स्थापना दिवसमै नेकपाका ३ नेताको ३ थरी कुरा, विश्लेषक भन्छन्, ‘पार्टी फुट्ने संकेत’

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 22, 2020 | 01:22:11 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थापना दिवस् । पार्टी स्थापना भएको ७१ वर्षको अवसरमा नेकपाका दुई अध्यक्षसहित बरिष्ठ नेताले छुट्टाछुट्टै वक्तव्य जारी गरे । बरिष्ठ नेता माधबकुमार नेपालले मंगलर नै विज्ञप्ति जारी गरी पार्टी स्थापना दिवसको शुभकामना दिएका थिए ।

पार्टी स्थापना दिवसका अवसरमा ३ शीर्ष नेताले नेपाली कम्युनिष्ट आन्दोलनको चर्चा गरेपनि ३ थरी वक्तव्य निकालेर ३ थरी विषय उल्लेख गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा गुटबन्दीको चर्चा हुँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वक्तव्यमा षड्यन्त्रको चर्चा गरिएको छ । बरिष्ठ नेता नेपालले भने पार्टी भित्रकै स्वार्थ समहूको चर्चा गरेका छन् ।

‘पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि विराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान अभियानलाई अघि बढायौँ’ प्रधानमन्त्री ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ओलीले थपेका छन्, ‘ सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको हो ।’

अर्का अध्यक्ष प्रचण्डले भने पार्टीलाई देशी विदेशी शक्तिले कमजोर पार्न खोजेको आरोप लगाएका छन् ।

‘देशी विदेशी प्रतिक्रियावादी शक्ति नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका छन्’ प्रचण्डले वक्तव्यमा भनेका छन्, ‘प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो ।’

वरिष्ठ नेता नेपालले भने पार्टीका नेताहरुलाई स्वार्थ त्याग्न आग्रह गरेका छन् ।

‘व्यक्तिवाद, स्वार्थ, व्यक्तिगत आग्रह या अहमबाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशा र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो भन्ने कुरा म स्मरण गराउन चाहन्छु’ नेता नेपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

छुट्टा छुट्टै वक्तव्यको अर्थ के ?

स्थापना दिवसकै दिन तीन शीर्ष नेताले तीन थरी वक्तव्य सार्वजनिक गरेपछि विश्लेषकहरुले आ–आफ्नै ढंगबाट विश्लेषण गरेका छन् । 

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीका अनुसार पार्टीको स्थापना दिवसकै दिन शीर्ष नेताहरुबाट फरक फरक वक्तव्य आउनुले नेकपा भित्रको आन्तरिक द्वन्द छताछुल्ल भएको छ । उनी अध्यादेशलाई लिएर चर्किएको नेकपाको नेकपाको आन्तरिक किचलो पार्टी स्थापना दिवसमा चुलिएको बताउँछन् । उनका अनुसार पार्टीको स्थापना भएको नेकपाका नेताले गैरकम्युनिष्ट चरित्र प्रस्तुत गरेका छन् । 

‘उनीहरु बेग्ला बेग्लै गुटको प्रतिनिधित्व गर्छन्, नेताहरुले निकाले विज्ञप्ति गुटगत प्रवृतिको प्रतिनिधित्व हो’ उनी भन्छन्, ‘पार्टी स्थापना दिवसकै दिन फरक फरक नेताबाट फरक फकर अर्थ लाग्ने विज्ञप्ति आउनु भनेको भविष्यमा हामी छुट्टा छुट्टै पार्टीको नेतृत्व गर्न सक्छौँ भन्ने संकेत पनि हो, अहिले नै त्यति टाढा नपुगेपनि एकले अर्कालाई स्वीकार गर्न नसकेको प्रष्ट हो ।’ 

अर्का विश्लेषक खगेन्द्र प्रसाई पनि आन्तरिक एकता नहुँदाको नतिजा छुट्टा छुट्टै विज्ञप्तिमा देखिएको बताउँछन् । पार्टीभित्र लोकतन्त्र र लोकतन्त्रको अभ्यास नरहेका कारण एकले अर्कालाई चुनौती दिने क्रम बढेको उनको बुझाई छ । 

‘राजनीतिक दल सम्बन्धि अध्यादेशले एकले अर्कालाई विश्वास गर्न सक्ने अवस्था रहेन’ उनले भने, ‘मजबुत एकता नहुँदा माथिल्लो तहका नेताहरुले एकले अर्कालाई चूनौती दिन फरक फरक वक्तव्य जारी गरेका हुन् ।’ 

अध्यादेश सरकारलाई काम गर्न असजिलो परेको अवस्थामा गाँठो फुकाउन ल्याउने विगतको अभ्यास भएपनि अहिले सरकारले लोकतन्त्रको मर्मविपरित गोपनीयताका साथ ल्याउँदा नेकपा भित्र नै सरकारप्रति आशंका उब्जिएको विश्लेषक प्रसाईको भनाई छ । 

‘लोकतन्त्रमा यसरी गोपनीयताका साथ अध्यादेश ल्याईदैन र अर्को कुरा अध्यादेश भनेको काम गर्नै मुस्किल परेको अवस्थामा कानुनी अड्चनको गाँठो फुकाउन ल्याउने हो’ उनले भने, ‘अहिले त न छलफलका साथ आयो न आवश्यकता अनुसार आयो । यो कदमले एकले अर्कोको विश्वास नै नगर्ने खतरा बढ्यो ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved