४१ दिनमा सुनचाँदी व्यवसायीले गुमाए ६ अर्ब

निरोज कुमार थापा

निरोज कुमार थापा

May 03, 2020 | 03:14:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा वार्षिक ६० अर्ब रुपैयाँको सुनको कारोबार हुँदै आएको छ । यो परिणामा आधारमा मासिक ५ अर्ब रुपैयाँको कारोबार हुन्छ । तर लकडाउनका कारण सुन चाँदीको कारोबार शुन्यमा झरेको छ । मासिक अर्बौ रुपैयाँको कारोबार हुने क्षेत्र र त्यसमाथि पनि बैशाख महिनामा अधिक बिवाहका लगनहरु हुने समयमा पनि कारोबार नहुँदा व्यवसाय टाट पल्टिने अवस्थामा पुगेको सुन चाँदी व्यवसायीहरु बताउँछन् ।

चैत्र ११ गतेदेखि नै लकडाउन हुँदा बैशाख महिनामा बिवाहका लगनहरुमा हुने सुनचाँदीको कारोबार समेत गुमेको व्यवसायीहरुको भनाई छ । 

सरकारको करोडौँ राजश्व गुम्यो

व्यवसायीहरुले कारोबारको मात्रा गुमाउँदा सरकारले भने करोडौँ रुपैयाँ राजश्व गुमाएको छ । लकडाउनको अवधिमा मात्रै सरकारले करिब ४२ करोड रुपैयाँ राजश्व गुमाईसकेको छ । नेपालका बैंकहरुले दैनिक १० किलोग्राम सुन आयात गर्न पाउँछन् । सरकारले एक किलो सुन आयातवापत ६ लाख ५० हजार भन्सार शुल्क लिँदै आएको थियो । यसको आधारमा हिसाब गर्ने हो भने सरकारले ६५ लाख रुपैयाँ दैनिक राजश्व गुमाउँदै आएको छ । महिनामा १९ करोड ५० लाख राजश्व र पत्थर, हिरालगायत पार्टपूर्जा आयात गर्दा हुने २२ करोड आम्दानी सरकारलाई घाटा लागेको छ । 

योसँगै नेपाली बजारमा दैनिक खपत हुने सुनको कारोबारको निश्चित शुल्क र व्यवसायीले अर्जन गरेको नाफाबाट आयकरसमेत जोड्दा सुन चाँदीको व्यवसायबाट मात्रै सरकारले मासिक ५० करोडको नोक्सान व्यहोरेको छ । 

लकडाउन भएको ४० दिनभन्दा लामो समय भईसकेका कारण यो नोक्सानीको दर पनि दिनदिनै बढ्दै जाने नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियश रत्न शाक्य बताउँछन् । 

सरकारले छलफल गर्न बोलाएन

सरकारले व्यवसाय रोकिँदा घाटा व्यहोर्नु परेको भन्दै राहत प्याकेजका लागि विभिन्न व्यवसायीक संघसंगठनसँग छलफल गरेपनि हालसम्म सुनचाँदी व्यवसायीसँग भने छलफल गरेको छैन । असारदेखि नै भाउ निरन्तर उकालो लागेपछि नेपालमा सुनको व्यापार खस्किएको थियो । 

‘अहिलेसम्म छलफलका लागि बोलाएको छैन’ उपाध्यक्ष शाक्यले भने, ‘बोलाउँछ कि भन्ने आशामा बसेका छौँ ।’ 

उनका अनुसार फागुन महिनामा पनि भाउ उच्च हुँदा बिवाहको सिजनमा समेत सुनको बिक्रि भएको थिएन । बैशाखको सिजन पनि लकडाउनका कारण बिना कारोबार सकिएपछि व्यवसाय धाराशायी बनेको उनको भनाई छ । 

नेपालमा सुनचाँदी व्यवसायले ३० हजार कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको छ । योसँगै १ लाख कालिगढ र ८० हजार व्यवसायीसमेत सुनचाँदी व्यवसायले नै पालिएको महासंघको तथ्यांक छ ।

हाल केही मात्रामा बजारमा सुन स्टक रहेको भएपनि कति मात्रामा छ भन्नेबारे सरकारले आधिकारीक तथ्यांक दिएको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved