
विशेष अदालतले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका संचालक मिन बहादुर गुरुडलाई दोषी ठहर गरेको छ । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा उनलाई दोषी ठहर गरेको हो ।
अदालतले उनलाई दुई वर्ष कैद सजाय हुने फैसला सुनाएको छ। साथै बिगोबमोजिम ८० लाख ४८ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको छ। साथै उनले लिएको जग्गा जफत हुने फैसला गरेको छ ।
अदालतले २ जना पूर्व सचिवहरुलाई पनि दोषी ठहर गरेको छ । अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई दोषी ठहर गरेको हो। अदालतले उनीहरुलाई नक्कली मोही खडा गरेकोले दोषी ठहर गरेको जनाएको छ । उनीहरुलाई दुई वर्ष कैद, ८० लाख जरिवाना र बिगो असुल गर्ने फैसला गरेको छ ।
विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला सुमाएको हो ।
अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । दोषी ठहर हुने अन्यमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेका छन् । २३ दिनपछिको लगातार सुनुवाइपछि अदालतले आज बिहिबार फैसला सुनाएको हो ।
ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना गरेको भन्दै अख्तियारले २०७६ माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यस मुद्दामा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्रीलाई विपक्षी बनाईएको छ । आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी पूर्व सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी सहित ११० जनालाई बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो।
पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले भने सफाई पाएका छन् ।