नेपालमा सञ्चालनमा रहेका सिमेन्ट उद्योगले ‘नेपाल गुणस्तर’ अनिवार्य रुपमा लिनुपर्ने प्रावधान छ। उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले ‘नेपाल गुणस्तर चिन्ह’ प्रदान गर्ने गर्दछ।
नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन २०३७ अनुसार नेपाल गुणस्तर नलिई उद्योगले सिमेन्ट उत्पादन गर्न पाउँदैनन। नेपालमा उत्पादन हुने सिमेन्ट तीन थरीका छन। ओपिसि, पिपिसी र पिएससि।
बजारमा आएका सिमेन्टहरु ३३ ग्रेड, ४३ ग्रेड र ५३ ग्रेडका छन भन्ने गरिन्छ। सिमेन्ट उद्योगीहरुले पनि यो दाबी गर्दै आएका छन। जति धेरै ग्रेड उति धेरै गुणस्तर भन्ने आशयले सिमेन्ट उद्योगहरुले ग्राहकलाई ठूलो ग्रेड देखाएर 'मौखिक' विज्ञापन गरिरहेका छन। तर नेपाल गुणस्तर तथा नापतौल विभागले भने अहिलेसम्म नेपालमा उत्पादन हुने सिमेन्ट ३३ ग्रेडभन्दा माथिको नभएको बताएको छ।
विभागले ३३ ग्रेडभन्दा माथिको ग्रेडका लागि ‘नेपाल गुणस्तर’ दिएको छैन। ४३ र ५३ ग्रेडको उत्पादन भनेर विज्ञापन गर्नु गलत भएको विभागका एक अधिकारिको भनाई छ।
उद्योगले विभागमा बुझाएको कागजात र उद्योगको स्थलतगत भ्रमण गरेर गुणस्तर प्रयोगशाला, जनशक्ति आदि हेरेर विभागले नेपाल गुणस्तरको प्रमाणपत्र दिने गर्दछ।
विभागका निर्देशक दिपक ज्ञवालीका अनुसार अहिले नेपालमा सञ्चाल भईरहेका करिब ५० वटा सिमेन्ट उद्योग सबैलाई ‘नेपाल गुणस्तर’ दिँदा ३३ ग्रेडको भनेर दिईएको छ। तर सिमेन्ट उद्योगले भने उच्च ग्रेडको सिमेन्ट उत्पादन गरिरहेको दाबी गरेका छन् ।
सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा नेपालमा सिमेन्टको ग्रेड नै नभएको दाबी गर्छन। सामान्य रुपमा उत्पादनको अनुमति मात्रै दिईएको उनको भनाई छ । उद्योगीहरुले ग्रेडिङ गर्नुपर्यो भन्ने माग गरिरहेको उनको भनाई छ ।
३३ ग्रेडसम्मको अनुमति लिएपनि कागजात र प्रमाण बिना नै ५३ ग्रेडको सिमेन्ट उत्पादन गरिरहेको भनेर उद्योगहरुले प्रचार प्रसार गरिरहेका छन् । विभागले यसरी गलत प्रचार गरेर ग्राहकलाई ढाट्नु गलत भएको बताएको छ। तर सिमेन्ट उत्पादक संघका अध्यक्ष थापा यति ग्रेडको भनेर कुनै पनि उद्योगले विज्ञापन नगरेको दाबी गरेका छन्।
‘मुखले कतै बोलेका होलान’ उनले भने, ‘कतै बोरामा लेखेका छैनन्, अन्त कतै विज्ञापन पनि गरेका छैनन्।’ उनले दोहोर्याएर भने, ‘उच्च ग्रेडकै सिमेन्ट उत्पादन हुन्छ नेपालमा, तर डकुमेन्ट छैन। हामीले डकुमेन्ट हुने व्यवस्था गरिदेउ भनेको हो।’
सिमेन्ट कम्पनीहरुले ३३ ग्रेड भन्दा माथिको भन्दै आएपनि बिभागले भने अहिले आएर मात्रै ४३ ग्रेडको नेपाल गुणस्तरको स्ट्यान्डर्ड बनाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पहिलो चरणमा ओपिसी सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर दिने गरी छलफल अन्तिम चरणमा पुगेको छ। विभागले उद्योग मन्त्रालयमा ड्राफ्ट पठाईसकेको र मन्त्रीको अध्यक्षतामा रहेको परिषद्ले निर्णय गर्न बाँकी छ ।