छेवैको अन्तराष्ट्रिय एयरपोर्ट सुनसान, तर पोखरालाई पर्यटन राजधानीको पगरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2024 | 10:57:09 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार तामझामका साथ पोखरालाई मुलुकको ‘पर्यटन राजधानी’ घोषणा गरियो । घोषणा गरे पनि नगरे पनि पोखरा नेपालको एक नम्बर पर्यटकीय गन्तव्य हो, यसमा दुइमत छैन । पोखरालाई पर्यटन राजधानीको पगरी नगुथाउँदा पनि पोखरा नेपालको पर्यटन राजधानी हो । तर, प्रधानमन्त्रीबाटै पोखरालाई पर्यटन राजधानी घोषणा हुँदा आडैको पोखरा अन्तराष्ट्रिय विमानस्थल भने सुनसान थियो ।

मुलुकको पर्यटन राजधानीमा अवस्थित अन्तराष्ट्रिय विमानस्थलमा विदेशी एयरलाइन्सको द्रुत उडान र विदेशी पर्यटकको खचाखच भिड देखिनुपर्ने हो । तर, पोखरा अन्तराष्ट्रिय विमानस्थल सुनसान रहँदै आएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर गत वर्षको पौष १७ मा उद्घाटन गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हालसम्म जम्मा ७ वटा मात्रै उडान भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार अहिलेसम्म पोखरा अन्तराष्ट्रिय विमानस्थलमा २ कार्गोसहित अन्तराष्ट्रिय जहाजबाट ७ वटा उडान भएका छन् । गत वर्ष पुस १७ गते प्रधानमन्त्री दाहालले नै उद्घाटन गरेको यो विमानस्थलमा उद्घाटनका दिन हिमालयन एयरलायन्सको जहाजले परीक्षण उडान गरेको थियो । यसैलाई यो विमानस्थलमा भएको पहिलो अन्तराष्ट्रिय उडानका रूपमा लिने गरिन्छ ।

त्यसपछि २०८० साल असार ६ गते चीनको छेन्दुबाट सिचुवान एयरलायन्सको चार्टर्ड विमान पोखरा एयरपोर्टमा अवतरण ग¥यो । २०८० भदौ २३ मा भुटानको ड्रुक एयर पोखरामा आयो । २०८० कात्तिक २२ गते जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेको चिनियाँ २ जहाज पोखरा ओर्लिए । 

यसरी भएका केही उडानमार्फत २१५ जना यात्रु पोखरा ओर्लेका छन् भने ८१ जना यात्रु फर्केका छन् । उद्घाटन भएको १ वर्ष बितिसक्दा पनि पोखरा एयरपोर्ट सञ्चालनमा आउन सकेको छैन । पोखरा एयरपोर्टलाई पूर्ण क्षमतामा चलाउने पहल गर्नुको सट्टा काठमाडौँ आएर गाडी र आन्तरिक उडानमार्फत पोखरा पुगेका पर्यटकलाई हेरेर पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको छ । 

आडैको अन्तराष्ट्रिय विमानस्थलले गिज्याउने गरि पोखरालाई पर्यटन राजधानी घोषणा गरिनुले बिना योजनाको प्रतिफल केही पनि हात नपर्ने कार्यक्रम भएको पोखरेलीहरु नै बताउँछन् । पोखराका पर्यटन व्यवसायीहरुले हिजो पनि पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडान हुने वातावरण मिलाउन माग गरेका छन् ।

चिनियाँ ऋणमा बनेको पोखरा विमानस्थलमा अन्तराष्ट्रिय उडान नहुँदा विमानस्थल सञ्चालनमा आउँछ भन्ने आशामा अर्बौ लगानी गरेका पर्यटन व्यवसायीहरु चिन्तित बन्न थालेका छन् । अब पर्यटन राजधानी घोषणा भएपछि केही व्यवसायहरु रातभरी सञ्चालन हुने भए पनि नाँचगान जस्ता रमाइलोमा विदेशी पर्यटकले खासै ध्यान नदिने नहुँदा यसले आन्तरिक घुमन्तेहरुलाई सहज हुने विश्वास गरिएको छ ।

‘विदेशी पर्यटकलाई रातभरी नयाँ नयाँ ठाउँ देखाउने, उनीहरुलाई प्रकृतिसँग रातको समयमा साक्षात्कार गराउने खालका प्रोडक्टहरु चाहिन्छ, हामीसँग त्यस्ता प्रोडक्ट छैनन्’ एक जना पोखरेली पर्यटन व्यवसायी भन्छन्, ‘पर्यटन राजधानी घोषणा हुन हाम्रा लागि राम्रो कुरा हो । तर, डान्सबार र डिस्कोमा विदेशी पर्यटक खासै जाँदैनन्, त्यहाँ जाने भनेका पोखरा घुम्न आउने आन्तरिक पर्यटकहरु हुन् । यसले पनि केहीहदसम्म चलायमान चाहिँ गराउला, तर मुख्य कुरा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित उडान नभएसम्म पर्यटन राजधानी घोषणाले मात्रै ठूलो प्रभाव केही पर्नेवाला छैन ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved