कवि भूपि शेरचनले उहिल्यै
लेखिसकेका छन्, 'नेपाल हल्लैहल्लाको देश हो'। हल्लाको देश भएपछि हल्लाको भाउ बढी नै
हुने भयो । हल्लाको देशमा फगत हल्ला गर्नेहरु अब्बलजस्तो देखिनु, हल्ला गर्नेलाई
नै मानिसले पत्याउनु, ऊ अरुभन्दा विशिष्ट बन्नु पनि नौलो कुरा भएन ।
हल्ला चल्नु चलाईनु, हल्लाको खेती
हुनु आफैमा अनौठो होइन । संसारभर हल्लाहरु चलिरहन्छन् । हल्लाभन्दा पनि हल्लाको
विषय, पात्र र परिस्थितिबारे महत्वपूर्ण हुन्छ । ती विषयमा बहस हुनुपर्छ । बजारमा चल्ने
हल्लाको बारेमा कोहीपनि बोलेन भने हल्लाको हल्कोले सत्यलाई ढाकिदिन सक्छ ।
कोभिडको महामारीबीच सांसद्को
तलबभत्ताको विषयले देशभर हल्लाखोर छ । त्यही हल्लाखोर यी पंक्तिहरु लेख्ने
उत्प्रेरक बनिदिएको छ । तलब खाने कि नखाने ? भत्ता खाने कि नखाने ? किन खाने ? कति
खाने ? खानेले 'नुनको सोझो' गर्नु पर्ने कि नपर्ने ? भन्ने प्रश्नहरु निरपेक्ष
होइनन् । यस्ता प्रश्न उठिरहनुपर्छ । तर, कसैले यी प्रश्नलाई कमजोर बनाइदिन र
अरु अनेक प्रश्नको जवाफबाट जोगिन तलब-भत्ता नै खान्न भन्दियो भने ? के हामी
चुपचाप उसलाई नै महान मानेर हिँडिदिनु ? यौटा प्रश्नलाई 'न्युट्रलाइज' गरिदिएर अरु
सयौं/हजारौं/लाखौं प्रश्नहरुको उत्तरबाट भाग्नेहरुकै गीत गाएर हिँड्नु ? यदि
त्यसो गरियो भने प्रश्नहरुमाथि नै अन्याय हुन्छ । प्रश्नमाथि अन्याय हुनु भनेको प्रश्न
गर्नेहरु र प्रश्न गर्ने अधिकारप्राप्त नागरिकमाथि नै झन् ठूलो अन्याय हुनु हो ।
यी पंक्तिहरु लेखिरहँदा तलब-भत्ता खान्न भनी हल्ला गर्नेहरुको व्यक्तित्व बडेमानको भएको छ । तिनको स्वर ठूलो भएको छ । तलब-भत्ता खान्छु, खानुपर्छ भन्नेले बोल्नै नसक्ने, बोले पनि कसैले नसुन्ने । सुनिहाले पनि सुन्नेले दुत्कार्ने, छिछिः दुर्दुर गर्ने अवस्था आइलागेको छ ।
के उसो भए कानुनले तोके बमोजिमको तलब-भत्ता खानु पाप हो ? रोइलो गर्नुपर्ने र देशै तरङ्गित हुनुपर्ने विषय हो ? होइन । हुँदै होइन । कानुन बमोजिमको तलब-भत्ता खानु कदापि बेठीक होइन ।
यतिखेर यो मुलुकमा सुरु भएको
रोइलोको पृष्ठभूमिमा केवल तलब भत्तामात्रै छैन । तलबभत्ता खानेहरुले देश र जनताको खातिर
केके गरे ? उल्का केही नगरे पनि नुनको सोझोसम्म गरेको पनि नदेखिने अवस्था कसरी
बन्यो ? गर्नैपर्नेहरुले किन केही गरेनन् ? यी प्रश्नहरुको सापेक्षतामा
तलबभत्ताको प्रश्न जोडिएको छ । यति हुँदाहुँदै पनि तलब भत्ता किन खायौ ? फिर्ता
गर ! भन्नु जायज होइन । बरु तलब भत्ता खाएपछि त्यसको लाज त जोगाऊ भन्ने आवाज
चर्को पार्नु जरुरी छ ।
तलब भत्ता किन
खाने ?
राज्यको दैनिकीसँग जोडिएका विविध कार्यसञ्चालनका लागि विभिन्न
अंग, निकाय, संघ, संस्थाहरु हुन्छन् । संविधान, कानुन र राज्यको नीति, नियम बमोजिम
स्थापना भएर चल्ने त्यस्ता संस्थाहरुमा खासखास जिम्मेवारी तोकेर पदाधिकारी र
कर्मचारीको व्यवस्था गरिएको हुन्छ । तत्तत् पदमा निर्वाचित, नियुक्त, छनौट भएका
व्यक्तिले पदीय जिम्मेवारी पूरा गर्न आफ्नो ज्ञान, सीप, क्षमता र समय खर्चिए बापत तलब
भत्ता दिइन्छ । कानुनले तोके बमोजिम, विधि प्रक्रियालाई मानेर भुक्तानी पाउने तलब पदीय
जिम्मेवारी र त्यो जिम्मेवारी पूरा गर्नका लागि खर्चिने श्रम र समयको सापेक्षतामा
दिइन्छ ।
हामीकहाँ पुरुष सांसदले सुत्केरी भत्ता खाएको नजिर छँदैछ । सित्तैमा पाए चुक पनि पेटभरी खाने समाजमा त्यसो हुनु खासै नौलो कुरा होइन । तर, तलब नखाऊ, भत्ता लिन पाउँदैनौं भन्नुभन्दा त्यो तलब भत्ता लिएबापत के गर्यौ ? भन्ने प्रश्न सयौं गुणा उत्तम हो ।
तलब भत्ता नखाए
के खाने ?
बोल्नेको पीठो बिक्छ भन्ने उखान पुरानो भैसक्यो । अचेल हाम्रो
मुलुकमा भाँती पुर्याएर बोल्न जान्ने पाखण्डीलाई नै महामानव ठानिन्छ । यस्तो
पाखण्ड अनेक पेशामा अनेकरुपमा देखिन्छ ।
म तलब खान्छु । कानुन बमोजिम प्राप्त हुने भत्ता पनि खान्छु ।
कानुन बमोजिम हुने आम्दानीबाट मात्रै गुजारा चलाउँछु । तलबभत्ता बाहेक अरुथोक खान्न
भन्नुपर्नेमा तलबभत्ता चाहिँदैन भनेर बडप्पन देखाउने चलन खासगरी राजनीति
गर्नेहरुले सुरु गरेका छन् ।
आफु पदमा रहँदा त्यो पदका लागि तोकिएको तलब भत्ता खान्न,
त्योभन्दा अरु नै थोकबाट गुजारा चलाउँछु । मेरा अरु नै गैरकानुनी(?), अदृश्य(?) स्रोत
छन् भन्नु उपल्लोस्तरको पाखण्ड हो । जीवनभर राजनीतिबाहेक अर्थोपार्जनको कुनै कान
नगर्ने व्यक्तिले त्यसो भन्नु झनै खतरनाक विषय हो । तर, हामी तिनैलाई महान मान्नुपर्ने
नियतिमा छौं ।
जसको कुनै पेशा, व्यवसाय, नियमित आम्दानी छैन तिनैले तलबभत्ता चाहिँदैन भन्नु र हामी तिनैको भजन गाउन थाल्नु पटक्कै सुहाउने विषय होइन । मैले तलब भत्ता खान्न, त्योबाहेक अरु सबैथोक घिच्छु भन्नेलाई नै महान मान्ने कि तलब भत्ताबाहेक केही खान्न भन्नेलाई ?
अन्त्यमा,
आधुनिक दुनियाँमा हल्ला
गर्नेहरुलाई सघाउन अनेकथरी सोसल मिडिया र सोसल नेटवर्क भनिने अनेक प्लेटफार्म
उपलब्ध छन् । त्यसैले त नेपालमात्रै होइन, संसारभर हल्लाको आयतन बढ्दैछ । हल्ला
गर्ने र हल्लामात्रै गर्नेहरुको वजनमा झनै बढोत्तरी भएको छ । आधुनिक भनिने आजको
दुनियाँमा ससाना कुरामा ढ्वाङ फुक्ने, ढोल पिटाउनेहरु नै महामानव बनिदिने खतरा
बढ्दै गइरहेको छ ।
यतिखेर हामीकहाँ चलेको
'तलब-भत्ता'वाला हल्लाको पछि बतासे पारामा दौडिनुभन्दा तलबभत्ता खाऊ, अहिलेको
तलबमानले पुग्दैन भने अझै बढाएर खाऊ, तर आफ्नो कर्तव्य पूरा गर । तलब भत्ता
चाहिँदैन भन्ने कुराले तिमीलाई असल बनाउँदैन भन्ने विषयमा केन्द्रित बहसको
आवश्यकता छ ।