१० वर्षपछि सकियो काबेली करिडोर, पाँचथर र ताप्लेजुङका आयोजनालाई राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 07:48:07 AM मा प्रकाशित

laxmi  sunrise bank

विगत दश वर्षदेखि अनेकन विवादको भूमरीमा फसेको पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । प्रसारण लाइन समयमै सम्पन्न नहुने हो कि भन्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र ऊर्जा उद्यमीको चासो र चिन्ताका बीच ठूलो मेहनतपछि आयोजना सम्पन्न भएको हो ।

पाँचथर र ताप्लेजुङ जिल्ला भएर बहने काबेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि उक्त प्रसारण लाइन आवश्यक र महत्वपूर्ण छ । कूल १३२ केभी क्षमताको प्रसारण लाइन सञ्चालनमा आएपछि पूर्वाञ्चलमा निर्माण हुने आयोजनाको विद्युत्् राष्ट्रिय प्रसारण प्रणालीमा जोडनका लागि सहयोगी हुनेछ ।

आयोजनाको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्ड सोमबारदेखि सञ्चालनमा आएपछि झापाको लखनपुरबाट शुरु भएको ९१ किलोमिटर प्रसारण लाइनको निर्माण सकिएको छ । तेस्रो खण्ड सोमबार साँझदेखि सञ्चालनमा आएको हो । आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) दोस्रो खण्ड यसअघि नै सञ्चालनमा आइसकेको थियो । लखनपुर, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२÷३३÷११ केभी सवस्टेशनको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको बाटोमा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइलगायतले समस्यामा परेको आयोजनालाई निरन्तरको प्रयास र अनुगमनबाट सम्पन्न गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ । रुग्ण आयोजनामध्येको एउटा काबेली करिडोरको निर्माणबाट प्राधिकरणले धेरै पाठ सिक्यो । ‘राइट अफ वे’को समस्या सुल्झाउन व्यक्तिगत रुपमा प्रभावितको घरघरमा गएर पनि सम्झाउने प्रयास गरेको स्मरण गर्छन घिसिङ ।

“स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकायलगायतको निरन्तरको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएका छौँ, अब इलाम, पाँचथर र ताप्लेजुङमा जलविद्युत्् आयोजना निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत्् प्रवाहका लागि पूर्वाधार पनि तयार भएको छ”, उनले भने ।

निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत्् आयोजनाको विद्युत्् प्रसारण लाइन अभावमा खेर जान नदिन उनीको व्यापारिक उत्पादन शुरु (सिओडी) हुने मितिभन्दा पहिले नै प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । प्रवद्र्धकले पनि आयोजनाको निर्माण छिट्टै सम्पन्न गरी विद्युत् जोड्नुपर्नेछ ।

आर्थिक वर्ष २०६३÷६४मा शुरु भएको आयोजना निर्माणका लागि ज्यागुअर ओभरसिज एण्ड एष्टर जेभी सँग २०६८ साल भदौ २३ गते ठेक्का सम्झौता भएको थियो । कूल तीन करोड १० लाख अमेरिकी डलर लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बंैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

आयोजनाका अनुसार तेस्रो खण्डमा पर्ने अमरपुरको पिनासे घाटमा २.२ किलोमिटर तार तान्न रुख काट्ने प्रक्रिया पूरा गर्न धेरै समय लाग्ने देखिएपछि ड्रोनको प्रयोग गरिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए । त्यस क्षेत्रमा ४०० हाराहारीमा रुख काट्नु पर्ने थियो । त्यसको स्वीकृतिका लागि प्रक्रिया धेरै लागेर काम नै प्रभावित हुने देखिएपछि ३१–३५ नम्बरको टावरमा ड्रोनको प्रयोग गरी तार तानेको उनको भनाइ छ । प्राधिकरणले काबेली करिडोरको तेस्रो खण्ड निर्माण सम्पन्न भई सोमबारबाट सञ्चालनमा आएको जानकारी निजी क्षेत्रका प्रवद्र्धकलाई दिएको छ ।

यस खण्डस्थित अमरपुर सवस्टेशनमा विद्युत् जोडिने २५ मेगावाटको काबेली बी १ को प्रवद्र्धक अरुण काबेली पावर र ९.९ मेगावाटको इवाखोलाको रैराङ हाइड्रोपावर डेभलमेन्ट कम्पनी लाइन चार्ज भएको जानकारी दिएको हो । “आयोजनाबाट उत्पादित विद्युत्् अरपुर सवस्टेशनमार्फत राष्ट्रिय ग्रीडमा जुनसकै बेला जोड्न सकिने जानकारी गराएका छौँ”, आयोजना प्रमुख द्विवेदीले भने । यस्तै कूल ३७.६ मेगावाटको काबेली ‘ए’ आयोजनाका विद्युत् पनि सोही सवस्टेशनमा जोडिने छ ।

काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत्् आयोजना जोडिसकेका छन् । पहिलो खण्डमा करीब ८४ मेगावाट विद्युत् यसअघि नै जोडिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved