किन हुन्छ सामाजिक सञ्जालबाट साइबर आक्रमण ? यस्ता छन् जोगिने टिप्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2023 | 12:18:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सञ्जाल फेसबुक इन्स्टाग्राममार्फत बालिका र युवतीलाई साथी बनाई प्रलोभन र त्रासमा पारेर भिडियो बनाई चरित्र हत्या गर्ने कार्य गरेकाले केही अघि काठमाडौँको भोटेबहाल बस्ने २० वर्षका लव खड्गी पक्राउ परे । साथीभाई अनलाइन टिभीले पनि अश्लिलता फैलाउने गरी भिडियो बनाइ सामाजिक सञ्जालमा राख्यो । उक्त युट्युव चलाउने बाग्लुङका रामबहादुर मल्ललाई केही महिना अघि प्रहरीको साइबर व्यूरोले पक्राउ गर्यो । 

यस्ता घटना नेपालमा दैनिक जसो हुने गरेको छ । सूचना र प्रविधिको विकाससँगै यसको प्रयोग बढ्दा दुरुपयोग र आक्रमण पनि बढिरहेको छ । सामाजिक सञ्जाल अहिले मानिसको जीवनको अभिन्न अङ्ग जस्तै भएको छ । प्रयोगकर्ताहरुले फेसबुक, इन्स्टाग्राम, ट्विटर जस्ता अन्य धेरै प्लेटफर्मको प्रयोग गर्दछन् । यस्ता सञ्जाल साथी र परिवारसँग सम्पर्कमा रहन, नवीनतम समाचार र संसारसँग जोडिनका लागि प्रयोग गरिन्छ । 

व्यवसायीले ग्राहकलाई उनीहरूको नवीनतम उत्पादन प्रस्तावहरू र घटनाहरूका बारेमा जानकारी राख्न, मार्केटिङको लागि र नयाँ व्यवसायलाई आकर्षित गर्न सामाजिक सञ्जालको प्रयोग गर्ने गर्दछन् । 

यसका फाइदाहरु धेरै छन् तर सँगसँगै धेरै बेफाइदा पनि देखिंदै आएको छ । दुरुपयोग बढ्दो छ । सामाजिक सञ्जालमार्फ चिनजान भएर विभिन्न प्रलोभनमा परी मानिसहरु बेचबिखनमा परेका छन् भने अपहरण लगायत विभिन्न गतिविधि र आपराधिक समुहको चङुलमा परिरहेका नेपाल प्रहरीले बताएको छ । 

जसमध्ये साइबर आक्रमण पनि एक हो । नेपालमा पछिल्लो समय साइबर आक्रमण बढ्दै गएको छ । इन्टरनेटको प्रयोगकर्ता बढ्दै जाँदा र इन्टरनेटमा आफ्नो सम्पूर्ण जानकारी राख्ने प्रवृतिले गर्दा साइबर आक्रमण बढ्दै गएको देखिन्छ । 

पछिल्ला साइबर आक्रमणको घटना हेर्ने हो भने सामाजिक सञ्जालमा विभिन्न तरिकाले अपनाइएको देखिन्छ । सामाजिक सञ्जालको प्रयोगकर्ताले आफ्नो सम्पूर्ण दैनिकी र गतिविधि सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने प्रवृतिले साइबर आक्रमण गर्ने व्यक्तिलाई झनै प्रोत्सान गरेको पाइन्छ । 

सामाजिक सञ्जाल यस्तो क्षेत्र हो, जहाँ प्रयोगकर्ताले आफ्नो सम्पूर्ण जानकारीहरु इमेल, फोन, आफु काम गर्ने ठाउँ, आफ्नो ठेगाना इत्यादि मात्र नभएर आफू कहाँ जादैछु, के गर्दैछु जस्ता सम्पूर्ण जानकारी राख्ने गर्दछन् । जसको फाइदा उठाएर प्रयोगकर्ताको सम्पूर्ण जानकारी चोरी हुने र उपकरणहरु ह्याक हुने गर्दछ ।

विशेषगरी महिलाहरूले साइबर आक्रमणको सामना गर्नु परिरहेको छ । फोटो म्युटिलेसन, गाली बेइज्जती, अश्लिल भिडियो सम्प्रेषण हुनेलगायतका आक्रमणमा महिलाहरु पर्ने गर्दछन् । पुरुषहरु पनि नपरेका भने होइनन् । विशेष गरेर १८ वर्ष मुनिका बालबालिकाहरु साइबर अपराधको सिकार भएका छन् ।

सामाजिक सञ्जालबाट हुने साइबर आक्रमणबाट कसरी जोगिने ? 

१.छुट्टाछुट्टै सामाजिक सञ्जाल (जस्तैः फेसबुक, ट्वीटर,इन्स्टाग्राम) को आफ्नो खाताको लागि छुट्टाछुट्टै तथा बलियो पासवर्ड राख्ने ।

२.सामाजिक सञ्जालको आफ्नो डिजिटल खातालाई सुरक्षित राख्न बहुप्रकार प्रमाणिकरण (2 factor authentication) प्रणालीको प्रयोग गर्ने जस्तै (दोहोरो प्रमाणिकरण प्रणाली, मोबाइल नम्बर, ओटिपी, फिङ्गर प्रिन्ट इत्यादि) को प्रयोग गर्ने ।

३. सकेसम्म सामाजिक सञ्जालको प्रयोग गर्दा आफ्नो उपकरणहरु (मोबाइल, ल्यापटप, कम्प्युटर, ट्यावलेट)को प्रयोग गर्ने र आफ्नो व्यक्तिगत डिभाइसहरु (ल्यापटप, मोबाइल आदि) लाई पासवर्ड, प्याट्रन, फिङ्गर प्रिन्ट वा बायोमेट्रिकबाट लक गर्ने ।

 ४. सामाजिक सञ्जालको प्रयोग गरिने उपकरण (मोबाइल, ट्यावलेट आदि हराउँदा सामाजिक सञ्जालको खाताको पासवर्ड तुरुन्तै परिवर्तन गर्ने । प्रत्येक सामाजिक संजालमा गोपनियता सेटिङ्गको सुविधा हुने भएकाले त्यसको प्रयोग गर्ने ।

५.सकेसम्म आफ्नो व्यक्तिगत विवरण जस्तैः घरको ठेगाना ,मोबाइल नम्बर इत्यादि सामाजिक सञ्जालमा नराख्ने ।

६.सामाजिक सञ्जालमा आफ्ना व्यक्तिगत संवेदनशील फोटो, खाता र पासवर्ड बैंकको क्रेडिट कार्ड नम्बर, पिन कोड, नागरिकता नम्बरलगायतका व्यक्तिगत जानकारी सामाजिक सञ्जालमा प्रयोग नगर्ने ।

७. कुनै पनि सन्देश, फोटो पोष्ट गर्दा सचेत रहने । (जस्तैः आफू कहाँ जाँदैछु के गर्दैछु, कोसँग छु जस्ता विवरणको अरुले गलत फाइदा लिन सक्छन् ।)

८.फोटो पोष्ट गर्न कसैले दबाब दिन्छ भने अस्वीकार गर्ने । आवश्यक परेको खण्डमा सामाजिक सञ्जालमा भएका नराम्रा साथीहरू (असहज क्रियाकलापहरु देखाउने) लाई ब्लक वा साथीको सूचीबाट हटाउने ।

९.सामाजिक सञ्जालमा साथीहरुले पोस्ट गरेको लिङ्क तथा विवरणलाई सही पहिचानगरेर मात्र खोल्ने गरौ । उक्त लिक तथा विवरण शङ्कास्पद लागेमा नखोल्ने ।

१०.सामाजिक सञ्जालमार्फत प्राप्त हुने पुरस्कार, उपहार, चिट्ठालगायत विभिन्न प्रलोभन  देखाएर पठाइएको वा डर धम्की दिइ पठाइएको संदेश, फोन कललगायतलाई जवाफ नदिने ।

११.सामाजिक सञ्जालको प्रयोग गर्दा यौन दुव्येवहारसँग सम्बन्धित असहज गतिविधिको महसुस गरेको खण्डमा अथवा घटना घटेको खण्डमा प्रमाण सङ्कलन गरी प्रहरीमा उजुरी दिने।

१२. आफ्नो पासवर्डहरु गुगल क्रोम लगायतका ब्राउजरमा कहिल्यै पनि सेभ नगर्ने । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved