किन पड्किन्छन् मोबाइलका ब्याट्री, के छन् जोगाउने उपाय ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2023 | 05:22:07 PM मा प्रकाशित

laxmi  sunrise bank

हामीले प्रयोग गर्ने इलेक्ट्रोनिक उपकरण मोबाइलमा ब्याट्रीको प्रयोग गरिएको हुन्छ । जसमा प्राय लिथियम आयन ब्याट्रीको जडान गरिएको हुन्छ । ब्याट्रीलाई अत्याधिक चार्ज हुनबाट रोक्न तथा सर्ट सर्किट हुनबाट बचाउन एउटा छुट्टै सर्किट पनि हुन्छ । उक्त सर्किट बिग्रिएमा ब्याट्री सामान्य समयको भन्दा तातो हुने गर्दछ । जसलाई थर्मल रनअवे भनिन्छ । थर्मल रनअवे एउटा रासायनिक प्रक्रिया हो, जुन प्रक्रियामा ब्याट्री धेरै तात्छ र त्यसमा थप अरु प्रतिक्रिया हुँदा ब्याट्री पड्किन्छ ।

विज्ञहरूका अनुसार लिथियम आयन ब्याट्रीको थर्मल रनअवे तापक्रम फरक हुन सक्छ, तर यो सामान्यतया ६०/७० डिग्री सेल्सियसमा सुरु हुन्छ र केही सेकेन्डमा धेरै सय डिग्री सेल्सियससम्म पुग्न सक्छ। थर्मल रनअवे हुने सटिक तापक्रम विभिन्न कारणहरुमा निर्भर हुने गर्दछ । जस्तै प्रयोग गरिएको इलेक्ट्रोलाइटको प्रकार, ब्याट्रीको डिजाइन र यो सञ्चालन भइरहेको अवस्था आदि ।

सामान्य ठाउँको  तापक्रममा यो स्थिति उत्पन्न हुँदैन । ब्याट्रीमा खराबी छ भने मात्र यो सम्भव छ । अहिले ब्याट्री उत्पादक कम्पनीबीच ब्याट्रीको चार्ज गर्ने समय घटाउने र चार्ज लामो समयसम्म धान्ने क्षमता बनाउने (फास्ट चार्जिङ) जस्ता प्रतिस्पर्धाका कारणसमेत ब्याट्री पड्कन थालेका हुन् । बजारमा पाइने गुणस्तरहिन ब्याट्रीका कारण पनि यो समस्या आएको हो ।

ब्याट्री पड्कने खतराबाट बच्न के गर्ने ?

१. गुणस्तरयुक्त तथा सक्कली  कम्पनीको ब्याट्री मात्र प्रयोग गर्ने  ।

२. मोबाइललाई चार्जमा राखेर प्रयोग नगर्ने ।

३. ब्याट्रीलाई धातुको नजिक कहिल्यै नराख्ने,  यस्ता चीजले विद्युतीय कनेक्सन बिगारी ब्याट्री पड्कने सम्भावना हुन्छ ।

४. ब्याट्रीलाई कहिल्यै पनि थिच्नु, कुच्याउनु, प्वाल पार्नु वा धेरै प्रेसर दिनु इत्यादी काम गर्नु हुँदैन, यसले ब्याट्री पड्कने सम्भावना हुन्छ ।

५. फोन पानीमा खसेमा ब्याट्री निकालेर सुख्खा भएपछि मात्र प्रयोग गर्ने।

६. आगो, ग्यास नजिक वा यस्तै उच्च तापक्रम हुने ठाउँमा मोबाइल नराख्ने  ।

७. राति सुत्दा कहिल्यै पनि सिरानी तल मोबाइल राखेर नसुत्ने  ।

८. फोनलाई कडा सतहमा खस्नबाट बचाउने  ।

९.मोबाइल र ब्याट्रीमा केही समस्या आएमा आफैँ खोल्ने वा बनाउने प्रयास नगर्ने ।  

१०. समस्या आएमा भरपर्दो मर्मत केन्द्र (सर्भिस सेन्टर)मा लगेर देखाउने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved