प्रचण्ड–माधब जुलुसः काठमाडौँका यी स्थानमा हुँदैछ जाम, यस्तो छ बैकल्पिक रुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 09:57:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा (प्रचण्ड–माधव) समूहले शुक्रबार आज बिहान ११ बजे काठमाडौं र ललितपुरमा शक्ति प्रदर्शन गर्दैछ । नेकपाले विभिन्न ९ स्थानबाट ११ बजे एकसाथ जुलुस निकाल्ने र १० बजे नै सम्बन्धित स्थानमा जम्मा भइसक्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन नै दिएको छ । 

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका आदि क्षेत्रबाट जुलुस निस्कने छन् । 

माइतीघरको जुलुसमा गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल र पेशल खतिवडालगायत नेताहरु सहभागी हुने छन् । डिल्लीबजार चारखालबाट निस्कने जुलुसको नेतृत्व भने वर्षमान पुन र वेदुराम भुसालले गर्नेछन् । लैनचौरबाट सुरु हुने जुलुसको नेतृत्व भीम रावल र शक्तिबहादुर बस्नेत लगायत नेताहरुले गर्नेछन् । 

त्रिपुरेश्वरबाट रत्नपार्क तर्फ जाने जुलसको कमाण्ड देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेले सम्हाल्नेछन् । कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त लगायत नेताहरु रहनेछन् ।

प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा रहने छन् । शान्तिवाटीकाबाट सुरु हुने मजदुरहरुको जुलुसको नेतृत्व भने नारायणकाजी श्रेष्ठ र योगेश भट्टराईले गर्ने छन् । त्रिचन्द्र कलेज अगाडिबाट निस्किने जुलुसको नेतृत्व देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले गर्नेछन् । वाल्मीकि क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने लगायत नेताहरु रहने छन् । 

९ स्थानबाट आउने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ । उक्त मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने छ ।

यस्तो छ बैकल्पिक रुट

जुलस अवधि भर आज काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन झन्झटिलो हुने देखिएको छ । नयाँ बसपार्कबाट लैनचौर, जमल हुँदै सहीदगेट, रत्नपार्क र त्रिपुरेश्वर हुँदै कालिमाटी वा लगनखेल जाने बसहरुलाई पुतलीसडक हुँदै माइतीघर निस्कने व्यवस्था मिलाईएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए । काठमाडौँको पूरानो बसपार्क आउने बसहरुलाई पनि लैनचौर बाट पुतलीसडक हुँदै भित्रिने व्यवस्था मिलाईएको छ ।

पैदलयात्रीहरुलाई समस्या सिर्जना हुन नदिन र सकेसम्म ट्राफिक जाम कम हुने गरी व्यवस्थापन गर्न आफूहरु लागी परेको प्रवक्ता अधिकारीको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved