गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखलाई सोधे 'लघुवित्त पीडितहरु कसरी संसद भवन छिरे?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2024 | 10:20:30 AM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त पीडितहरु संसद भवन प्रवेश गरेको घटनाबारे गृह मन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । मन्त्री श्रेष्ठले सोमबार नै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर यसबारे सोधपुछ गरेका हुन् ।

गृहसचिव दिनेश भट्टराई, नेपाली प्रहरीका प्रमुख आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई बोलाएर गृहमन्त्रीले घटनाबारे सोधपुछ गरेका हुन्। उनले सुरक्षा निकायको कमजोरी कहाँ भयो भन्नेबारे सोधपुछ गरेका थिए।

यो घटनाले सुरक्षा निकायमाथि गम्भीर प्रश्न सिर्जना भएको भन्दै मन्त्री श्रेष्ठले आक्रोश व्यक्त गरेको र आगामी दिनमा यस प्रकारका गल्ती दोहोरिएमा सुरक्षा प्रमुखहरूलाई समेत कारबाही हुने चेतावनी दिएको स्रोतको दाबी छ।

यो घटना छानबिन गर्न नेपाल प्रहरीले छानबिन समिति बनाईसकेको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको हो । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् । समितिलाई  लघुवित्तका ऋणीहरु कसरी निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र प्रवेश गरे र कहाँ कहाँ कमजोरी रह्यो भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

सोमबार दिउँसो लघुवित्त पीडितहरु संसद भवन मै प्रवेश गरेर नाराबाजी गरेका थिए । प्रदर्शन गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved