
 2mb (1).gif)
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले सांसद विकास कोष ब्युँतिएको प्रति सांसदहरुलाई टिप्पणी गरेका छन्। बजेट मार्फत सांसद विकास कोष ब्युँतिएपछि बालेनले बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका हुन्।
उनले वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बनेको भन्दै सांसदहरुलाई प्रश्न गरेका छन्। उनले भनेका छन् 'सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।'
अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै संघीय सांसदको निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम ब्युँत्याएका हुन्। प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड रुपैयाँ विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा राखिएको छ।
'निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकताहरू जनप्रतिनिधिसमार्फत संबोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छु,' बजेटमा भनिएको छ । यस कार्यक्रम अन्तर्गत न्यूनतम १ करोडको आयोजना बनाउनुपर्ने मन्त्रीको भनाइ थियो । त्यस्ता आयोजनामा सडक, सिंचाइ, खानेपानी, शिक्षा, खेलकुद लगायतका आयोजना हुनुपर्ने व्यवस्था गरिएको अर्थमन्त्रीले बताए ।