नेप्सेको सीईओको दौडमा नायिकादेखि बिमा बिज्ञसम्म, यस्तो छ अन्तिम ५ को योग्यता र अनुभव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 11, 2017 | 09:51:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज, नेप्सेमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदपूर्तिका लागि गठन भएको छनौट तथा सिफारिस समितिले पेश गरेको प्रतिबेदनको आधारमा अर्थ मन्त्रालयले पाँच जनाको नाम छनौट गरेको छ।

असार २४ गते यता रिक्त रहेको नेप्सेको प्रमुख कार्यकारी अधिकृत लागि अर्थमन्त्रालयले प्रकाशित गरेको नामावलीमा चन्द्रसिंह साउद, प्रमोदराज शर्मा, प्रविन पन्दाक लिम्बु, मनोज कुमार ज्ञवाली र सिताराम थपलिया छन। नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि १३ जनाले आवेदन दिएका थिए। 

खुला प्रतिस्पर्धाका लागि प्राप्त भएको दरखास्तमा संलग्न उम्मेदवारहरूको शैक्षिक योग्यता तथा व्यावसायिक कार्ययोजनाको मूल्याङकनबाट प्राप्त अङ्कको आधारमा पाँच जनालाई छानेको मन्त्रालयले बताएको छ ।

अब समितिले छनौट गरेका ५ जनाबाट ब्यबसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिने छ। त्यस पश्चात समितिले ३ जनाको नाम छनौट गरेर मन्त्रीपरिषदमा पठाउने छ । मन्त्रीपरिषद्ले तीनजना मध्येवाट एकलाई सिइओ नियुक्ती गर्ने छ। नियुक्ति पाउनेले आगामी ४ बर्षका लागि नेप्सेको जिम्मेवारी सम्हाल्नेछ। 

आवश्यक योग्यता

समितिले आवेदन माग्दा अर्थशास्त्र, व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर गरेको र पुँजी बजार तथा बैंक, वित्तीय क्षेत्रमा ५ वर्षको कार्य अनुभव हुनुपर्ने योग्यता तोकेको थियो । साथै ३० बर्ष पुरा भई ६० बर्ष नकाटेको हुनु पर्ने थियो ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि छनौटमा परेका ५ जना मध्ये कसको योग्यता के छ र उनीहरुसंग कस्तो अनुभब छ भन्ने बारे केहि सामग्री प्रस्तुत गर्ने जमर्को गरेका छौं।


प्रमोद राज शर्मा

त्रिभुवन बिश्वबिद्यालयबाट एमबिए गरेका प्रमोज राज शर्मा शिक्षण पेशासीत आबद्द व्यक्ति हुन। उनले बिगत २१ बर्षदेखि नेपालका प्रमुख विश्वबिद्यालयहरु मध्येका त्रिभुवन विश्वबिद्यालय, पुर्वान्चल विश्वबिद्यालय र पोखरा विश्वबिद्यालयका बिबिए, एमबिए कार्यक्रममा वित्तीय व्यवस्थापन, मानव स्रोत व्यवस्थापन , रणनीतिक व्यवस्थापन लगायतका बिषयहरू अध्यापन गराउंदै आएका छन। 


 शर्माले नेपाल सरकारको सिंचाई मन्त्रालय अन्तर्गतको भूमिगत जलस्रोत बिकास समितिमा (मन्त्रिपरिषद्को निर्णय अनुसार) कार्यकारी निर्देशकको रुपमा सफलता पुर्वक ४ बर्ष काम गरिसकेका छन।

   

शर्माले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको युवा परिषदले अंगिकार गरेको 'युथ बिजन २०२५' र  'युवा नीति पुनरावलोकन' ड्राफ्ट समितिमा रही महत्त्वपूर्ण योगदान गरेका छन। र उक्त ड्राफ्ट अहिले राष्ट्रिय डकुमेन्ट बन्नुका साथै नयाँ युवा नीतिको रुपमा परिचालित छ। 

शर्मा नेपालको पुंजीबजारलाई नजिकबाट बुझेका तर पुंजीबजारसंग सम्बन्धित कुनै पनि कम्पनी, संघ तथा संस्थामा आबद्द नभएका ब्यक्ती हुन। शर्मा नेप्सेको प्रमुख कार्यकारीमा स्वतन्त्र व्यक्ति आउनु पर्ने स्पष्ट धारणा राख्दछन। 

पुंजीबजारलाई बुझेको तर पुंजीबजारलाई प्रभावित गर्ने कुनै पनि कम्पनी, संस्थामा आबद्द नभएको व्यक्ति नेप्सेको प्रमुख पदमा नियुक्त भएमा    मात्र पुंजीबजारको बिकास र बिस्तारको काम हुन सक्नेमा शर्मा बिश्वस्त छन। 

पुंजीबजारलाई पूर्ण रुपमा अनलाइन प्रणालीमा लैजाने, नेपालको पुंजीबजारलाई राष्ट्रियकरण मात्र नभई अन्तराष्ट्रिय गर्ने, बिश्व सेयरबजारको प्रविधिलाई नेपालको बजारमा क्रमश: भित्र्याउदै लैजाने र  साना लगानीकर्ताले पनि ढुक्क भएर लगानी गर्न सक्ने वातावरण सिर्जना गर्ने लक्ष्यका साथ नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा आबेदन दिएको शर्माले बिजपाटीलाई बताएका छन। 


मनोज ज्ञवाली 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत बन्ने लाइनमा रहेका मनोज ज्ञवाली ज्योति विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आफ्नो   जिम्मेवारी सम्हाल्दै आएका छन। 

बैंकरको रुपमा परिचित ज्ञवाली शिक्षण पेशामा समेत आबद्द छन।  विगत १५ बर्ष देखि ज्ञवालीले  पूर्वाञ्चल बिश्वबिद्यालय तथा काठमाडौं विश्वविद्यालय अन्तर्गतका आधा दर्जन कलेजमा व्यबस्थापन संकायका बिद्यार्थीहरुलाई अध्यापन गराउदै आएका छन।

ज्ञवाली जलबिद्युत लगानी तथा बिकास कम्पनीमा निर्देशकका रुपमा काम गरिरहेका छन। भारतीय बोर्ड (आइसीएआई) बाट चार्टड एकाउन्टेन्ट पढेका ज्ञवालीले शंकरदेब क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातक गरेका छन।     

ज्ञवालीसंग ग्लोबल आइएमई क्यापिटलमा प्रबन्ध निर्देशक, ग्लोबल आइएमई बैंकमा प्रमुख वित्तीय अधिकृत र प्रमुख संचालन अधिकृत, विदेशी लगानीमा संचालीत हाईड्रोपावरमा संचालक र प्रमुख  वित्त नियन्त्रक, नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक भई नेपाल राष्ट्र बैकको लगानी शाखामा देशको सम्पूर्ण विनिमय व्यबस्थापन गरेको अनुभव छ।  

नेपालको एक मात्र पुंजीबजार नेपाल स्टक एक्सचेन्ज प्रविधिगत, सुचनागत र नीतिगत रुपमा कम्जोर रहेको ज्ञवालीको धारणा छ। नियत सफा राखी स्पष्ट योजनाका साथ अगाडि बढेमा जुनसुकै संस्थाले सोचेको प्रगती हासिल गर्न सक्छ भन्ने कुरामा विश्वास गर्ने ज्ञवालीले लगानीकर्ताले सहज रुपमा ढुक्कले लगानी गर्ने वातावरण सिर्जना गर्ने, सक्दो सहज ढंगले सबैमा सूचनाको पहुँच पुर्याउने, देशभर पुंजी बजार बिस्तार गर्ने, वास्तविक क्षेत्रका कम्पनिहरुलाई पुंजीबजारमा भित्र्याउने, अन्तराष्ट्रिय सेयर बजारसंग समन्वय गरी नेपालको पुंजीबजारलाइ प्रविधि मैत्री बनाउने, नियमनकारी निकाय र सरकारी संयन्त्रसंग यथोचित समन्वय गरी पूजी बजारको लक्ष्य पुरा गर्न संरचनात्मक परिवर्तनकोलगी पहल गर्ने, पुंजीबजार र ब्रोकरको क्षमता अभिबृद्धि तथा बिकास बिस्तार गर्दे देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पूजी बजारलाई समृद्द अनी विश्वसनीय बनाउने लक्ष्यका साथ नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा आबेदन दिएको ज्ञवालीले बिजपाटीलाई बताएका छन।



सिताराम थपलिया 

नेपाल स्टक एक्सचेन्ज,नेप्सेको महाप्रबन्धकबाट भर्खर अवकास पाएका सीताराम थपलियाले अर्को ४ बर्ष काम गर्न इच्छुक देखिएका छन।  थपलिया यस अघि  व्यवसायिक योजना तथा अन्तर्वार्ताका आधारमा डा. डिल्ली अर्याल र नेप्सेका पूर्वमहाप्रबन्धक शंकरमान सिंहलाई पछि पार्दै थपलिया महाप्रबन्धकमा छनोट भएका थिए।  

थपलियाले दुई पटकसम्म इन्भेस्टर्स फोरमको नेतृत्व सम्हाली सकेका छन्। संस्थाका संस्थापक अध्यक्ष थपलियाले व्यावसायिक प्रशासनमा स्नातकोत्तर गरी विभिन्न व्यापार–व्यसायमासमेत संलग्न रहँदै पछिल्लो समयमा सेयर बजारमा लगानी गर्दै आएका छन। 

पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको विज्ञ सदस्यको रूपमा समेत काम गरेका थपलिया बैंक अफ काडमान्डूको सर्वसाधारण सेयरधनीका तर्फबाट दुई कार्यकाल सञ्चालकको जिम्मेवारी पूरा गरिसकेका छन।

 उनी कृषि विकास बैंकका साधारण सेयरधनीका तर्फबाट सञ्चालक समेत थिए। 

पुंजीबजारको बिकास तथा बिस्तारका लागि केहि महत्त्वपूर्ण काम गरेपनि समयमै अनलाइन ट्रेडिङ प्रणाली ल्याउन नसक्दा र ब्रोकरहरुको कार्यशैली प्रति ठाडो हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसक्दा थपलिया आफ्नो कार्यकालमा आलोचित समेत बनेका छन। यद्दपी नियमन निकाय धितोपत्र बोर्डकै कारण अनलाइन ट्रेडिङ समयमा आउन नसकेको उनले विभिन्न कार्यक्रममा बताउदै आएका छन।


चन्द्रसिंह साउद

२०५१ सालमा नेपाल इन्स्योरेन्समा छैठौं श्रेणिको अधिकृत तहबाट काम सुरु गरेका साउद कम्पनीका पुर्व प्रमुख कार्यकारी अधिकृत हुन। उनीसंग नेपाल

इन्स्योरेन्समा मात्र दुई दशक बढी समय काम गरेको अनुभव छ।  

महाप्रबन्धकको तह हटाइ त्यसलाई नै प्रमुख कार्यकारी अधिकृत कायम गरिए पश्चात उनी त्यहाँ प्रमुख कार्यकारीमा नियुक्त भएका थिए। दुई दशकभन्दा धेरै अवधि बिमा क्षेत्रमा बिताएका साउद बिमा बिज्ञ समेत हुन। साउदसंग पुनर्बिमा कम्पनीमा समेत ४ बर्ष बोर्ड मेम्बरको रुपमा काम गरेको अनुभव छ।  

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर उनी पछिल्लो समय त्रिभुवन विश्वविद्यायलको बिमासम्बन्धी पाठ्यक्रम निर्माणमा पनि सक्रिय छन्। उनी प्लस टु र स्नातक तहमा अध्ययन हुने लेखा र बित्तका पुस्तकहरुको लेखक समेत हुन।  

साउद हाल चार्टड क्यापिटल एण्ड इन्भेष्टमेन्ट कम्पनीका कार्यकारी अध्यक्षको रुपमा काम गर्दै आएका साउद स्थापनाकाल देखि नै पुंजीबजारमा आबद्ध छन। साउदसंग सिंगापुर, थाइल्याण्ड, जर्मनी, स्विजरल्यान्ड, लन्डन र केहि अफ्रिकन देशका पुंजीबजारको स्थलगत अध्य्यनको समेत अनुभब रहेको छ।  

नियमन निकायमा रहेर हालको पुंजीबजारको अवस्थालाई डिजिटलाइज्डमा लैजाने आफ्नो लक्ष्य रहेको साउद बताउछन। नेपालको पुंजीबजारलाई प्रविधिमैत्री बनाउने, संघिय प्रणाली अनुसार नै देश भर पुंजीबजार बिस्तार गरी सर्वसाधारणको पहुँचमा बजारलाई पुर्याउने, राजधानी र देशको प्रमुख शहरमा सिमित पुंजीबजारलाई सबैको पहुँचमा पुर्याउने, बैंक वित्तसंग सम्बन्धित संस्थाहरुको बाहुल्यता रहेको पुंजीबजारमा वास्तविक कम्पनी भित्र्याउने, सानो परिमाणमा लगानी जुटाएर आउने नयाँ लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिलाउने लक्ष्यका साथ नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा आबेदन दिएको साउदले बिजपाटीलाई बताएका छन।


प्रविन पन्दाक लिम्बु 

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको दौडमा सामेल ५ मध्ये एक मात्र महिला उम्मेदवार प्रविन पन्दाक हाल नेपाल स्टक एक्सचेन्जमा कार्यरत छिन। १० बर्ष अघि  नेप्सेमा अधिकृत तहबाट आफ्नो करियर सुरु गरेकी पन्दाक अहिले उच्च अधिकृतको रुपमा नेप्सेको कारोबार तथा मानब स्रोत संसाधन बिभागमा कार्यरत छिन।

त्रिभुवन विश्वबिद्यालय अन्तर्गतको शंकर देब क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी पन्दाक एमबीएसमा महिलातर्फ टियु टपर र एलएलएम टपर समेत हुन। पन्दाकले कानुनमा (कर्पोरेट र अपराध) स्नातकोत्तर समेत गरेकी छिन।  

पन्दाक नेप्सेको कर्मचारीको साथसाथै अधिवक्ता समेत हुन। पन्दाकले सर्बोच्च अदालतमा सरोगेसी (कोख भाडामा लिई बच्चा जन्माउने विधि) विरूद्ध रिट दायर गरेकी थिईन जसमा अदालतले सरोगेसी तत्काल बन्द आदेश दिएको थियो। त्यस्तै पन्दाकले विदेशमा रहेका नेपालीहरुले पनि संविधानसभा निर्वाचनमा मताधिकार पाउन माग गर्दै   रिट दायर गरेकी थिइन्

पुंजीबजारमा आबद्द लगानीकर्तालाई पन्दाक अधिवक्ता मात्र नभई नायिका पनि हुन भनेर सुन्दा अचम्म लाग्न सक्छ। तर यो वास्तविकता नै हो । पन्दाकले नेपाली चलचित्र 'शास्त्र', 'बगर', लिम्बु लघु चलचित्र सोम्मिमे तथा लिम्बु चलचित्र लाटो पहाडमा अभिनय गरेकी छिन्। लाटो पहाडले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा पनि सहभागीता जनाएको थियो। 

अन्त्यमा,

अर्थमन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको निर्णयबाट नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने भएकाले 'राम्रो भन्दा हाम्रो मान्छे' पर्ने अधिक सम्भावना रहन्छ। यस नियुक्तिले २० लाख लगानीकर्तालाई मात्र नभई समग्र अर्थतन्त्रलाई डोर्याउने भएकाले यस पदमा सक्षम, स्वतन्त्र र पुंजीबजारको बिकास तथा बिस्तार गर्ने स्पष्ट खाका भएको व्यक्तिको आवश्यकता छ। 

पछिलो समय मन्त्रिपरिषदबाट हुने अधिकांश नियुक्ति सक्षम व्यक्ति भन्दा पनि ब्रिफकेशको वजनको आधारमा भएको देखिएकाले नेप्सेको हकमा त्यस्तो नहोस भन्ने सम्पूर्ण लगानीकर्ताको चाहना छ। 

नियुक्ति पाउनकै लागि ब्रिफकेश बोक्ने व्यक्तिले कुनै पनि हालतमा नेप्सेलाई सहि दिशामा लैजान नसक्ने निश्चित छ। तसर्थ सम्बन्धित निकायले पुंजीबजार नै समग्र अर्थतन्त्रको मेरुदण्ड हो भन्ने कुरालाई मनन गरी 'हाम्रो होइन सक्षम र राम्रो व्यक्ति'लाई नेप्सेको कमाण्ड सुम्पीयोस।


बिजपाटी डटकमका लागि मोहम्म्मद अज्मत अलि र शिब धितालद्वारा तयार पारिएको रिपोर्ट 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved