एमाले रामेछापको अधिवेशनः अध्यक्षमा तामाङ र कँडेरियाको दाबी, कसको सम्भावना बलियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 01:31:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले रामेछापको ९औँ जिल्ला अधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । आगामी नेतृत्व चयन प्रक्रियाका लागि रामेछाप जिल्ला इन्चार्ज गणेश पहाडीको अध्यक्षताम ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ ।

यसअघि नेकपा एमाले रामेछापको अध्यक्षका लागि ४ जनाको नाम चर्चामा आएको भए पनि अहिले अन्तिम समयमा २ जनाबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमाले बागमती प्रदेश कमिटी सदस्य प्रेम तामाङ र जिल्ला सचिव पुरुषोत्तम कँडेरियाको बलियो दाबेदारी प्रस्तुत भएको छ । 

तामाङलाई पार्टीका केन्द्रीय नेताहरु कमल चौलागाईँ, माधब ढुङ्गेल र गीता कार्कीको समर्थन देखिएको छ । तामाङ कार्यकर्ता माझ खास लोकप्रीय नभए पनि केन्द्रीय नेताको समर्थन लिएर अध्यक्ष बन्ने तयारी गरिरहेको बताइन्छ ।

उता, कँडेरियालाई भने कैलाश ढुङ्गेलकै समर्थन देखिएको छ । उनी एमाले बागमती प्रदेशका अध्यक्ष पनि हुन् । यद्यपी, कैलाशले मुखै खोलेर सार्वजनिक रुपमा समर्थन जनाइसकेका छैनन् । तर, उनले कँडेरियालाई नै भावी नेतृत्वका रुपमा मौन समर्थन जनाएको बुझिएको छ । साथै, रामेछाप एमालेमा मात्रै नभई आम जनता र कार्यकर्तामा लोकप्रीय छवि बनाएका रत्न गौतमले पनि कँडेरियालाई भावी अध्यक्षका रुपमा समर्थन जनाएका छन् । 

कार्यकर्तामा लोकप्रीय रहेका हालका जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठको पनि कँडेरियालाई नै उत्तराधिकारीका रुपमा प्रस्तुत गरेका छन् । त्यसो त, कँडेरिया आफैँ पनि भूगोल र जनसंगठन सबैतिर लोकप्रीय छन् । काविल प्रस्तुतिकरण र ‘प्रष्ट वाक कला’का कारण युवा पङ्तिसहित समग्र पार्टी जीवनमै उनको लोकप्रीयता बढी रहेको एमाले रामेछापका नेता कार्यकर्ताहरु बताउँछन् । 

उता, प्रेम तामाङ भने गत निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका थिए । खाँडादेवी गाउँपालिकाका पूर्व अध्यक्षसमेत तामाङ नेकपा एसमा प्रवेश गरे लगत्तै एमालेका नेताहरुको सक्रियताले मूल घरमै फर्किएका हुन् । 

तर, कँडेरिया भने पार्टी विभाजनका बेला र तत्कालिन नेकपाभित्र आन्तरिक संघर्ष चलेका बेलासमेत एमालेको सचिव भएर संगठन निर्माणमा केन्द्रित भएका थिए । ‘अधिवेशनमा यो कुराको पनि कहीँ न कहीँ मूल्यांकन त भइ नै हाल्छ, पुरुषोत्तमका यस्ता सकारात्मक कुरा धेरै छन्’ रामेछाप एमालेका एक जना प्रतिनिधि भन्छन्, ‘निर्वाचनमा जाँदा कँडेरियाले प्रेम दाइलाई दोब्बर मतले जितिदिन्छन् ।’ 

नेकपा एमाले रामेछापको आगामी नेतृत्व छनोट गर्न भूगोल, जनसंगठन र मनोनितबाट गरि ७ सय प्रतिनिधि चयन भएका छन् । उमाकुण्ड गाउँपालिकाबाट ४८ जना, गोकुलगंगा गाउँपालिकाबाट ५७ जना, लिखुतामाकोसी गाउँपालिकाबाट ६६ जना, मन्थली नगरपालिकाबाट १३५ जना, रामेछाप नगरपालिकाबाट ५६ जना, खाँडादेवी गाउँपालिकाबाट ९३ जना, दोरम्वा शैलुङ्ग गाउँपालिकाबाट ७३ जना, सुनापति गाउँपालिका ४३ जना प्रतिनिधि छन् । जनसङ्गठनबाट ५२ जना, जिल्ला सल्लाकारबाट २५ जना, विभागबाट १६ जना, जिल्ला कार्यालयबाट ३ जना र ५ प्रतिशत मनोनितमा ३३ जना प्रतिनिधि छनोट भएका छन् ।

यस आधारमा कुन पालिका र जनसंगठनमा कसको पकड छ भन्ने कुराले पनि अर्थ राख्ने बताइन्छ । तामाङलाई खाँडादेवी गाउँपालिका भित्रैबाट सार्वजनिक समर्थन सुनिएको छैन । उता, कँडेरियालाई भने उनकै साथ लागेर चुनाव उठ्ने तयारी गरिरहेका विभिन्न पालिकामा पकड भएका नेताहरुले सार्वजनिक रुपमै समर्थन गरिसकेका छन् ।

भूगोलसहित सबैजसो जनवर्गीय संगठनबाट चयन भएका प्रतिनिधिहरुले कँडेरिया नै एमाले रामेछापको भावी अध्यक्ष हुने पक्कापक्की जस्तै भइसकेको बताउन थालिसकेका छन् । कार्यकर्ताहरुका अनुसार ७ सय प्रतिनिधिमध्ये ५५० बढी प्रतिनिधिको समर्थन कँडेरियालाई छ ।

कँडेरिया स्वयम् पनि सकेसम्म पार्टीका नेताहरु बसेर सर्वसम्मत रुपमा नै नेतृत्व चयन होस् भन्ने आफ्नो चाहना रहेको बताउँछन् । ‘नेताहरुले प्रतिनिधि र आम कार्यकर्ताको भावना बुझ्नुहुन्छ भन्ने विश्वास मैले लिएको छु’, कँडेरियाले भने, ‘यदि सहमति हुन नसक्दा लोकतान्त्रिक विधिमार्फत नेतृत्व चयन गर्ने विकल्प छँदैछ, चुनाव भएको खण्डमा ५५० भन्दा बढी मत मेरो पक्षमा आउँछ भन्नेमा विश्वस्त छु ।’

उनलाई समर्थन गरेका नेताहरुमा जिल्ला कमिटीमा रहेर काम गरिसकेका नेताहरु पनि भएकाले कँडेरियाको विश्वास र प्रतिनिधिहरुको अनुमान करिब करिब एउटै देखिएको मन्थलीमा भेटिएका एक जना प्रतिनिधि बताउँछन् । उनका अनुसार जिल्लामा लोकप्रीय मानिने मिलन कुमार घिसिङ, होतराज ढकाल, मन्थली नगर अध्यक्ष रामबाबु घिमिरे, अखिलका पूर्व अध्यक्षसमेत रहेका एमाले गोकुलगंगा गाउँपालिका कमिटी अध्यक्ष दिपक कार्की, एमाले रामेछापकी नेतृहरु माया कार्की, दीपशिखा दाहाल र युवा नेता लवहरि बुढाथोकी कँडेरियाको पक्षमा उभिएका छन् ।

‘हामीले भूगोलमा कसले कति योगदान दिन सक्छ भन्ने कुरा हेर्नुपर्छ, पुरुषोत्तम हुँदा ठिक कि प्रेम तामाङ हुँदा ठिक भन्ने कुरा प्रतिनिधिहरुले राम्रोसँग बुझेका छन्, भोलि संगठन निर्माणका सन्दर्भमा, मास परिचालनका सन्दर्भमा, केन्द्रीय नेतृत्वलाई जिल्लाका सरोकार प्रष्टसँग राख्ने मामिलामा को अगाडी छ भन्ने कुराको पनि बोध हुन जरुरी छ’ मन्थलीको देवकोटा चोकमा भेटिएका एक जना अधिवेशन प्रतिनिधि भन्छन्, ‘मैले यति भनिसके पछि को योग्य को अयोग्य भनेर भनिराख्नु पर्दैन, कार्यकर्ताले आफ्नो विवेक आफैँ प्रयोग गर्नुहुन्छ । यहाँ कुनै केन्द्रीय नेताले फलानो उम्मेद्वारलाई भोट हाल, फलानोलाई नहाल भनेर केही हुनेवाला छैन । हामी आफ्नो नेतृत्व कस्तो हुनुपर्छ भनेर चुन्न आफैँ सक्षम छौँ । हामी सक्षम नेतृत्व चुन्छौँ ।’

साथै, अहिलेसम्म दूबै टिमले प्यानल भने बनाइसकेका छैनन् । कँडेरियाले भने भूगोल र समुदाय मिलाएर एमाले रामेछापमा समावेशी प्रतिनिधित्व गराउने प्रयासमा आफू रहेको बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved