व्यवसायीको संगठनमा बढ्यो चुनावी सरगर्मी, उपाध्यक्ष भन्दा केन्द्रिय सदस्यलाई बढी रस्साकस्सी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 02, 2020 | 02:58:18 PM मा प्रकाशित

laxmi  sunrise bank

निजि क्षेत्रका व्यवसायीहरुको छाता संगठन 'नेपाल उद्योग बाणिज्य महासंघ' को आसन्न निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ। व्यवसायीहरुको छाता संगठन मात्र नभई सरकारपछिको सबैभन्दा ठुलो नेटवर्क भएको संस्था भएकाले पनि यस चुनाव आम सर्वसाधारण लगायत धेरैको चाँसोको बिषय बन्ने गरेको छ। 

महासंघमा वरिष्ट उपाध्यक्ष स्वत: अध्यक्ष बन्न पाउने व्यवस्थाप्रति केहि समयअघि उठेको संसोधन प्रस्तावको टुङ्गो लागेपछि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्ने निश्चित भएको छ। 

शेखर गोल्छा अध्यक्ष बन्ने निश्चित भएसँगै महासंघमा अर्को बर्ष स्वत: अध्यक्ष बन्न पाइने शक्तिशाली एवं आकर्षक पद वरिष्ठ उपाध्यक्षको पदमा सबैको ध्यान केन्द्रित भएको छ। यद्दपी यसपटक महासंघमा वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा नहुने आंकलन गरिएको छ। 

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि एशोसिएट्सतर्फका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो गृहजिल्ला बागलुङबाट उम्मेदवारी घोषणा गरिसकेका छन् तर  यो पदका लागि अहिलेसम्म अन्य व्यक्तिले भने उम्मेदवारी घोषणा गरेका छैनन्। यद्दपी जिल्ला नगरतर्फको बर्तमान उपाध्यक्ष किशोर प्रधानले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका छन् तर उनले अहिलेसम्म उम्मेद्वारी घोषणा गरेका छैनन्। 

महासंघमा वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिने बताएका प्रधानले अन्तिमसमयमा ढकाललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने सम्भावना अधिक रहेकाले यस पटक वरिष्ठ उपाध्यक्षमा निर्वाचन नभई ढकाल निर्बिरोध हुने आँकलन गरिएको छ। 

रेमिट्यान्स, बैंक, अटोमोवाईल, जलविद्युत, एयरलाईन्सलागयतका व्यवसायमा आवद्ध ढकाललको एशोसिएट्देखि जिल्लानगरमा राम्रो पहुँच रहेकाले उनि निर्विरोध महासंघमा वरिष्ठ उपाध्यक्ष बन्ने निश्चित भएको बताइएको छ। महासंघको पछिल्लो चुनावमा निर्विरोध नेतृत्व चयन हुने प्रवृत्ति नरहेकोले प्रतिस्पर्धीहरु आउनसक्ने संभावनालाई ठाडै अस्वीकार गरिहाल्ने स्थिति नरहेको व्यवसायीहरु बताउँछन।  

महासंघका बस्तुगततर्फका अर्का उपाध्यक्ष उमेश श्रेष्ठले ढकाललाई समर्थन गर्दै आफू पुनः सोही क्षेत्रको तर्फबाट उपाध्यक्षमा उम्मेद्वारी दिने बताइसकेका छन्। उमेश श्रेष्ठले उपाध्यक्षमा दोहोरिन इच्छा व्यक्तगरेसँगै शेखर र किशोर प्रधान समुहले अन्जन श्रेष्ठलाई उपाध्यक्षमा उठाउने गरि प्यानल बनाउने तयारीमा जुटेको व्यवसायी स्रोतको भनाई छ। 

त्यस्तै महासंघको एशोसिएट्सतर्फको उपाध्यक्षमा शौरभ ज्योतिले उम्मेदवारी घोषणा गसिसकेका छन्। शौरभ ज्योतिलाई वर्तमान केन्द्रिय सदस्य अशोक तेमानीले टक्कर दिन सक्ने बजार चर्चा छ। त्यस्तै अहिलेनै प्यानल नबनेपनि भविष्यमा प्यानल बन्न सक्ने चन्द्र ढकालसमुहले जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारि दिने योजना बनाएका महासंघका प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठलाई एशोसिएट्सतर्फको उपाध्यक्षमा उठाउने लबिङ गरिरहेको तर श्रेष्ठ तयार नभएको स्रोतले बिजपाटीलाई बताएको छ। 

त्यस्तै महासंघको जिल्ला नगर तर्फको उपाध्यक्षमा महासंघ प्रदेश ३ का अध्यक्ष तथा माल्टाका लागि अवैतनिक राजदुत रहेका दिनेश श्रेष्ठको प्रमुख दाबेदारी रहेको छ। उनलाई नवलपरासी उद्योगसंघका केन्द्रिय सदस्य तथा प्रदेश ५ का वर्तमान अध्यक्ष गुणनिधि तिवारीले चुनौती दिन सक्ने देखिन्छ। महासंघको शक्तिशाली सँस्था जिल्ला नगरको सङ्ख्या बढेको भन्दै जिल्ला नगरतर्फबाट दुई जना उपाध्यक्षका लागि महासंघको बिधान संसोधन गर्नुपर्ने लबिङ चलेको छ। तर त्यो सम्भावना अत्यन्त कम रहेको बताइन्छ।

त्यस्तै यसअघि उपाध्यक्षमा उम्मेदवारि दिने बताउदै आएका डिवी बस्नेत, दिलसुन्दर श्रेष्ठ र अरुण सुमार्गीले आफ्नो योजना परिवर्तन गरेको बताइन्छ। हाल महासंघका मेला सभापति तथा केन्द्रिय सदस्य रहेका दिल सुन्दर श्रेष्ठ महासंघ प्रदेश ३ अध्यक्ष वा केन्द्रिय सदस्यमा उम्मेदवारि दिन सक्ने बताइन्छ।

महासंघको निर्वाचनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला उद्योग र नगर उद्योग संघको बाणिज्य संघ गरि कुल ११२ वटा सँस्था छन। यस मध्ये १०७ वटासँग मात्र भोटिङ अधिकार रहेको छ। ५ वटाले महासंघको सदस्य भएरपनि मापदण्ड पुरा गर्न बाँकी रहेकाले निर्वाचनमा सहभागि हुन पाउनेछैनन्। 

महासंघको निर्वाचनमा प्रदेश अध्यक्ष, प्रदेश प्रतिनिधि र जिल्ला नगरको संस्थापक सदस्यले मतदान दिन सक्नेछन। जिल्ला नगरको अध्यक्षले केन्द्रको वरिष्ठ र उपाध्यक्ष छान्न पाउँछन। वरिष्ठ उपाध्यक्षका लागि जिल्ला नगरको ५०, बस्तुगत तर्फको ३० र एसोसिएट्सको २० प्रतिशत मत रहन्छ।    

अहिलेसम्म महासंघको निर्वाचनलाई लिएर स्पष्ट प्यानल नबनेकाले अहिलेनै को कसले कुन पदका लागि कसको उम्मेदवारी रहन्छ भन्ने कुराको अनुमान लगाउन गाह्रो हुने ब्यवसायी बताउछन। महासंघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष निर्विरोध र अरु तीन उपाध्यक्षमा सहमति जुट्न सक्ने भएकाले यस पटक केन्द्रिय सदस्य तथा जिल्ला नगर केन्द्रिय सदस्यका लागि चुनाव धेरै प्रतिस्पर्धी हुन सक्ने बताइन्छ। चैतको अन्त्यमा हुने ५४ औं वार्षिक साधारण सभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । चैत २८ मा साधारण सभा शुरु हुने र २९ मा चुनाव हुने कार्यक्रम रहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved