राजनीतिक हिंसा लगभग नहुने जापानमा बन्दुक आक्रमणबाट सधैँका लागि ढले सिन्जो आबे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2022 | 05:47:11 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार जापानको नारा सहरमा पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भयो । गोली लागेपछि ढलेका आबेको अन्ततः निधन भयो ।

स्थानीय समयअनुसार बिहान ११ः३० बजेको समयमा जापानको दक्षिणपश्चिम नारा सहरमा आबेमाथि गोली हानिएको थियो । 

आइतबार हुने माथिल्लो सदनको चुनावमा आबेले आफ्नो लिबरल डेमोक्र्याटिक पार्टीका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेका थिए । ठिक त्यसै बेला आबेमाथि गोली हानिएको थियो । उनको घाँटी र छातीमा गोली लागेको अधिकारीहरूले बताएका छन् ।

आबेमाथि पछाडिबाट गोली प्रहार गरिएको थियो । गोली लागेपछि ढलेर बेहोस भएका उनलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँदासम्म उनका मुख्य अंगहरूले काम गर्न छाडिसकेका थिए । अन्ततः डाक्टरहरूले उनलाई मृत घोषणा गरे ।

आबेमाथि गोली प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले समातेर हिरासतमा राखेको छ।

यामागामी नारा सहरकै बासिन्दा भएको पाईएको छ । सन् २००२ देखि २००५ सम्म उनले जापानको म्यारिटाइम सेल्फ डिफेन्स फोर्समा काम गरेको बाहेक अन्य कुराहरु उनको बारेमा बाहिर ल्याईएको छैन । 

अधिकारीहरूका अनुसार आबेमाथि आक्रमण गर्न यामागामीले घरमै बनाएको हतियार प्रयोग गरेका थिए । 

जापानमा सर्वसाधारण नागरिकले बन्दुक राख्ने पालना गर्नुपर्ने कानुन अत्यन्त कडा छ । १३ वटा चरण पार गरेपछि मात्रै नागरिकले बन्दुक राख्न पाउँछन् । 

बन्दुक राख्न चाहनेले सुरूमा हन्टिङ क्लबमा भर्ना हुनुपर्छ । त्यसपछि बन्दुक चलाउने विषय पढ्नुपर्छ र लिखित परीक्षा उत्तीर्ण गर्नुपर्छ । 

त्यसपछिको चरणमा चिकित्सकहरुले मानसिक स्वास्थ्य ठिक भएको र दुर्व्यसनमा नफसेको प्रमाणित गर्नुपर्छ ।

बन्दुक कसरी राख्ने भन्ने बारे छुट्टै कोर्सको अध्ययन गर्नुपर्छ । बन्दुक राख्न चाहन्छु भनेर यी निवेदन दिएर यी चरण पार गरेपछि त्यहाँको प्रहरीले के प्रयोजनका लागि बन्दुक राख्न लागेको हो भनेर अन्तर्वार्ता लिन्छ । 

प्रहरीले नै सुक्ष्म रुपमा बन्दुक राख्न चाहने व्यक्तिको छिमेकीसँगको सम्बन्ध, पारिवारिक र आर्थिक अवस्था बारे गहिरिएर अध्ययन गर्छ । यी सबै चरण पारेपछि प्रहरीले नै बन्दुक राख्ने ठाउँको अनुमगन गर्छ । 

त्यसैले जापानको बन्दुक कानुन कडा मानिन्छ । दोस्रो विश्वयुद्धपछि शान्तिवादी संविधान अँगालेको जापानको अन्तराष्ट्रिय रुपमै शान्त देशका रुपमा चिनिन्थ्यो । जापानमा राजनीतिक हिंसा लगभग हुँदैनथिए । दोस्रो विश्वयुद्धमा पराजित भएपछि जापानले अमेरिकाले बनाईदिएको शान्तिवादी संविधान अँगाल्दै आएको छ ।

जापानमा यसअघि सन् १९९४ मा पूर्वप्रधानमन्त्री मोरीहिरो होसोकावामाथि एक होटलमा आक्रमण भएको थियो । तर उनलाई केही हुन पाएन । त्यसपछि शीर्ष नेतामाथि भएको आक्रमण नै यहीँ हो । 

आबे जापानमा बिरलै हुने राजनीतिक हिंसाको शिकार बने । 

सन् २००६ मा पहिलोपटक उनी जापानको प्रधानमन्त्री बनेका थिए । त्यतिबेला १ वर्षमै राजीनामा दिएका थिए । 

सन् २०१२ मा उनको पार्टीले बहुमत ल्यायो । आबे फेरि प्रधानमन्त्री बने । २०१२ मा प्रधानमन्त्री भएकाले उनले ८ वर्ष कार्यकाल सम्हाले । लगातार यति लामो अवधिसम्म जापानी प्रधानमन्त्री हुने उनी पहिलो व्यक्ति हुन् । कार्यकाल सकिन बाँकी छँदै आबेले सन् २०२० मा स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिए। 

सन् १९५७ देखि १९६० सम्म जापानका प्रधानमन्त्री बनेका आबेका हजुरबुवा किसी नोबुसुकेको पनि हत्या प्रयास भएको थियो । 

एजेन्सीहरुको सहयोगमा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved