अष्ट्रेलियाका मन्त्री नेपालमा, प्रधानमन्त्रीदेखि डा रुइतसँगको भेट कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2023 | 11:32:19 AM मा प्रकाशित

laxmi  sunrise bank

दुईदिने भ्रमणका लागि अष्ट्रेलियाली सहायक परराष्ट्रमन्त्री टिम वाट्स आज काठमाडौँ आउनुभएको छ । भ्रमणमा अष्ट्रेलियाको नेपालसँगको गहिरिँदो सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका अवसरहरुको बारेमा छलफल हुने जनाइएको छ । 

सहायक मन्त्री वाट्सले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्नेछन् । अष्ट्रेलियामा नेपालीको उपस्थिति बाक्लिँदै गएको छ । हाल करिब १ लाख ३० हजार नेपालीहरु अष्ट्रेलियामा बसोबास गरिरहेका छन् । 

                भ्रमण कार्यक्रमको मुख्य आकर्षणका रुपमा ईसं १३औँ शताब्दीको पाटनको सुलीम टोलस्थित रत्नेश्वर मन्दिरको टुँडाल समुदायलाई फिर्ता गर्न पाटन संग्राहालयमा आयोजना हुने कार्यक्रममा सहायक मन्त्री वाट्स सहभागी हुने छन् । आर्ट ग्यालरी न्यु साउथ वेल्सले यो महत्वपूर्ण कलाकृति नेपाललाई फिर्ता गरेको हो र उक्त संग्राहालयका निर्देशक डा माइकल ब्राण्डले उक्त टूँडाल हस्तान्तरण गर्नेछन् ।

काठमाडौँ विश्वविद्यालयमा सहायक मन्त्री वाट्सले उक्त विश्वविद्यालयको हाल अष्ट्रेलियाली संस्थाहरुसँग भइरहेको सहकार्य र खानी उत्खनन्, हरित हाइड्रोजन इन्धनसम्बन्धी अनुसन्धान र हाल भइरहेका विद्यार्थी आदानप्रदान कार्यक्रमलगायतका विषयहरुमा भविष्यमा हुनसक्ने सहकार्यका बारेमा जानकारी लिनेछन्।  

                  सहायक मन्त्री वाट्सले बनेपा स्थित बायोभ्याक कम्पनीमा अत्याधुनिक निदानात्मक परीक्षण प्रयोगशाला र पशु खोप विकास तथा उत्पादन कार्यमा अष्ट्रेलियाबाट भएको प्रविधि हस्तान्तरण, शैक्षिक र अनुसन्धानका सहकार्यका बारेमा जानकारी लिनेछन् । 

सहायक मन्त्री वाट्सले डा सन्दुक रुइतसँग भेट गरी र अष्ट्रेलियाली डा फ्रेड हलोजको सहकार्यमा स्थापित आँखा स्वास्थ्यको उत्कृष्ट केन्द्रका रुपमा परिचित तिलगङ्गा आँखा प्रतिष्ठानको भ्रमण गर्नेछन् ।

                   गएका तीस वर्षहरुमा अष्ट्रेलियाली सरकार र फ्रेड हलोज फाउण्डेशनले तिलगङ्गा आँखा प्रतिष्ठानलाई आँखा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग गरिरहेको छ । साथै उक्त सहायताबाट नेपालमा र अन्तर्राष्ट्रियस्तरमा वितरण हुने इन्ट्रा अकुलर लेन्स उत्पादन गर्ने कारखाना स्थापना भएको छ । 

भ्रमणका क्रममा सहायक मन्त्री वाट्सले अष्ट्रेलियाका हिन्दु र बौद्धमार्गीहरुको आस्थाको केन्द्र रहेका र उनीहरुको सांस्कृतिक सम्बन्ध रहेको पशुपतिनाथ मन्दिर र बौद्धनाथ परिसको पनि भ्रमण गर्नेछन् । उनले अष्ट्रेलियाबाट शिक्षा प्राप्त गरेर नेपालका विभिन्न क्षेत्रमा कार्य गर्दै सफलता हासिल गरेका नेपाली पूर्वविद्यार्थीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ । 

यसै गरी सहायक मन्त्री वाट्सले अष्ट्रेलियामा निर्मित पोर्टेवल अल्टिटुड च्याम्बर हिमालयन उद्दार सङ्घलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । उक्त उपकरण सङ्घले फेरिचे र सगरमाथा आधार शिविरमा रहने आकस्मिक क्लीनिकमा प्रयोग गर्नेछ । 


सहायक मन्त्री वाट्सको यो भ्रमण कार्यक्रममा बङ्गलादेशमा छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने र भुटान र भारतको भ्रमण गर्ने कार्यक्रम पनि समावेश छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved