी अवधि खुलाएर फाराम भर्नुपर्छ । 

गैह्रआवासीय नेपालीले घरजग्गा कर्जा लिनको लागि फाराममा खुलाउने मासिक आम्दानी ‘कहिलेसम्म निरन्तर पाइन्छ’ भन्ने पनि खुलाउनुपर्छ । यसका लागि बैंकहरुले छुट्टै कागजात माग गर्छन् । उक्त कागजात भने आफूले काम गर्ने सम्बन्धित देशको कम्पनीसँग भएको ‘एग्रिमेन्ट’ जस्तै हो । आफुले काम गरिरहेको कम्पनीबाट झिकाएर पेश गर्नुपर्ने हुन्छ ।

यसरी गैह्रआवासीय नेपालीले घर कर्जा लिँदा नेपालमा बैंकहरुले ३५ बर्ष अवधिसम्मको लागि कर्जा दिन्छन् । फिक्स्ड र फ्लोटिङ ब्याजदरमध्ये आफूलाई ठिक लागेको ब्याजदर रोजेर ऋण लिन सकिन्छ । 

भिसाको अवधि अनुसार ऋण 

धेरै अवधिमा तिर्ने गरी ऋण लिनका लागि बैंकहरुले भिसा अवधि पनि लामै खोज्छन् । यदि भिसा अवधि कम भए बढी अवधिमा तिर्ने गरी ऋण पाइँदैन । जस्तो की, मैले १० वर्षमा तिर्ने गरी ऋण लिनका लागि मसँग भिसा अवधि पनि १० वर्षकै हुनुपर्छ । 

योसँगै काम गरिरहेको कम्पनी वा संस्थाले दिएको नियुक्तिपत्र, बैंक खातामा तलब जम्मा भएको प्रमाणसहितको स्टेटमेन्ट पनि बैंकहरुले अनिवार्य गरेका छन् । 

गैह्रआवासीय नेपालीहरुले घरजग्गा कर्जा लिन नेपाली नागरिकता वा पासपोर्टको सक्कल प्रति बैंकमा पेश गर्नुपर्छ । नेपाली नागरिकता त्यागिसकेका र विदेशमा अवैधानिक भएर लुकेर बसेकाहरुले भने ऋण पाउँदैनन् । 

विदेशको आम्दानीले नपुगे विकल्प के ?

घरजग्गा कर्जा लिनका लागि विदेशको आम्दानी देखाउँदा आम्दानी अनुसारको ऋणले नपुग्ने अवस्था आए नेपालका बैंकहरुले विकल्प पनि दिएका छन् । नेपालमै रोजगारी वा उद्यम व्यवसाय गरिरहेका परिवारका सदस्यहरुको आम्दानी जोडेर पनि घरकर्जा पाउन सकिने प्रवन्ध मिलाईएको छ । यसरी कर्जा लिँदा नेपालमा भएका परिवारका सदस्यलाई जमानी राख्नुपर्छ । 

के के चाहिन्छन् कागजात ?

ऋण लिने व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने प्रावधानका अलवा बैंकहरुले केही कागजात अनिवार्य गरेका छन् । 

कर्जा लिने व्यक्तिको नागरिकता वा पासपोर्ट

पासपोर्ट साइजको फोटो

भिसा लागेको पासपोर्टको प्रमाण

तलब सम्झौताको कागजात 

विदेशमा तलब राखिने बैंकको स्टेटमेन्ट 

विदेशबाट नेपालमा पैसा पठाएको कागजात

ऋण लिने व्यक्ति तथा व्यक्तिगत जमानत दिने व्यक्तिको आयस्रोतको विवरण

बैंकबाट कर्जा लिन राखिने धितोको चार किल्ला प्रमाणित भएको लालपुर्जा

सम्पत्तिको बाटो खुल्ने कागजात

कर तिरेको रसिद 

धितो बन्धक राखिने सम्पत्तिमा घर भएमा घर निमार्णका लागि लिएको इजाजतपत्र

घरको नक्सापास र निर्माण सम्पन्न भएको प्रमाणपत्र

जमानी बस्नेले बुझाउनपर्ने कागजातः

व्यक्तिगत सम्पत्ति र दायित्व विवरण 

नागरिकता वा पासपोर्ट

बसोबास स्थान

जमानी बस्ने व्यक्तिले काम गर्ने ठाउँको ठेगाना र विवरण (उद्यमी भए सोही अनुसार)

कर चुक्ता प्रमाणपत्र

बैंक स्टेटमेन्ट

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved