पूर्वसभासद्ले गायब बनाए ३१ ल्यापटप, अहिलेका सांसदलाई सुन भएको लोगो दिईने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2018 | 07:31:02 AM मा प्रकाशित

laxmi  sunrise bank

संसद् सचिवालयका ३१ वटा ल्यापटप पूर्वसभासद्ले गायव पारेका छन् । सभासद् रहँदा सचिवालयले सुविधाबापत दिएको ल्यापटप कार्यकाल सकिएको लामो समयसम्म पनि उनीहरूले फिर्ता गरेका छैनन् । ३१ वटा ल्यापटप फिर्ता नभएको सचिवालयले जनाएको छ । ल्यापटप पचाउने सभासद्को सूचीमा पहिलो संविधानसभामा निर्वाचित भएकासमेत छन् । कानुनतः कार्यकाल सकिएको ७ दिनभित्र सांसद तथा संसद्का पूर्वपदाधिकारीले सचिवालयबाट उपयोग गर्दै आएका सेवासुविधा फिर्ता गर्नुपर्छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा यो व्यवस्था छ ।

तर, फिर्ता नगरे के कारबाही हुने भन्ने स्पष्ट नभएकाले कतिपय पूर्वसभासद्ले सामान आफैँ राखेको सचिवालयका कर्मचारी बताउँछन् । सचिवालयको जिन्सी स्टोरका प्रमुख विनोदकुमार मालीले पहिलो संविधानसभाका केही सदस्यले समेत ल्यापटप फिर्ता नगरेको बताए । उनले भने, ‘संसद्को कार्यकाल सकिएपछि ती सामान फिर्ता गर्न हामीले टेलिफोन नै गरेर भनेका हौँ । तर, सबैले फिर्ता गरेनन् ।’ पहिलो र दोस्रो संविधानसभाका ३१ सदस्यले ल्यापटप नबुझाएको सचिवालयले जनाएको छ ।

पूर्वसभासद्लाई लोगो बाँडिँदै

संसद् सचिवालयले पहिलो र दोस्रो संविधानसभाका सदस्यलाई सम्मान तथा पहिचानस्वरूप लोगो बाँड्दै छ । प्रत्येकलाई एक–एक लोगो उपलब्ध गराउन एक हजार एक सय १२ वटा लोगो बनाउन अर्डर दिएको सचिवालयले जनायो । पाँच सय लोगो तयार भइसकेको र दुई सय ९२ त वितरण नै गरिसकिएको मालीले बताए ।

लोगो डिजाइनमा डेढ लाख खर्च

पूर्वसभासद्का लागि वितरण गर्न बनाइएको लोगो डिजाइनका लागि मात्रै ७५ हजार रुपैयाँ खर्च भएको बताइएको छ । सचिवालयले संघीय संसद्का नयाँ सदस्यलाई दिने लोगो पनि बनाउँदै छ । डिजाइनमा कूल डेढ लाख खर्च भएको सचिवालय स्रोतले बतायो ।

पूर्वसभासद्लाई यस्तो लोगो

दुवै संविधानसभाका सदस्यहरूलाई पहिचान अंकित लोगो दिइँदै छ । दुई सय ९२ पूर्वसभासद्ले लोगो बुझिसकेका छन् । लोगोको माथिल्लो भागमा ‘संविधानसभा सदस्य’ लेखिएको छ । गोलाकारभित्र ‘नेपालको संविधान’ पुस्तक अंकित गरिएको छ । पुस्तकमा नेपालको नक्सा राखिएको छ । नक्साको तलपट्टि सातवटा प्रदेशलाई प्रतिनिधित्व गर्नेगरी सातजना जनप्रतिनिधि अंकित चिह्न राखिएको छ ।

अहिलेका सांसदलाई सुन भएको लोगो

सचिवालयका अनुसार संघीय संसद्का सदस्यलाई दिइने लोगोमा सुन र चाँदीसमेत प्रयोग गरिएको छ । त्यसैले पूर्वसभासद्लाई दिन बनाइएको लोगोभन्दा यो महँगो पर्न गएको सचिवालयले जनायो । नयाँ पत्रिका 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved