नेपाल ग्रामिणको एफपीओ भर्ने आज अन्तिम दिन , यस्तो छ एफपीओ भर्ने पर्ने ३ कारण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2017 | 07:55:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ग्रामिण विकास बैंकको एफपीओमा आबेदन दिने आज अन्तिम दिन हो। नेपाल ग्रामिणले भदौ २७ देखि आजसम्म अर्थात भदौ ३० सम्मका लागि एफपीओमा आबेदन खुला गरेको हो। 

नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई प्रिमियम मूल्य बिना नै प्रति कित्ता १ सय रुपैयाँमा एफपीओ निष्काशनको अनुमति दिएको छ ।  कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ निष्काशन गर्न लागेको हो  । माइक्रोफाइनान्सले एफपीओ जारि गर्नका लागि बिक्रि प्रबन्धक तथा निष्काशनमा प्रभु क्यापिटललाई चयन गरेको छ।  

नेपाल धितोपत्रबोर्डबाट आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आश्वा मार्फत मात्र आवेदन दिन सकिने छ ।  लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ४ हजार ८ सय ७० कित्ताको लागि आवेदन दिन सक्ने छन् । तर माग भन्दा अत्याधिक बढीले आबेदन पर्ने हुँदा गोलाप्रथाबाट एफपीओ बाँडफांड हुने भएकाले ५० कित्ताको लागि मात्र आवेदन दिन उपयुक्त हुनेछ ।

२०७१ मा ५ माइक्रोफाइनान्स कम्पनी मिलेर बनेको नेपाल ग्रामिण बिकास बैंकको चुक्ता पुंजी ५५ करोड ७५ लाख रहेको छ। माइक्रोफाइनान्सले हाल कायम संस्थापक र साधारण सेयर अनुपात राष्ट्र बैंकको निर्देशन अनुसार कायम गर्नका लागि एफपीओ जारि गर्न लागेको हो। एफपीओ निष्काशन पश्चात नेपाल ग्रामिण बिकास बैंकको चुक्ता पुंजी ६५ करोड ५० लाख पुग्ने छ।  

हाल नेपाल ग्रामिण बिकास बैंकको सेयर अनुपात संस्थापक तर्फ ८२ दशमलब १३ प्रतिशत र साधारणतर्फ १७ दशमलब ८७ प्रतिशत रहेको छ। एफपीओ निष्काशन तथा बितरण पश्चात नेपाल ग्रामिण बिकास बैंकमा सेयर अनुपात संस्थापक ६९ दशमलब ९० प्रतिशत र साधारणतर्फ ३० दशमलब १० प्रतिशत कायम हुने छ। 

पुर्वान्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण बिकास बैंक, पस्चिमान्चल ग्रामिण विकास बैंक, मध्य पशचिमांचल ग्रामिण बिकास बैंक र सुदुर पस्चिमान्चल ग्रामिण विकास बैंक मिलेर बनेको राष्ट्रिय स्तरको नेपाल ग्रामिण बिकास बैंकको प्रधान कार्यालय बुटवलमा रहेको छ।हाल बैंकको संचिति नोक्सानी ४६ करोड रुपैयाँ रहेकोले सेयरधनीहरुले प्रतिफल पाउन अझै केहि बर्ष कुर्नु पर्ने हुन्छ ।

एफपीओ भर्ने पर्ने ३ कारण

सबै आबेदकले नेपाल ग्रामिणको न्युनतम १० कित्ता सेयर पाउने सम्भावना अधिक छ। नियमन निकाय नेपाल धितोपत्र बोर्डले आइपीओ-एफपीओ निष्काशनमा सम्भब भएसम्म सबैलाई १० कित्ता वितरण गर्नुपर्ने नीति अख्तियार गरेको छ। 

नेपाल ग्रामिणले प्रिमियम मुल्य बिना नै १०० रुपैयाँमा ९ लाख ७५ हजार कित्ता एफपीओ बिक्री खुला गरेको हो। यस आधारमा ९७ हजार ५०० आवेदक भएभने सबैले न्युनतम १० कित्ता सेयर पाउनेछन। ९७ हजार ५०० भन्दा बढी आवेदक भएमा गोलाप्रथाबाट एफपीओ बाँडफांड हुनेछ। बिहिबारसम्मको परेको आबेदनलाई आधार मान्दा १ लाख ४० हजार बढी आबेदन पर्ने अनुमान गरिएको छ। जसको आधारमा एफपीओ पर्ने सम्भावना अधिक रहेको छ।

एफपीओ परेकै दिन कमाउने अवसर 

नेपाल ग्रामिणको सेयर प्रति कित्ता (भदौ २९ को कारोबार) ७१० रुपैयाँमा कारोबार भएको छ। यदी अहिले निष्काशन खुला गरिएको सेयर सुचिकृत हुँदासम्म नेपाल ग्रामिणको प्रति कित्ता सेयर मुल्य ६०० मा आएको अवस्थामा पनि एफपीओ पर्नेले प्रति कित्ता ५०० कमाउनेछां अर्थात १० कित्ताबाट लागत छोडेर ४००० कमाई गर्नेछन।

छोटो अवधिमै बाँडफाँड र सुचिकृत हुने सम्भावना 

नेपाल ग्रामिणको एफपीओमा दुई लाख भन्दा कम आबेदन परेको अवस्थामा एक महिना भित्र नै एफपीओ बाँडफांड हुनुपर्नेछ। त्यस्तै बाँडफांड भएको दुई महिना भित्र नै उक्त सेयर नेप्सेमा सुचिकृत हुनुपर्नेछ। यस तथ्यलाइ आधार मान्दा एफपीओ पाउने लगानिकर्ताले छोटो अवधिमै नाफा बुकिङ गर्न सक्नेछन।    


प्रिमियम मूल्य बिना एफपीओ बिक्रि किन ?

नेपाल ग्रामिण बिकास बैंकले प्रिमियम मूल्य बिना नै प्रति कित्ता १ सय रुपैयाँमा एफपीओ जारी हुँदा सर्वसाधारण लगानीकर्तामा भ्रम पारेको छ।आखिर नेपाल ग्रामिण बिकास बैंकले प्रिमियम मूल्य बिना नै एफपीओ जारि गर्न किन बाध्य भयो ? यो प्रश्न आम लगानीकर्ताकर्ताको प्रश्न र चाँसोको बिषय हो यो। 

नेपाल ग्रामिण बिकास बैंक ५ माइक्रोफाइनान्स मिलेर बनेको राष्ट्रिय स्तरको माइर्कोफाइनान्स कम्पनी हो। यस माइक्रोफाइनान्समा सबै भन्दा बढी नेपाल सरकारको ३५ दशमलब ४४ प्रतिशत सेयर रहेको छ। अरु मुख्य लगानीकर्तामा नेपाल राष्ट्र बैंक र बाणिज्य बैंकहरु रहेका छन। नेपाल ग्रामिण बिकास बैंकमा राष्ट्रिय बाणिज्य बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, स्ट्यान्डर्ड चार्टड बैंक र बैंक अफ काठमान्डूको मुख्य लगानी रहेको छ। 

हाल माइक्रोफाइनान्सको सेयर अनुपात संस्थापक ८२ दशमलब १३ प्रतिशत र साधारणतर्फ १७ दशमलब ८७ प्रतिशत रहेको छ। नेपाल ग्रामिण बिकास बैंकमा सर्वसाधारण तर्फको सेयर अनुपात कम्तिमा ३० प्रतिशत हुनु पर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार नै यसले एफपीओ जारि गर्न लागेको हो। तर प्रिमियम मूल्य बिना नै किन ?  

नेपाल ग्रामिण बिकास बैंक २०७१ मा संचालनमा आएको हुनाले यसको संचालन अवधि ५ बर्ष पुगेको छैन। त्यस्तै माइक्रोफाइनान्सले पछिल्लो २ बर्ष देखि मात्रै धनात्मक खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्ष २०७१-७२ को तेस्रो त्रैमाससम्म पनि माइक्रोफाइनान्सको जगेडा कोष ७ करोड ९६ लाखले ऋणात्मक रहेको थियो। यसकारण पनि माइक्रोफाइनान्सले एफपीओ निष्काशनको मापदण्ड पुरा गर्न नसकेको देखिन्छ। 

माइक्रोफाइनान्सको यस आर्थिक बर्षदेखि मात्रै नाफा र नेटवर्थ सकारात्मक बनाउन सफल देखिएको छ। यी विभिन्न कारणले गर्दा नेपाल ग्रामिण बिकास बैंकले प्रिमियम मूल्य थप गरि एफपीओ जारि गर्न नसक्ने अवस्थामा पुगेको हो। नेपाल ग्रामिण बिकास बैंकले प्रिमियम मूल्य बिना नै एफपीओ जारि गर्न बाध्य भएकाले सर्वसाधारणका लागि आइपीओको मूल्य अर्थात प्रति सेयर १ सय रुपैयाँमा नै माइक्रोफाइनान्सको सेयर पाउने सुनौलो अवसर रहेको छ।     

नेपाल ग्रामिण बिकास बैंकको २०७२ श्रावन १ देखि २०७३ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब बाँडफाँड अनुसार संचित मुनाफा ४६ करोड ९१ लाख ऋणात्मक रहेको छ। माइक्रोफाइनान्सले चालु आर्थिक बर्षमा ५८ करोड ६३ लाख ७९ हजार १ सय ४८ रुपैयाँ मुनाफा आर्जन गरेको अवस्थामा संचित मुनाफा ब्रेक इभेन्ट पोइन्टमा आउने छ। यस अर्थमा पनि नेपाल ग्रामिण बिकास बैंकले प्रिमियममा एफपीओ जारि गर्न नपाउने देखिन्छ।

घाटाको मध्यमान्चल र पुर्वान्चल ग्रामिण बिकास बैंक मिलाउँदा र अन्य ३ संस्थालाई प्रिमियम दिंदा संचित मुनाफा नोक्सानमा देखिएको हो। नेपाल ग्रामिणले कुनै सम्पति बिक्रि गरि वा अन्य कारणले बढी मुनाफा नगरेको अवस्थामा यस आर्थिक बर्ष सेयरधनीहरुलाई मुनाफा खुवाउन नसक्ने देखिन्छ।   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved