गाडी र घरजग्गा कर्जामा कडाइ गर्दै राष्ट्र बैंक, सेयर कर्जामा के ?

विजय पराजुली

विजय पराजुली

Jul 10, 2019 | 12:17:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सवारी र रियल स्टेट कर्जामा कडाइ हुने भएको छ। उत्पादनमुलक क्षेत्रमा कर्जा बिस्तार गर्ने सरकारको रणनीतिलाई साथ दिंदै नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति मार्फत सवारी र रियल स्टेट कर्जामा कडाइ गर्न लागेको हो। 

अनुत्पादक क्षेत्रमा जाने कर्जालाई निरुत्साहित गरेर उत्पादनमुलक क्षेत्रमा कर्जा बिस्तार गर्ने सरकारको नीति अनुसारनै राष्ट्र बैंकले सवारी र रियल स्टेट जस्ता क्षेत्रमा जाने कर्जामा कडाइ गर्न लागेको राष्ट्र बैंक स्रोतले जानेको छ। 

उत्पादनमुलक क्षेत्रमा लगानी बढाउँनका लागि स्रोतको अन्य विकल्प नभएकाले तत्काललाई सवारी र रियल स्टेटमा जाने कर्जालाई रोक्ने गरि मौद्रिक नीति आउन लागेको राष्ट्र बैंकका एक उच्च अधिकारिले बिजपाटीलाई बताएका छन।   

राष्ट्र बैंकले सिमा तोकेरै उत्पादन क्षेत्रमा न्युनतम २५ प्रतिशत लगानी गर्न निर्देशन दिएपनि चालु आर्थिक वर्षको चैत्र मसान्त सम्ममा बैंकहरुले १७.१ प्रतिशत मात्र प्राथमीकता प्राप्त क्षेत्रमा कर्जा लगानी गरेकाले सवारी र रियल स्टेट जस्ता अनुत्पादक क्षेत्रमा जाने कर्जालाई निरुत्साहित गर्न लागिएको हो।   

बैंकहरुलाई तोकिएका उत्पादन क्षेत्रमा कर्जा विस्तार गर्न निर्देशन भएपनि कम जोखिम र छोटो समयमा धेरै आम्दानि हुने सवारी र रियल स्टेटमा बैंकहरुले कर्जा बिस्तार गरेकाले आगामी मौद्रिक नीति मार्फत कडाइ गर्न लागिएको हो।

त्यस्तै व्यक्तिगत घर कर्जा भने अहीलेको व्यवस्थामा परिर्वतन हुने सम्भावना न्यून रहेको बताइन्छ । यद्यपी एक भन्दा बढी घर किन्ने परिवारको हकमा भने केही कडाई हुनसक्नेछ। आवास जनताको आधाभुत आवाश्यकता भएकोले प्रति परिवार एउटा घरको लागि केही सहुलियत पनि हुन सक्ने तर एक भन्दा बढी घर किन्न अथवा बनाउनको लागि भने कर्जामा कडाई गर्न सक्ने सम्भावना रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन। 

त्यस्तै सेयर धितो राखेर प्रवाह हुने कर्जा सम्बन्धि अहिले व्यवस्था (मार्जिन लोन) नचलाउने रणनीतिमा राष्ट्र बैंक रहेको स्रोतको भनाई छ। चालु आर्थिक बर्षको दश महिनासम्म बैंक वित्तीय संस्थाले ४३ अर्ब १५ करोड सेयर धितो कर्जा प्रवाह गरेका छन। पछिल्लो दश महिनामा मात्रै सेयर धितो कर्जा २ अर्ब ६४ करोडले बढेको छ।   


नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को दश महिनाको तथ्याङ्कअनुसार बैंक वित्तीय संस्थाले रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ९.८ प्रतिशतले, हायर पर्चेज कर्जा ७.५ प्रतिशतले बढाएका छन।

चालु आर्थिक बर्षको दश महिनासम्म बैंक वित्तीय संस्थाहरुले रियल स्टेटमा १ खर्ब ४५ अर्ब ८१ करोड ३० लाख कर्जा प्रवाह गरेका छन भने सवारी कर्जामा १ खर्ब ८३ अर्ब ८९ करोड ९५ लाख कर्जा प्रवाह गरेका छन। यस मध्ये ६५ अर्ब ९३ करोड व्यक्तिगत तर्फको सवारी खरिदमा कर्जा प्रवाह भएको छ।          

पछिल्लो दश महिनामा मात्रै रियल स्टेटमा ३ अर्ब १० करोड ४६ लाख कर्जा प्रवाह भएको छ भने सवारी कर्जा तर्फ १२ अर्ब ८६ करोड ८१ लाख कर्जा प्रवाह भएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved