मोदीको नेपाल भ्रमणमा ठूलै आर्थिक प्याकेज घोषणाको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2022 | 11:05:01 AM मा प्रकाशित

laxmi  sunrise bank

वैशाख ३० गतेको स्थानीय निर्वाचन सम्पन्न भएलगत्तै तय भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर चासो र चर्चा चलेको छ । विगतमा पटक-पटक चिसिएको नेपाल-भारत सम्बन्धलाई कूटनीतिक र आर्थिक रूपमा पुनर्जीवन दिन हिसाबले अहिलेको भ्रमण तय सरकारी अधिकारीहरू बताउँछन् ।

निर्वाचन लगत्तै भारतबाट उच्चस्तरीय भ्रमण गराएर नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वलाई नेपालको लोकतन्त्र सहज अवस्थामा रहेको सन्देश दिन चाहन्छन् । महाभूकम्पलगत्तैको नाकाबन्दी, लिपुलेक लिम्पियाधुरामा भारतले बनाएको बाटो र अन्य सानाठूला हस्तक्षेपका कारण मोदीप्रति अधिकांश नेपालीहरूको चित्त दुखाइ रहेको छ । यही चित्त दुखाइलाई कम गर्ने अस्त्रका रूपमा मोदीले बुद्ध जयन्तीकै दिन जेठ ३ गते नेपाल भ्रमणको मिति तय गरेका हुन् ।

बुद्ध जयन्तीकै दिन लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित कार्यक्रममा सहभागी हुने उनको कार्यतालिका रहेको छ । उनलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले महाविद्यावारिधि (डक्टर अफ लेटर)को उपाधि दिने भएको छ ।

गौतम बुद्धको जन्मस्थलका बारेमा पटक-पटक विवाद हुने गरेको परिप्रेक्षमा मोदीको लुम्बिनी भ्रमणले त्यसलाई कम गर्ने विश्वास सरकारको छ । मोदीले लुम्बिनी भ्रमण गरेपछि बुद्धको जन्मस्थल नेपाल रहेको तथ्य थप संस्थागत हुनेछ ।

मोदीले अन्य देशहरूको भ्रमणमा भारत बुद्धभूमि भएको बताउने गर्छन् । उनको त्यो अभिव्यक्ति नेपालमा विवादित हुने गर्थ्यो । लुम्बिनी भ्रमण उक्त विवाद सल्ट्याउने मोदीको प्रयास पनि हो ।

दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका मोदीले गर्ने यो पाचौं नेपाल भ्रमण हो । यसअघि पहिलोपटक साउन १८, २०७१ मा मोदी नेपाल आएका थिए । त्यसपछि २०७१ सालकै मङ्सिर १० मा उनको दोस्रो नेपाल भ्रमण भयो । दोस्रोपटक उनी सार्क शिखर सम्मेलनका लागि नेपाल आएका थिए ।

२०७५ को वैशाख २८ गते तेस्रो भ्रमण गरेका मोदी जनकपुरधाम र मुक्तिनाथ गएका थिए । २०७५ सालकै भदौ १४ मा उनी बिमस्टेक सम्मेलनका लागि काठमाडौँ आएका थिए । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले गत चैत १८ गते तीन दिनका लागि गरेको भारत भ्रमणका क्रममा मोदीलाई निम्तो दिएका थिए ।

यो समाचार टिप्पणी लेख्दासम्म परराष्ट्र मन्त्रालयले मोदीको नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छैन । प्रवक्ता सेवा लम्सालले कार्यतालिकाका विषयमा भारतीय पक्षसँग कुरा भइरहेको बताइन् ।

'हामीले मात्र सार्वजनिक गरेर हुने होइन, संयुक्त रूपमा उता र यता एकैचोटी हुने हो,' लम्सालले भनिन् । उनले कूटनीतिक विषय रहेकाले भ्रमणमा के कस्ता सम्झौता हुन्छन् भन्ने अहिल्यै भन्न नसक्ने बताइन् ।

लुम्बिनीको पूर्वाधार विकासका लागि मोदीले ठूलै आर्थिक प्याकेज घोषणा गर्न सक्ने सरकारी स्रोतको दाबी छ । 'उताबाट लुम्बिनीको पूर्वाधार विकासमा आर्थिक प्याकेज घोषणा हुन सक्ने सूचना आएको छ,' बालुवाटार स्रोतले भन्यो ।

कांग्रेस नेता रामहरी खतिवडा पनि मोदीले अनुदान घोषणा गर्न सक्ने बताउँछन् । 'मोदी चतुर राजनीतिक खेलाडी हुन्,' खतिवडाले बिजपाटीसँग भने, 'यसअघि उनले भारतलाई बुद्धभूमिका रूपमा प्रचार गरेका थिए, तर त्यसले नेपालसँगको सम्बन्धमा दरार आएको मोदीको बुझाइ छ । अहिले बुद्ध जयन्तीकै दिन लुम्बिनी आएर उनले पूर्वाधार विकासका लागि कुनै न कुनै आर्थिक प्याकेज घोषणा गरेर आफूलाई चोख्याउन चाहन्छन् ।'

नेता खतिवडाले मोदीको लुम्बिनी भ्रमणले नेपालको पर्यटन बढ्ने दाबी गरे । 'मोदीको भ्रमणले लुम्बिनीको विश्वव्यापीकरणमा सहयोग पुग्छ र यसले पर्यटन क्षेत्रलाई सकारात्मक प्रभाव पार्छ,' खतिवडाको भनाइ छ ।

नेपालका लागि भारतका पूर्व राजदूत दीपकुमार उपाध्यायले मोदीको लुम्बिनी भ्रमणले दुई देशबीचको तनाव शिथिलीकारण गर्ने बताए । 'सधैं तनाव गरेर केही हुँदैन,' उपाध्यायले बिजपाटीसँग भने, 'यसअघि देखिएका विभिन्न समस्याहरू समाधान गर्न मोदी आफैं अग्रसर भएका छन् । सम्बन्ध व्यवस्थापनमा मोदी सिपालु छन् । उनको भ्रमणबाट हामी पनि उत्साहित हुनुपर्छ ।'

उच्चस्तरीय वार्ताका लागि सोही दिन प्रधानमन्त्री देउवा काठमाडौँबाट लुम्बिनी जाने कार्यक्रम रहेको छ । स्रोतका अनुसार वार्तामा निजी क्षेत्रका शीर्ष उद्योगी र व्यवसायी पनि सहभागी हुनेछन् । मोदीले लुम्बिनीमा ६ घण्टा बिताएर स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र स्रोतको भनाइ छ ।

उनी भारतको सीमावर्ती सहरबाट लुम्बिनी आउन लागेका हुन् । सरकारले काठमाडौं आएर लुम्बिनी जाने प्रस्ताव गरेको थियो । भारतको तर्फबाट समय कम भएकाले काठमाडौं अवतरण नगर्ने बताएपछि उनी सिधै लुम्बिनी आउने कार्यक्रम तय भएको हो । लुम्बिनीमा मोदी आधा दर्जन कार्यक्रममा सहभागी हुनेछन् ।


यो पनि : नेपाल आउन लागेका मोदीले पाउने भए 'डाक्टर' को उपाधि


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved